थाहा नगरपालिकाले सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किन्यो

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ। भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको छ।
अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिभन्दा मुनरक इन्टरनेशल प्रालिले झन्डै १३ लाख कममा अक्सिजन प्लान्ट आपूर्ति गर्ने प्रस्ताव गरेको छ। तर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोबिता प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्का सेटिङ भएको खुल्न आएको छ।
नगरपालिकाले आफूहरूलाई थाहै नदिई आशयपत्रको सूचना पत्रिकामार्फत निकालेको भन्दै मुनरकले उजुरी समेत दिएको छ। थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी भने मुनरकलाई जानकारी गराएरै सुभारम्भलाई ठेक्का दिएको दाबी गर्छन्। भदौसम्ममा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिसँग १ करोड १० लाख ११ हजार ९९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनको भनाइ छ।
१३ लाख बढी कबोल्नेसँग अक्सिजन प्लान्ट खरिद गर्न लागेको विषयमा स्वास्थ्य लाइभले प्रश्न गर्दा पुरीले बागमती प्रदेश सरकारको गाइडलाइन्स अनुसार सम्झौता भएको बताए। यो विषयमा मुनरक प्रालिलाई पनि जानकारी गराइएको उनको प्रतिक्रिया छ। स्वास्थ्य लाइभले परीसँग ति सबै कागजात माग गर्दा दिन भने इन्कार गरेका छन्।
मुनरकले भने नगरपालिकाले कुनै जानकारी नगराएको भन्दै उजुरी हालेको छ । ‘अक्सिजन प्लान्ट स्थापनाका लागि नगरपालिकाले लिएको यस कसिमको प्रक्रियागत छनौट स्वतन्त्र, निश्पक्ष र पारदर्शी नहुँदा आगामी दिनमा हुने अन्य टेण्डर प्रक्रियामाथि पनि प्रश्न उठ्ने निश्चितप्रायः छ’, मुनरकको उजुरीमा उल्लेख छ,’ के-कति कारणले सबै प्रक्रिया पूरा गर्दा र न्यूनतम दररेट कायम गरी बोलपत्रमा भाग लिँदापनि हाम्रो कम्पनी छनौट हुन सकेन? यसबारेमा यहाँको तर्फबाट तत्काल निर्णय सच्याई पूनःमूल्यांकन गर्न माग गर्दछौं।’,
‘यो टेण्डर प्रक्रियामा हामी भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) मा सहभागी भएका थियौं। तर, हामीभन्दा करिब १३ लाख बढि रुपैयाँ मूल्यमा टेण्डर हालेको कम्पनी छनौट गरिनुले यो प्रक्रियामा बदनियत र खोट देखिएको प्रष्ट हुन्छ।’, मुनरकले भनेको छ।
मिलेमतोमा बदनियतपूर्ण तवरले गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी गरिएको टेण्डर छनौट सच्याउन उजुरी परेको हो। टेण्डर प्रक्रियामा निर्णय गर्ने अख्तियारप्राप्त व्यक्तिहरुबाट कानून र अख्तियारको दुरुपयोग गरी निर्णय लिईएकोले यस निर्णय प्रक्रियामा संलग्नहरुउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानबिन गरि दोषीउपर कारबाही गर्न माग गरिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस