अर्थ सचिव बन्न विवादित लक्ष्मण अर्यालको असफल प्रयास


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका विवादित सचिव लक्ष्मण अर्यालले अर्थ सचिव बन्न असफल प्रयास गरेको रहस्य खुलेको छ ।

एमालेको क्याडर सचिव अर्यालले शेरबहादुर देउवा प्रधानमन्त्री हुने वित्तिकै आफू डेमोक्रयाट हुँ भन्दै अर्थ सचिवका लागि बुढानिलकण्ठ पुगेर दाबी प्रस्तुत गरेका थिए । अर्थ मन्त्रालय माओवादीको भागमा परेसँगै प्रचण्ड निवास खुमलटार पुगेर आफूले माओवादीलाई पहिलादेखि नै सघाएको भन्दै फेरि अर्थ सचिव बनाए जस्तो सुकै सहयोग गर्न तयार बताउँदै अर्थ सचिवमा हारगुहार गरेको खुमलटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।
एमाले निकट सचिव रहेका कारण कोभिड १९ को महामारी जस्तो संवेदनशिल अवस्थामा महत्वपूर्ण मन्त्रालय मानिने स्वास्थ्यमा उनलाई पठाइएको थियो । अत्यावश्यक मेडिकल सामग्रीदेखि खोप खरिदसम्म चलखेल गर्नका लागि तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको डिजाइनमा अर्याललाई स्वास्थ्यमा पठाइएको चर्चा चल्ने गरेको छ । रिमालकै डिजाइन अनुसार उनले त्यो काम फत्ते गरिसकेका छन् । त्यही आधारमा अर्याललाई अर्थ मन्त्रालय लाने तयारी थियो । तर ओली सरकार हटेर देउवा सरकार आएपछि सचिव अर्यालको अर्थमा जाने सबै सपना चकनाचुर भयो । तर अर्यालले कहिले बुढानिलकण्ठ त कहिले खुमलटार धाएर अर्थ सचिव बन्ने असफल प्रयास भने जारी राखे ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ आएपछि मन्त्रालयमा महत्त्वपूर्ण ब्रिफिङ लिने कार्यक्रम थियो । तर त्यो ब्रिफिङ छाडेर प्रचण्डसँग सहज पहुँच भएका डा. गुणराज लोहनीलाई लिएर सचिव अर्याल प्रचण्ड निवास खुमलटार पुगेका थिए । अनले आफूलाई अर्थ सचिव दिए आफूले जस्तो सुकै काम गरिदिने याचना गरेका थिए । तर प्रचण्डका सल्लाहकार रहिसकेका नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलका ज्वाइँ मधुकुमार मरासिनीलाई प्रचण्डकै प्रस्तावमा अर्थ सचिव बनाएपछि अर्यालको अर्थ जाने प्रयास असफल सावित भयो ।
रिमालको डिजाइनमा देउवाले विश्वास गरेर पठाएका राज्यमन्त्रीलाई असहयोग गर्ने अर्यालको रणनीति बालुवाटारले थाहा पाएपछि उनलाई प्रधानमन्त्री कार्यालय तानिएको स्रोतको भनाई छ ।
अर्यालको दाउ अर्थमा गएर स्वास्थ्यबाट आएका अत्यावश्यक फाइलमा चलखेल गरेर अड्काउने र राज्यमन्त्री श्रेष्ठ र स्वास्थ्यका प्राविधिक सचिव डा. रोशन पोखरेललाई असफल बनाउने रणनीति बनाएको सूचना बालुवाटारले पाइसकेको थियो । त्यो कुरा स्वयं अर्थमन्त्री जनार्दन शर्मालाईसमेत चित्त बुझेको थिएन । सचिव अर्यालले व्यापक चलखेल थालेपछि उनलाई प्रधानमन्त्री कार्यालय तान्न सरकार बाध्य भएको स्रोतको दाबी छ ।
अर्याल अझै पनि चलखेल गरेर अर्को मन्त्रालय जाने प्रयासमा छन् । त्यो सम्भव नभए राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएर जाने उनको अर्को योजना रहेको प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका उच्च अधिकारीहरुको भनाई छ । कुष्णहरि पुष्कर कणलाई नयाँदिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टरबाट हटाएर प्रधानमन्त्रीका सल्लाहकार रिमाल र सचिव अर्यालको मिलेमतोमा उनकी श्रीमती सहसचिव निता अर्याल पोखरेललाई पठाइएको थियो । भारतबाट कोभिसिल्ड खोप खरिद गर्न खोज्दा इकोनोमिक मिनिस्टर पोखरेलले कमिसनको चलखेल गर्दा लाखौं नेपाली खोप लगाउनबाट बन्चित हुनुपरेको थियो । पोखरेलले तलब, भत्ता खाने र कमिसनको चक्करमा लाग्नेबाहेक दिल्लीमा बसेर केही काम गर्न नसकेकाले फिर्ता बोलाउनु पर्ने कुरा बालुवाटारमा पुगेको छ । उनलाई जति चाँडो फिर्ता बोलायो मुलुकको हितमा त्यति राम्रो हुने बालुवाटार स्रोतको बुझाई छ ।
यता विष्णु रिमालका अर्का विश्वासपात्र अर्थ सचिव शिशिरकुमार ढुंगाना पनि प्रधानमन्त्री कार्यालय तानिएका छन् । उनले ओली नेतृत्वको सरकारमा ओलीका आईटी विज्ञ अस्गर अलीसँग मिलेर सरकारी डाटा extensodata.com नामको निजी कम्पनीमा पुऱ्याउने भूमिका खेलेको आरोप लाग्दै आएको छ । यसको छानबिन गर्न सरकारलाई चौतर्फी दबाब छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com