गोकर्णेश्वर नगरपालिकाले विदेशी नागरिकलाई उपचार खर्च दिएको खुलासा


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विदेशीलाई नागरिकलाई उपचार खर्च दिएको खुल्न आएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसेको ठाडो आदेशमा विदेशी नागरिकलाई ६० हजार स्वास्थ्य उपचार खर्च तथा आर्थिक सहायता दिएको हो । नगर प्रमुख चालिसेको तोक आदेशमा क्यामरून आन्द्रे एक वेनलाई ६० हजार रुपैयाँ उपचार खर्च तथा आर्थिक सहायता दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था नरहेकामा नगरपालिकाले कार्यविधि बनाई आर्थिक हैसियत कमजोर भएका नगरबासी नागरिकहरूको स्वास्थ्य उपचारका लागि १५ लाख खर्च गरेको छ । ५० हजार स्वास्थ्य उपचार खर्च नेपाली नागरिकलाई मात्र दिन सक्ने कार्यविधिमा उल्लेख भएपनि मेयर चालिसेले सगुन कुमार तण्डुकारमार्फत ६० हजार रुपैयाँ विदेशी नागरिकलाई उपचार खर्च उपलब्ध गराएको पाइएको छ ।

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर चालिसेको तोक आदेशबाट माया लामा शेर्पालाई २ लाख रुपैयाँ र सुरेश लामालाई १ लाख रुपैयाँ स्वास्थ्य उपचार खर्च दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले लेखापरीक्षण प्रतिवेदन बिना नै नगरपालिकाले विभन्न स्वास्थ्य संस्थाहरुलाई अनुदान समेत दिएको पाइन्छ ।

 

थप भएका शहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि २ वटा स्वास्थ्य चौकीलाई ८ लाख अनुदान दिएको छ । महिला स्वास्थ्य स्वयंसेविका कोष सुदृढीकरण अनुदान बापत ५ वटा स्वास्थ्य संस्थालाई २५ लाख रुपैयाँ र स्वास्थ्य संस्था सञ्चालन अनुदान ५ वटा स्वास्थ्य संस्थालाई ३० लाख रुपैयाँ प्रदान गरिएको छ ।

 

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिका लागि तोकिएको जोखिम भत्तामा प्रशासनका कर्मचारीले तर मारेको महालेखाले जनाएको छ ।  ९१ लाख ७५ हजार ९ सय रुपैयाँ स्वास्थ्य तथा प्रशासन तर्फका कर्मचारीलाई जोखिम भत्ता बापत ९१ लाख ७५ हजार ९ सय रुपैयाँ आधार र प्रमाण खुलाउन नसकेको महालेखाको निष्कर्ष छ ।

गाजाँ फडान कार्यक्रमका लागि ३ नम्बर वडा कार्यालयले पुस्ट्याई बेगर नै ६९ हजार ७ सय खर्च लेखेको उल्लेख छ । २०/२५ जनालाई ३ सय जनाले खाना, खाजा खुवाएको भनी विकास तामाङले गाँजा फडान कार्यक्रममा पैसा लिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

गोकर्णेश्वर नगरपालिकाले एक विद्यालय एक नर्स कार्यक्रममा विद्यालयका लागि खरिद गरेको मेसिन सामग्रीको बिल भर्पाई र प्रमाण कागजता पेश नगरी भुक्तानी दिइएको पाइएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रमका लागि चामुण्डा माविलाई १ लाख १८ हजार ६ सय ५० बराबरको १ सेट ल्यापटप र १ सेट प्रिन्टर स्क्यान मेसिन, ओख्रेनी माविलाई १ लाख ५८ हजार २ सय बराबरको ३ थान अफिस टेबल सहित ५ आईटमका सामानहरु र चामुण्डा स्कुलकै लागि १ थान स्टिल दराजलगायत ५ आईटमका सामान खरिद गरेर हस्तान्तरण नगरेको महालेखाले जनाएको छ ।

गोकर्णेश्वर प्राथमिक अस्पतालका मेडिकल अधिकृत डा. साङ्बे लामाबाट २४ हजार २ सय २० रुपैयाँ पारिश्रमिक कर भुक्तानी हुनु पर्ने महालेखाको ठहर छ ।

गोकर्णेश्वर नगरपालिकामा सहायकस्तरका कर्मचारीका लागि मासिक ४ हजार स्थानीय भत्ता दिने व्यवस्था रहेकोमा सहायकस्तरको पाँचौं तहमा कार्यरत भुपेन्द्र बोहोरालाई मासिक ८ हजारका दरले स्थानीय भत्ता दिएकाले असूल हुनुपर्ने महालेखाको निर्देशन छ ।

बागमती नदी गोकर्ण बाँधदेखि नारायणटार पुलसम्म ड्याम बाँधी अत्याधुनिक स्टिमर सञ्चालन र किनारा ब्यूटीफिकेशन गर्न काठमाडौं पोडवे कम्पनीलाई १ करोड अनियमित तरिकाले लगेको महालेखाले औँल्याएको छ ।

 

त्यस्तै स्वास्थ्य स्वयंसेवक क्षमता अभिवृद्धि सुगर, प्रेसर जोरो नाप्नेलगायतका तालिम लागि ८० हजार र वडा प्रतिनिधि, कर्मचारी स्वास्थ्य व्यवस्थापन समिति तथा स्वास्थ्य स्वयंसेविकाहरुको अवलोकनका भ्रमणका लागि २ लाख ८० हजार रुपैयाँ महालेखाको आपत्ति छ ।

चक्र बहादुर ठकुरीको शालिक निर्माणमा स्व. चक्रबहादुर ठकुरी शालिक निर्माण समितिले लगेको ५ लाखमा पनि महालेखाले कैफियत जनाएको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका, #मेयर सन्तोष चालिसे, #विदेशी नागरिक, #स्वास्थ्य उपचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com