अनामनगरको धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा संलग्न वडाध्यक्ष कुश ढकालमाथि अख्तियारले थाल्यो छानबिन


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरस्थित धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा संलग्न वडाध्यक्ष कुश ढकालमाथि छानबिन थालेको छ । स्वास्थ्य लाइभले कोरोनाकालमा धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा कामनपा २९ नम्बर वडाध्यक्ष ढकाल संलग्न रहेको तथ्य सार्वजनिक गरेपछि अख्तियारले छानबिन थालेको हो ।अख्तियार उच्च स्रोतका अनुसार वडाध्यक्ष ढकालमाथि पदीय हैसियतको दुरुपयोग गर्दै सरकारी जग्गा हिनामिनामा संलग्न भई भ्रष्टाचार गरेको आरोपमा छानबिन चलिरहेको छ । अख्तियारले उनीमाथि तीव्र रुपमा छानबिन गरिरहेको अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

अख्तियारले २०६५ सालमै धोबीखोला सरकारी जग्गा जनाएको तत्कालीन महादेवस्थान गाविस वडा नम्बर ५ को कित्ता नम्बर १४३ को २३ रोपनी जग्गामध्ये आधाभन्दा बढी जग्गा हिनामिनामा वडाध्यक्ष ढकाल संलग्न रहेको पाइन्छ । वडाध्यक्ष ढकालले धोबीखोला जनिएको १२ रोपनी बढी जग्गा केदारेश्वर महादेव चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लान सिफारिस दिएर सरकारी जग्गा हिनामिना गरेका हुन् । अझ वडाध्यक्ष ढकालले उक्त सरकारी जग्गामा नक्कली मोही खडा गराउन भूमिका खेलेका छन् । २ अर्ब बढीको सरकारी जग्गा गुठीमा लान सिफारिस दिई भ्रष्टाचार गरेको विषयमा उनीमाथि अहिले अख्तियार लागेको छ ।

वडाध्यक्ष ढकालले २०७७ साल फागुन ९ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३२ हुँदै परिवर्तित २९ को सिट नम्बर ११४६ को कित्ता नम्बर ५, ४२, ३८,९,१०, ४९, ६८, २०५, २४३, २४२, २१०, १७७ र १८७ को सरकारी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लगेर जग्गा धनी प्रमाण पूर्जा बनाइदिन गुठी संस्थानमा सिफारिस गरेको देखिन्छ । कोरोना कहरमा जनता मृत्युसँग लडिरहेको मौका छोपी वडाध्यक्ष ढकाल अर्बौको सरकारी जग्गा हिनामिना गर्न लागिपरेको खुल्न आएको छ । यो विषयलाई अख्तियारले गम्भीरतापूर्वक लिएर तीव्र छानबिन गरी भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो ।

२०२२ साल पुस २८ गते नापनक्सा हुँदा उक्त जग्गा महादेवस्थान गाविस वडा नम्बर ५ कित्ता नम्बर १४३ को २३ रोपनी धोबीखोला जगिएको छ । धोबीखोलाले २०४२र४३ सालतिर धार परिवर्तन गरेपछि पुनः नापी भयो । २०४३ भदौ २३ गते साविकको कित्ता नम्बर १४३ को २३ रोपनी जग्गा विभिन्न कित्तामा विभाजन गरिए । त्यहिँबेला कित्ताकाट गरिएका कित्तालाई आधार मानेर वडाध्यक्ष ढकालले २९ नम्बरभित्र पर्ने धोबीखोला जनिएको सरकारी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लगेर नक्कली मोही खडा गर्न सिफारिस गरिदिएको पुष्टि हुने कागजात फेला परेको हो ।

धोबीखोला जनिएको अर्बौको उक्त सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्ने कार्यमा संलग्न वडाध्यक्ष ढकाल भ्रष्टाचार मुद्दाबाट उम्किने ‘चान्सै’ नभएको अख्तियार उच्च स्रोतको दाबी छ । यो विषयमा जतिसक्दो चाँडो अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गर्ने गृहकार्यमा अख्तियार जुटिसकेको पाइन्छ ।सरकारी जग्गा हिनामिना गर्न संलग्न ‘भ्रष्टाचारी’ वडाध्यक्ष ढकालमाथि कारबाही हुनुपर्ने उक्त क्षेत्रका आम जनताको माग र चासो छ । विद्यमनज भ्रष्टाचार कानुन, जनताको चासो र भावना अनुसार नै अख्तियारले उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो । स्वास्थ्य लाइभसँगको कुराकानीमा अख्तियारका एक अधिकारीले सरकारी जग्गा हिनामिनामा संलग्न कोही पनि उम्किन नसक्ने स्पष्ट पारे ।

अख्तियार प्रमुख प्रेमकुमार राई ललिता निवास बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्नमाथि छानबिन गराउन सफल व्यक्ति हुन् । वडाध्यक्ष ढकालले हिनामिनाका लागि सिफारिस गरेको अनामनगरको ती जग्गासँग जोडिएका जग्गा समेत उनकै पहलमा सरकारको नाममा फिर्ता आइसकेको छ । हरिप्रसाद गिरी, दस नारायण महर्जन, टेकबहादुर पौडेललगायतको नाममा दुषित दर्ता भएका अनामनगरका ती जग्गा अख्तियार प्रमुख राई कै सक्रियतामा सरकारको नाममा फिर्ता आएका हुन् ।

जतिबेला अख्तियार प्रमुख राई व्यक्तिका नाममा पुगेका सरकारी जग्गा फिर्ता ल्याउन सक्रिय थिए । त्यसैबेला भूमाफियाका मतियार वडाध्यक्ष ढकाल बाँकी रहेका सरकारी जग्गा पनि गुठीमा लगेर नक्कली मोही खडा गरी हिनामिनामा सक्रिय रहेको पुष्टि भएको छ । यसले पनि वडाध्यक्ष ढकाल भ्रष्टाचार मुद्दाबाट उम्किने चान्सै देखिँदैन । सरकारी जग्गा संरक्षणमा लाग्नु पर्ने वडाध्यक्ष हिनामिनामा लागेपछि भ्रष्टाचार मुद्दाबाट उम्किने चान्स होस् पनि कसरी रु

वडाध्यक्ष ढकालको धोबीखोला काण्डले अख्तियारको सरकारी जग्गा संरक्षण गर्ने अभियानलाई ठाडै चुनौती दिएको छ । सुशासनका पहरेदार सरकारी जग्गा संरक्षणमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभियानलाई समेत वडाध्यक्ष ढकालको कर्तुतले गिज्याएको छ ।

सरकारी जग्गा हिनामिना जस्तो यति ठूलो बदमासीमा वडाध्यक्ष ढकाल संलग्न भएको तथ्य सार्वजनिक हुँदा पनि उनीसँग सम्बन्धित पार्टी नेपाली कांग्रेस चुपचाप छ । उक्त पार्टी भ्रष्टाचारीको संरक्षणमा लागेको त होइन भन्ने आम जनताको गम्भीर प्रश्न र जिज्ञासा छ । यति ठूलो काण्ड आउँदा पनि कसैले उनको राजीनामा मागेको देखिँदैन । प्रतिपक्षको हैसियतमा रहेकाहरू पनि मौन देखिन्छन् । कतै यहाँ ‘भागशान्ती जय नेपाल’ त भएको छैन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

काठमाडौं जस्तो ठाउँमा वडाध्यक्ष अर्बौको सरकारी जग्गा हिनामिनामा संलग्न हुँदा नागरिक समाज समेत मुकदर्शक बनेको छ । उनी अझै लाजै बेगर छाती फुलाएर हिँडिरहेका छन् । यसले यहाँ कुशासन र भ्रष्टाचारको पराकाष्ठा र माहोल छ भन्ने देखाउँछ । अब अख्तियारले सरकारी जग्गा हिनामिनामा संलग्न वडाध्यक्षमाथि चाँडोभन्दा चाँडो भ्रष्टाचार मुद्दा दायर गर्नुको विकल्प छैन ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #अनामनगरस्थित चिल्ड्रेन पार्क, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #कामनपा वडाध्यक्ष कुश ढकाल, #धोबीखोला मास्ने बेच्ने, #भ्रष्टाचार छानबिन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com