स्पेन काण्डले वैदेशिक रोजगार विभागका डिजी फेरिए, कमललाई क्रस गरेर जीवलाल गए
	
                                            काठमाडौं। स्पेनको म्याड्रिडमा भएको श्रम सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा वैदेशिक रोजगार विभागका कर्मचारीहरू श्रीमतीसहित सहभागी भएको घटनाले सञ्चार माध्यम र सामाजिक सञ्जाल तातेको छ। कार्तिक अन्तिमको कुरा भएपनि ४ महिनापछि उक्त काण्डले मिडिया र समाजिक सञ्जाल तातेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी पनि श्रीमतीसहित उक्त कार्यक्रममा सहभागी भएका थिए। वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र उपसचिव कविराज उप्रेती पनि श्रीमतीसहित स्पेन गएको तथ्य सार्वजनिक भएपछि श्रम मन्त्रालय आलोचित बनेको छ। उक्त आलोचनापछि श्रममन्त्री भण्डारीले वैदेशिक रोजगार विभाग महानिर्देशक खत्रीको जिम्मेवारी खोसेर जीवलाल भुसाललाई पठाउने निर्णय गरेका छन्।
मन्त्री भण्डारीसँग राम्रै ‘ट्युनिङ’ मिलेको र अवकाशको मुखमा रहेका महानिर्देशक खत्रीलाई हठात् हटाउनुको कारण स्पेन काण्ड नै हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ। श्रम सचिव कृष्णहरि पुष्करसँग घनिष्ठ सम्बन्ध भएका कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक ताकेर राष्ट्रिय सूचना आयोगबाट श्रममा भित्रिएका थिए। मन्त्रालय स्रोतका अनुसार खत्रीको अवकाश भएपछि मात्र उक्त विभागमा पठाउने गरी भट्टराई तत्कालका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा पठाइएको थियो। गत पुसमा उक्त विभागका महानिर्देशक अर्जुनप्रसाद भट्टराई अवकाश भएपछि विभाग निमित्तको भरमा चलिरहेको छ। मन्त्रालयको बरण्डामा रहेका कमलप्रसाद भट्टराई केही समयका लागि भनेर केही समय अघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पठाइएको हो।
श्रममन्त्री विवादमा परेको र वैदेशिक रोजगार विभाग र कार्यालय ताहाचलमा ‘घूस’ लेनदेन हुने गरेको समाचार आउन थालेपछि महानिर्देशक खत्रीको जिम्मेवारी खोसिएको छ।२०८२ वैशाख १० गते घर जान लागेका खत्रीलाई २ साता अगाडि नै मन्त्रालय तानिएको हो। वैदेशिक रोजगार विभागको महानिर्देशकमा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसाललाई पठाइएको छ। श्रममन्त्री कै टोलीमा शाखा अधिकृत छोरी आयुषी भट्टराईलाई पठाएको भनेर आलोचना खेपिरहेका भट्टराईलाई भुसालले क्रस गरेर वैदेशिक रोजगार विभागको महानिर्देशक बनेपछि उनी हेरेको हेरै भएका छन्। वैशाख १० सम्म कुरेका भट्टराईलाई भुसालले उछिनेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद भट्टराई सहसचिव, #जीवलाल भुसाल, #वैदेशिक रोजगार विभाग, #सूर्य बहादुर खत्री

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस