आईएनजीओको घेराबन्दीमा स्वास्थ्य सेवा विभाग, सरकारी कर्मचारी तर्साउन बेला बेला सेभ द चिल्ड्रेनको शक्ति प्रदर्शन


काठमाडौं । स्वास्थ्य मन्त्रालय कब्जा गरेर आफ्नो स्वार्थ अनुकूल काम कारबाही तथा गतिविध सञ्चालन गर्दै आएका एनजीओ र आईएनजीओकर्मीले स्वास्थ्य सेवा विभाग पनि घेराबन्दीमा पारेर आफू अनुकूल काम गर्दै आएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका प्रायजसो महाशाखाको महत्त्वपूर्ण ठाउँमा सेभ द चिल्ड्रेन, केएफडब्लु, निक साइमन, एसियन, युएसएड, एनएचएसएसपीलगायतका आईएनजीओले आफ्ना कर्मचारी राखेर विभागको काम कारबाहीमा हस्तक्षेप गर्दै आएका छन् ।

मन्त्रालय  कब्जा गर्ने एनएचएसएसपी विभागमा पनि

अझ तथ्यांक लिने तालाचाबी एनजीओ/आईएनजीओको हातमा छ । देशको समग्र तथ्यांक लिनु परेको खण्डमा विश्व स्वास्थ्य संगठनका कर्मचारीसँग बिन्ति बिसाउनु परेको सो क्षेत्रमा आवद्ध कर्मचारीहरु बताउँछन् ।

महामारीको क्षेत्रमा काम गर्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरकारी कर्मचारी भन्दा आइएनजीओकर्मी बढी छन् । सेभ द चिल्ड्रेनका कर्मचारीको हालीमुहाली उस्तै छ । अझ सेभ द चिल्ड्रेनले सरकारी कर्मचारी तर्साउन रोग नियन्त्रण महाशाखा भित्रै बेला-बेला शक्ति प्रदर्शन गर्दै आएका छन् । दुई हप्ता अगाडी मात्रै पनि महाशाखा भित्र उनिहरुले शक्ति प्रदर्शन गर्ने नाममा आ- आफू कुटाकूट गरेका थिए । कुटाकूट गरेको विषय स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । तर अनुशासनको कारबाही हुन सकेको छैन। त्यसको संरक्षण नेपाल प्रमुख राजन भट्टराईले गर्दै आएका छन् । स्वास्थ्य लाइभले भट्टराईसँग बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

इडीसीडीमा उनीहरु सुविधा सम्पन्न कोठा कब्जा गरेर बसेका छन् । महाशाखाका एक अधिकारीले भने, ‘आइएनजीओकर्मीलाई हामीले ठूलो रकम सहयोग गरेकाले जसरी बसेपनि हुन्छ भन्ने भान परेको छ ।’, महाशाखामा सेभ द चिल्ड्रेनका १३ जना कर्मचारी बसेका छन् । उनीहरुले ५ वटा कोठा ओगटेका छन् । त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा एसियनका २ जना र युएसएडका ४ जना कर्मचारी बस्छन् ।

ईडिसिडीभित्र डब्लुएचओ

विश्व स्वास्थ्य संगठनका महाशाखा अन्तर्गत करिब ६० जना कर्मचारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हरेकजसो कोठामा कब्जा जमाएर बसेका छन् । भूईंतल्लामा विश्व स्वास्थ्य संगठनका कर्मचारीलाई ठाउँ दिएपनि अहिले सबै कोठामा गएर बस्ने गरेको सरकारी अधिकारीहरूको गुनासो छ ।

त्यस्तै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा पनि सरकारी कर्मचारी भन्दा बढी आईएनजीओका कर्मचारी छन्। यसमा पनि सेभ द चिल्ड्रेन कै मुख्य वर्चस्व देखिन्छ ।

एचआईभी एड्स संक्रमितको डाटा बढी देखाएर ग्लोवल फण्डसँग २३ करोड घोटाला गरेको सेभ द चिल्ड्रेनका कर्मचारीमाथि आरोप लागेपनि अहिलेसम्म त्यो विषयमा सरकारले छानविन गर्न सकेको छैन । यो केन्द्रमा सेभ द चिल्ड्रेनका ९ जना कर्मचारी डेरा जमाएर बसेका छन् । १३ जना सरकारी कर्मचारी रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा सेभ द चिल्ड्रेनका कर्मचारीको स्वार्थअनुसार काम हुने भएकाले सेभले मनपरी गरिरहेको केन्द्र कै केही कर्मचारीहरुको दाबी छ । कोठामा बसेर तथ्यांक आफ्नो स्वार्थअनुकूल बनाउने काम उनिहरुले गरिरहेको कर्मचारीहरु बताउँछन् ।

पुरानो बाल स्वास्थ्य महाशाखाको भवन आधा आईएनजीओले कब्जा गरेको छ । सो भवनमा डब्लुएचओलगायतका अन्य आईएनजीओको कर्मचारी बस्छन् । स्वास्थ्य सेवा विभाग स्रोतकाअनुसार परिवार स्वास्थ्य महाशाखामा एनएचएसएसपीले फ्लाटै कब्जा गरेको छ । सरकारी अधिकारीहरुले एनएचएसएसपीको मन्त्रालय र विभाग भित्र बस्ने कुनै काम नभएको बताएका छन् ।


आईएनजीओको पूर्ण कब्जामा रहेको भवन

परिवार कल्याण महाशाखामा एनएचएसएसपीका ६ जना कर्मचारी छन् । एनएचएसएसपीसँग मिलेर महाशाखाका अधिकारीहरूले परिवार नियोजनको काममा आर्थिक चलखेल गर्दै आएको आरोप लाग्ने गरेको छ । त्यस्तै सोही महाशाखामा विश्व स्वास्थ्य संगठनका २ जना कर्मचारी छन् । उनीहरुले एउटा कोठा लिएका छन् । त्यो महाशाखा कब्जा गरेको अर्को आईएनजीओ आइपासलाई भने केही समय अघि हटाइएको छ ।

सेभले ईडिसिडीभित्र कब्जा गरेको कोठा

विभागका उच्च अधिकारीहरु भन्छन् हाम्रा सबै सिस्टम आईएनजीओको कब्जामा छ । जे सूचना चाहिए पनि उनिहरुलाई नसोधी उपलब्ध हुँदैन । तथ्यांकहरू सबै उनीहरूसँग मात्रै हुन्छ ।

व्यवस्थापन महाशाखामा पनि उस्तै

यता व्यवस्थापन महाशाखामा पनि ठूलो संख्यामा आईएनजीओकर्मी कब्जा जमाएर बसेका छन् । स्वास्थ्य उपकरण खरिदमा सहयोग गर्ने भनेर एनएचएसएसपी बसेको छ । सरकारी खरिदका लागि स्पेसिफिकेसन्स बनाउनेदेखि ठेकेदार र हाकिमसँग सेटिङ मिलाउने काममासमेत एनएचएसएसपीका कर्मचारी अग्रसर हुने गरेको व्यवस्थापन महाशाखामा अधिकारीहरुको आरोप छ ।

खरिदमा आईएनजीओका कर्मचारी संलग्न गराइएकाले आईएनजीओकर्मीले टेन्डरमा सेटिङ गर्ने गरेको ती अधिकारीहरूको भनाई छ । यो अत्यान्तै संवेदनशील र गम्भीर कुरा भएकाले तुरून्तै हटाउन आवश्यक रहेको महाशाखाका अधिकारीहरु बताउँछन् । तर, विभागकै उच्च अधिकारीको संरक्षण भएकाले एनएचएसएसपीले रजाईं गरिरहेको ती अधिकारीहरूको गुनासो छ ।

स्वास्थ्यसम्बन्धी देशभरका तथ्यांक संकलन गर्ने भनेर स्थापना गरिएको एकीकृत स्वास्थ्य सूचना केन्द्रमा डब्लुएचओका कर्मचारी छन् । यता पूर्वाधार महाशाखामा केएफडब्लुका कर्मचारीको रजाईं छ । उपचारात्मक महाशाखामा पनि प्यासेन्ट सेफ्टी हेर्न एनएचएसएसपी र डब्लुएचओ बसेको छ ।

त्यस्तै निक साइमनका कर्मचारी पनि बसेका छन् । निक साइमनले अस्पताल सेवा मापदण्ड हेर्छ । अस्पतालको स्वार्थमा निक साइमनले काम गर्ने गरेको उपचारात्मक महाशाखामाका कर्मचारी हरू बताउँछन् । यता खरिदको स्पेसिफिकेसन आईएनजीओका मान्छेले बनाउँछन् । आईएनजीओका कर्मचारीहरूका अगाडि कोही सरकारी अधिकारी बोल्ने हिम्मत गर्दैनन् । बोले पनि लेखेका शब्द नपढ्ने भएकाले बोलेको अर्थ लाग्दैन ।

एनएचएसएसपीले ताल्चा लगाएको ट्वाईलेट

आईएनजीओका कर्मचारीले स्वार्थ घुसाएर ल्याएको कागजात विभागका अधिकारप्राप्त अधिकारीबाट सहजै स्वीकृत हुने गरेको छ । सरकारी कामकारबाहीमा आईएनजीओकर्मीबाट सधै सीधै हस्तक्षेप हुने भएकाले विभागबाट आईएनजीओलाई बाहिर निकालेर अनावश्यक हस्तक्षेप तथा सरकारी सम्पत्ति कब्जा हुनबाट जोगाउनु पर्ने विभागका सचेत कर्मचारीहरुको माग छ ।

स्वास्थ्य क्षेत्र सुधार गर्छु भनेका हालका स्वास्थ्य राज्यमन्त्रीलेसमेत मन्त्रालयदेखि विभागसम्म कब्जा गरेका एनजीओ/आइएनजीओलाई हटाउने विषयमा कुनै जवाफ दिन सकेका छैनन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com