कलेजोले काम गर्न छाडेपछि डा. भिमसिंह टिंकरी अस्पताल भर्नाः चिकित्सक भन्छन् प्रत्यारोपणको विकल्प छैन


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बरिष्ठ सहसचिव डा. भिमसिंह टिंकरी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख समेत रहेका डाक्टर टिंकरीको कलेजो फेल भएपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीका अनुसार टिंकरीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको छ । तर, त्यसका लागि समय लाग्नेछ । चिकित्सले केही समय अगाडीनै अस्पताल भर्ना हुन टिंकरीलाई आग्रह गरेपनि उनले मानेका थिएनन् । तर, थप समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन् ।
चिकित्सकले बताए अनुसार कलेजोको काम गर्ने क्षमता कम हुदै गएको छ भने, मिर्गौलामा समेत समस्या देखिएको छ । टिंकरी कलेजो प्रत्यारोपणको तयारीमा जुटेको चिकित्सकले बताएका छन् । चिकित्सकको निगरानीमा उनको स्वास्थ्य परिक्षण सुरु भएको छ ।
दार्चुलामा जन्मिएका टिंकरी एक इमान्दार राष्ट्रसेवकका रुपमा चिनिएका छन् । स्वास्थ्य क्षेत्रमा बेग्लै छबी बनाएका टिंकरी राजनीतिक आस्थाबाट अलग छन् । राजनीतिक चाकडीमा नलागेकै कारण एक नम्बर सिनियर भएर पछि प्रमुख विशेषज्ञ र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन सकेनन् । टिंकरीले पदका लागि कुनै पनि दल, विभागीय मन्त्री तथा सचिवलाई हार गुहार गरेनन् ।
टिंकरीलाई सरकारले हालै उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसका अवसरमा उनी सहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

के गर्छ कलोजोले
कलेजोले हाम्रो शरीरका लागि पाँच सयभन्दा बढी काम गर्छ । रगत जम्न सघाउनु, संक्रमणबाट बचाउनु, शरीरमा विषालु तत्व व्यवस्थापन गर्नेलगायत काम कलेजोले गर्छ । कलेजो मात्रै हाम्रो शरीरको त्यस्तो अंग हो, जुन आफैँ पुनर्निर्माण हुन सक्छ ।

यदि कुनै कारणले कलेजो फेल भएमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । कलेजो प्रत्यारोपण शल्यक्रिया संसारकै सबैभन्दा ठूलो शल्यक्रियामध्ये पर्छ । यसका लागि एनेस्थिेसिया, शल्यचिकित्सा, रेडियोलोजी, प्याथोलोजी, हेपाटोलोजी, नर्सिङ र प्रशासनिक सेवासहितको ठूलो टिम आवश्यक पर्छ ।

कसरी गरिन्छ ?
नेपालमा भर्खरै सुरु भएको यो सेवाअन्र्तगत हालसम्म दुईजना व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सफल उपचार हो, विश्वका ९० प्रतिशतभन्दा बढीमा यस उपचार विधि सफल भएको छ । यसलाई दुई तरिकाले गरिन्छ –जीवित दाताको कलेलो झिकेर वा मस्तिष्क मृत्यु भइसकेको व्यक्तिको कलेजो झिकेर । जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकैपटक एउटै अस्पतालमा दुईटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताको कलेजो झिक्ने काम गर्छ भने अर्को कक्षमा लिने व्यक्तिको क्षतिग्रस्त कलेजो झिकिन्छ । त्यसपछि दाताको कलेजो बिरामीमा प्रत्यारोपण गरिन्छ ।

दाताको शल्यक्रिया (कलेजो झिक्दा) गर्दा करिब ५ देखि ८ घन्टा लाग्ने गर्छ । दातालाई पनि शल्यक्रियापश्चात् करिब एक सातासम्म अस्पतालमै राखिन्छ । लिने व्यक्तिको हकमा शल्यक्रियाको समय क्षतिग्रस्त कलेजो झिक्नुपर्ने र पुनः कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले अझ बढी समय लाग्ने गर्छ ।

कलेजो फेल हुने कारण
कलेजो बिग्रिनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो । अन्य कारण हेपाटाइटिस बी र सी हुन । हेपाटाइटिस भाइरसको संक्रमणको कारणले समेत कलेजो बिग्रने सम्भावना अत्यधिक हुने गर्छ । कतिपय समयमा वंशानुगत गुणका कारण कलेजोमा समस्या हुन सक्छ । बच्चामा कलेजो बिग्रिनुको कारण अधिकांश वंशाणुगत गुण हो । यस्तै, कलेजोमा अत्यधिक बोसो जम्नु, पित्तको नलीसम्बन्धी रोग लाग्नु, पित्त तथा कलेजोमा क्यान्सर हुनु पनि कलेजो बिग्रनुका मुख्य कारक तत्व हुन ।

लक्षण
कलेजोमा समस्या देखिनासाथ शरीरमा विभिन्न लक्षण देखापर्छन । सुरुवातीको चरणमा जन्डिस हुने गर्छ । जसले गर्दा आँखा र छाला पहेँलो हुने हुन्छ । खानामा अरुचि हुने, तीव्र रूपमा तौल घट्दै जाने, छाला चिलाउनेजस्ता समस्या देखिन्छन । कलेजो भएको ठाउँमा दुखाइ महसुस हुने, बान्तामा रगत देखिने हुन्छ । बिस्तारै पेटमा पानी भरिएर पेट सुन्निने, मानसिक असन्तुलनजस्ता लक्षण देखिन्छन । यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रत्यारोपण अघि
शल्यक्रिया गर्नुपूर्व बिरामी, कलेजो दाता र परीवारका सदस्यसँग बसेर डाक्टरले सल्लाह गर्ने गर्छन । प्रत्यारोपणको समयमा धेरै औषधि र रगत आवश्यक पर्ने, बिरामी र आफन्त डराउने हुँदा बैठक गर्नु अनिवार्य हुन्छ । बिरामीलाई शल्यक्रिया गर्नुपूर्व ८ घन्टादेखि भोकै राखिन्छ । रगत परीक्षण, अल्ट्रासाउन्ड, एक्सरे आदि विभिन्न चेकजाँच गरेर मात्र शल्यक्रियाका लागि लगिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com