सचिव ‘घुलनशील’ हुँदा अवैध आँखा अस्पताललाई करोडौंको भन्सार छुट


काठमाडौं । नेपालका आँखा अस्पताल अवैध रुपमा सञ्चालन भइरहेको पाइएको छ । सरकारी नियम, कानुनको धज्जि उडाउँदै आँखा अस्पतालहरू मनलाग्दी रुपमा अवैध तरिकाले चलिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त ‘डकुमेन्ट’ अनुसार अवैध आँखा अस्पताले करोडौं मूल्यको भन्सार छुट पाएका छन् । अझ जनताको ‘भगवान’ का रुपमा परिचित डा. सन्दुक रुईत आवद्ध अवैध नेपाल आँखा अस्पतालले एक वर्षमा एक अर्ब नजिकको भन्सार छुट लिएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘बोल्न मिलेन तर, भगवान कै अस्पताल दर्ता रहेनछ ।’, स्वास्थ्यको तथ्याङ्क अनुसार तिलगंगा आँखा अस्पतालले नेपाल आँखा कार्यक्रमको नाममा आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ८४ करोड १४ लाख १२ हजार ३६० नेपाली रुपैयाँको भन्सार छुट लिएको छ ।’

एक वर्षमा यत्रो रकमको भन्सार छुट लिने अस्पताल अवैध रुपमा सञ्चालन हुनुले यति बेला स्वास्थ्य क्षेत्रमा बहस सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल आँखा कार्यक्रमका लागि लिएको भन्सार छुट ‘लेन्स’ बेच्नलाई हो । अवैध रुपमा चलेको भएपनि वैदेशिक डलर ल्याउँन यसले ठूलो काम गरेको छ ।

लेन्स उत्पादन गर्नका लागि ल्याइने कच्चा पदार्थ हो । नेपालमा उत्पादन गरेर विदेशमा लेन्स बेच्ने गरिन्छ । तर, जे जति फाइदा भएपनि कानुनी दायराबाट भाग्न भने पाइँदैन । राज्यको कानुन सबैका लागि बराबर हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना महाशाखाका डा. गुणनिधी शर्माले आँखा अस्पताल दर्ता नभएको बताए ।उनले विगतमा विशेष निर्णय गरेर अनुमति दिँदै आएको बताए । तर, त्यस बेला आँखा सेवा हेर्न ‘एपेक्स बढी’ थियो । अहिले एपेक्स बढी खारेज गरिसकेको छ ।

जनस्वास्थ्य सेवा ऐन नियमावली अनुसार अहिले दर्ता प्रक्रियाबिना सञ्चालन हुन पाउँदैनन् । तर, तिलगँगा आँखा अस्पतालले दर्ता प्रक्रियामा जानेभन्दा पनि अवैध रुपमा करोडौंको भन्सार छुट लिइरहेको छ । अहिले भने मन्त्रालयले तिलगँगा आँखा अस्पतालका फायल रोकेको बुझिएको छ ।

आँखाजस्तो संवेदनशील अङ्गको स्वास्थ्य सेवा प्रदान गर्ने आँखा अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सो मातहतका कुनै पनि निकायबाट सेवा सञ्चालनको स्वीकृति लिएका छैनन् ।

‘कुनै पनि स्वास्थ्य सेवा प्रदायक अस्पतालले स्वीकृति नलिई सञ्चालन गर्नु अवैधानिक मानिन्छ’,  अधिकारीहरू भन्छन् ।नेपालमा सञ्चालित आँखा अस्पतालले सेवा सञ्चालनको स्वीकृति नलिएको भए पनि ती अस्पतालहरूले विदेशबाट सामग्री ल्याउँदा मज्जाले भन्सार छुट लिँदै आएका छन् ।

अवैध अस्पतालले ल्याएका उपकरणको भन्सार छुट तत्काल रोक्नु पर्छ । कानुनमा स्वास्थ्य सेवा स्वीकृति नलिएका अस्पतालहरूलाई सरकारबाट पाउने सेवा-सुविधाबाट वञ्चित गर्ने उल्लेख गरेको छ । तर, भगवानसामु स्वास्थ्यका अधिकारीहरूले बनाएको कानुन फिक्का देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव ‘घुलनशील’ भएकाले पनि अवैध अस्पतालहरुले भन्सार छुट पाउँदै आएका छन् । नेपालमा सञ्चालन भएका अधिकांश आँखा अस्पताल गैरसरकारी संस्थाका रूपमा समाज कल्याण परिषद्मा आबद्ध छन् । नेपाल नेत्रज्योति सङ्घले परिषद्मा दर्ता भएर देशभर १७ वटा ठूला अस्पताल सञ्चालन गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत दर्ता नै नभई सो मन्त्रालयबाट वार्षिक रूपमा विभिन्न क्रियाकलापका लागि बजेट समेत लैजाने गरेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

यसैगरी, स्वास्थ्य सेवा सञ्चालनको स्वीकृति नलिईकन सञ्चालन भइरहेको तिलगंगा आँखा अस्पतालले आँखा विशेषज्ञसमेत अध्यापन गराउँदै आएको छ ।

नेपालका प्रमुख आँखा अस्पताल :
तिलगंगा आँखा अस्पताल, काठमाडौं
विनोद केडिया आँखा अस्पताल, नवलपरासी
बीपी आँखा अस्पताल लोकन्थली, भक्तपुर
चितवन आँखा अस्पताल, चितवन
मेची आँखा अस्पताल, झापा
नेत्रज्योति संघमार्फत सञ्चालित अस्पताल
सगरमाथा चौधरी आँखा अस्पताल, लहान
विराटनगर आँखा अस्पताल, विराटनगर
गौर आँखा अस्पताल, रौतहट
केडिया आँखा अस्पताल, पर्सा
भरतपुर आँखा अस्पताल, चितवन
हिमालयन आँखा अस्पताल, कास्की
पाल्पा लायन्स आँखा अस्पताल, पाल्पा
लुम्बिनी आँखा अस्पताल, बुटवल
राप्ती आँखा अस्पताल, दाङ
फेवा बाल आँखा अस्पताल
गेटा आँखा अस्पताल, कैलाली
बुटवल लायन्स आँखा अस्पताल
डा. विनोद नेता कँडेल आँखा अस्पताल
डा. रामप्रसाद पोखरेल आँखा अस्पताल, धनकुटा
महेन्द्रनगर आँखा अस्पताल
लमही आँखा अस्पताल

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com