स्वास्थ्यमन्त्री खापुङलाई भक्तपुरका नगरप्रमुख प्रजापतिले भेट


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच बुधबार स्वास्थ्य मन्त्रालयमा भेट भएको छ । भेटमा प्रमुख प्रजापतिले मन्त्री खापुङलाई ख्वप अस्पतालको भौतिक पूर्वाधार विकास र उपकरण खरिदका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।  भेटमा मन्त्री खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालबाट व्यापक जनताको सेवा हुने बताउँदै अस्पतालको स्तरवृद्धि र आवश्यक सहयोग गर्न मन्त्रालय सकारात्मक रहेको स्पष्ट पारे । उनले ख्वप अस्पतालको स्थलगत अवलोकन गर्ने इच्छा जाहेर गर्दै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्न छिटै भक्तपुर आउने आश्वासन दिए ।

भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्या क्षमताको ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे अवगत समेत गराए । अस्पतालले घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै दैनिक ७०० भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको उनले जानकारी गराए ।

ख्वप अस्पतालको लागि आवश्यक एमआरआई मेसिन, सीटी स्क्यान मेसिन, ओ.टी लाइट, एम्बुलेन्स, ओ.टी टेबल, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायतका स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहजीकरण र सहयोगको लागि समेत स्वास्थ्यमन्त्री खतिवडासमक्ष नगरप्रमुख प्रजापतिले आग्रह गरे ।

भेटका क्रममा प्रमुख प्रजापतिले मन्त्री खापुङलाई नगरपालिकाका प्रकाशन उपहारको रुपमा प्रदान गरेका थिए ।  स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलसँग पनि भेटी नगरप्रमुख प्रजापतिले ख्वप अस्पतालको स्तरोन्नति र स्तरवृद्धिको लागि आवश्यक बजेट विनियोजनको लागि आग्रह गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com