शेरबहादुरको जोडीको जस्तो संयोग विरोधको जोडीलाई जुर्ला?

छोरीलाई मिस नेपालको ताज पहिर्‍याउन भूमिका खेल्ने मुनुले स्वास्थ्यमन्त्रीको ताज पहिरिने सम्भावना


काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट आज विश्वासको मत लिने तयारी छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायतको विपक्षी गठबन्धनको स्पष्ट बहुमत रहेकाले सम्भवतः आजै शाक्य नेतृत्वको प्रदेश सरकार ढलेर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने देखिन्छ ।

बागमती सरकारको आलोपाले नेतृत्व गर्ने कांग्रेसबाट मुख्यमन्त्रीका प्रत्यासी इन्द्र बानियाँ र नेकपा एकीकृत समाजवादीबाट प्रत्यासी राजेन्द्र पाण्डेबीच सहमति भइसकेकाले नयाँ सरकार गठनको बाटो खुलिसकेको छ ।

शाक्य नेतृत्वको सरकारलाई विस्थापित गर्न गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेलाई अगाडि सार्ने तयारी छ । आजै नयाँ सरकार गठन हुने नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ बताउँछन् ।
पाण्डेको नेतृत्वमा बागमती सरकार बन्ने पक्का भएसँगै सरकारमा सहभागी हुने मन्त्रीकोसमेत चर्चा सुरू भएको छ । मन्त्रीमा कांग्रेसबाट छिरिङ दोर्जे लामा, नरोत्तम वैद्य, कृष्ण भडेल, राधा घले, बलराम पौडेल, निमा लामा, कल्पना नेपालीलगायतको चर्चा छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट मुनु सिग्देल, मीना ज्ञवालीलगायत मन्त्री हुने निश्चित जस्तै देखिन्छ ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री हुने सम्भावना भएकी मुनु सिग्देल स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकी धर्मपत्नी हुन् । बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा उनको व्यापक चर्चा छ । सिग्देल बागमतीको स्वास्थ्यमन्त्री बिनिन् भने स्वास्थ्यमा अर्को संयोग दोहोरिने छ ।

यसअघि संघको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शेरबहादुर तामाङले सम्हाल्दा उनकी धर्मपत्नी उषाकला राईले प्रदेश नम्बर एकको स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी थिइन् । अहिले संघको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाउँदा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्व मुनु सिग्देलले पाउँने सम्भावना बढेको छ । मुनुले प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मा पाइन् भने शेरबहादुरको जोडीको जस्तो संयोग विरोधको जोडीलाई जुर्ने छ ।

यी दुबै जोडी तत्कालीन एमालेमा रहँदा माधव कुमार नेपाल निकट रहेका थिए । नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि केपी शर्मा ओलीतिर लागेर शेरबहादुरले संघको स्वास्थ्यमन्त्री र उषाकलाले प्रदेशको समाजिक विकासमन्त्री बन्ने अवसर प्राप्त गरेकी थिइन्। नेपालसँगै नयाँ पार्टीमा लागेका विरोधले संघको स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन् भने मुनु प्रदेशको स्वास्थ्यमन्त्री हुने प्रतिक्षामा छिन् ।

छोरी श्रृंखला खतिवडालाई मिस नेपालको ताज पहिरिने हैसियत प्रदान गर्ने मुनुले पनि प्रदेश स्वास्थ्यमन्त्रीको ताज पहिरिने उच्च सम्भावना छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com