भ्रष्टाचारमा मुछिएकी उपकुलपतिलाई चिकित्सक संघको सम्मान
 
	
                                            काठमाडौं । नेपाल चिकित्सक संघले विवादित महिला चिकित्सकलाई सम्मानका लागि सिफारिस गरेको छ । चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका महिला चिकित्सकहरूलाई राष्ट्रपतिद्वारा सम्मान गर्न लागेको संघले भ्रष्टाचारको आरोप लाग्दै आएकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीलाईसमेत सम्मान गर्न खोजेपछि संघको छनोट प्रक्रियामाथि प्रश्न खडा भएको छ ।
संघले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “वूमन इन मेडिसिन इन नेपाल”अवार्ड प्रदान गर्न लागेको महिला चिकित्सक डा. भण्डारीविरुद्ध भ्रष्टाचारसम्बन्धी दर्जनौं मुद्दा अख्तियार र अदालतमा विचाराधीन छन् । चरम भ्रष्टाचारको आरोपमा मुछिएकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति भण्डारीलाई सम्मान गर्न लागेको भन्दै चिकित्सक संघको आलोचना हुन थालेको छ। सेवा अवधि सकिन लागेपछि भण्डारीले कोभिडमा बन्द गरेका सेवा खोलेजस्तो गर्न थालेकी छन् ।
अमेरिका नेपाल मेडिकल फाउण्डेशनले आइसियू सञ्चालन गर्न दिएको ७२ लाख रुपैयाँ लिए पनि भण्डारीले कोभिडमा आइसियू सञ्चाला गरिनन् । अहिले जादाँजाँदै पुन: एक मात्रै कम्पनीलाई मिल्नेगरी स्पेक बनाएर ११ करोडको एमआरआई मेसिन किन्न लागेकी छन् । त्यती मात्रै हैन ३ करोडमा खरिद गरेको अक्सिजन प्लान्ट जडान गरेको २४ घण्टा नपुग्दै बिग्रिएको छ । अनियमिततामा चुर्लुम्म डुबेर महिला चिकित्सक कै बद्नाम गराउँने यस्ता चिकित्सकलाई सम्मानगरी चिकित्सक संघले राष्ट्रपतिकै अपमान गर्न खोजेको चौतर्फ आरोप लागेको छ ।
संघले “वूमन इन मेडिसिन इन नेपाल” अवार्ड प्रदान गर्नका लागि १५ जना प्रतिष्ठित महिला चिकित्सकलाई छनोट गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ती महिला चिकित्सकलाई सम्मान दिने कार्यक्रम रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।
संघले प्रतिष्ठित महिला चिकित्सकहरुलाई “वूमन इन मेडिसिन इन नेपाल”अवार्ड दिनका लागि तयार पारेको सूचीमा केही विवादित चिकित्सकको पनि नाम परेको पाइएपछि सम्मानमाथि नै टिप्पणी र आलोचना भएको हो । राष्ट्रपतिद्वारा शीतल निवासमा आजै “वूमन इन मेडिसिन इन नेपाल”अवार्ड दिएर सम्मान गर्न लागिएका महिला चिकित्सकको सूचीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा र डा. किरण रेग्मीको पनि नाम रहेको छ ।
त्यस्तै मेडिकल कलेजको सफल नेतृत्व गरेर मेडिकल शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने डा. चन्दा कार्कीलाई पनि संघले अवार्ड प्रदान गर्ने भएको छ । त्यस्तै आईओएमकी डीन डा. दिव्य सिंह शाह पनि सम्मानित हुने महिला चिकित्सकको सूचीमा छिन् ।
“वूमन इन मेडिसिन इन नेपाल” अवार्ड मार्फत संघले पहिलो पटक महिला चिकित्सकलाई सम्मान गर्न लागेको हो । संघका पूर्व अध्यक्षहरू सम्मिलित समितिले सम्मानका लागि यी महिला चिकित्सकको नाम छनोट गरेको हो ।
अवार्ड पाउने महिला चिकित्सकहरू
१, डा. सुधा शर्मा
२, डा . किरण रेग्मी
३, डा. चन्दा कार्की
४, डा. दिव्यासिंह शाह
५, डा. संगीता भण्डारी
६, डा. रिता थापा
७, डा. कुसुम थापा
८, डा.दिव्याश्री मल्ल
९, डा. आशा सिंह
१०, अचला वैद्य
११, डा. राधा शाह,
१२, डा. सरस्वती पाध्ये
१३,डा. तारा मानन्धर
१४, डा. सुधा अग्रवाल
१५, डा. सानुमाया दली
क्याटेगोरी : मेडिकल शिक्षा, समाचारट्याग : ##Dr sangita Bhandari Rapti

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस