गृहमन्त्री रमेश लेखकको सुशासन

नम्बरका लागि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ, किस्ताबन्दीमा फिर्ता बोलाइँदै


काठमाडौं। गृह मन्त्रालयको बरण्डामा आधा दर्जन बढी सहसचिव रहेका छन्। तर, सहसचिवको दरबन्दी रहेको जुम्ला, सल्यान, डोटी, डडेलधुरा र बैतडीमा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन्। दुर्गमको नम्बर पुऱ्याउने नाममा सहसचिवको दरबन्दी रहेका उपसचिव सिडिओलाई किस्ताबन्दीमा फिर्ता बोलाउन थालिएको छ।

रमेश लेखक गृहमन्त्री भएपछि सहसचिवको दरबन्दी रहेका १० वटा जिल्लामा उपसचिव सिडिओ पठाएका थिए। ती उपसचिव सिडिओलाई किस्ताबन्दीमा फिर्ता बोलाएर सहसचिव पठाउन थालिएको छ। गृह मन्त्रालयले अछाम, प्युठान, अर्घाखाँची, दैलेख र रामेछापको फिर्ता बोलाएको हो। बाँकी पाँच जिल्लाका सिडिओ भने चलाइएको छैन।

चैतको पहिलो साता अछाम सिडिओ रहेका उपसचिव शिवप्रसाद लम्साललाई गृह मन्त्रालय तानेर त्यहाँ सहसचिव आनन्द सारूलाई पठाइएको छ। त्यस्तै चैतको तेस्रो साता सहसचिवको दरबन्दीमा रहेकाे प्युठानको उपसचिव सिडिओ रमा आचार्य (सुवेदी) र अर्घाखाँचीका सिडिओ बाबुराम अर्याललाई गृह मन्त्रालय तानेर त्यहाँ पनि सहसचिव पठाइएको हो। अर्घाखाँचीको सिडिओमा सहसचिव वेदप्रसाद खरेल र प्युठानको सिडिओमा सहसचिव दिपकराज नेपाललाई पठाइएको थियो। भर्खरै सहसचिवको दरबन्दी रहेका रामेछाप र दैलेखका उपसचिव सिडिओ फिर्ता बोलाएर सहसचिवलाई पठाइएको छ। रामेछापका उपसचिव सिडिओ राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानेर रामेछापमा तनहुँका सिडिओ सहसचिव श्यामकृष्ण थापालाई पठाइएको हो। दैलेखका उपसचिव सिडिओ नवराज जैसीलाई गृह मन्त्रालय तानेर सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाएर पठाइएको छ। यद्यपि उनीहरू हाजिर भइसकेका छैनन्।

लामो समयदेखि सहसचिवहरू प्रेमप्रसाद भट्टराई र नारायणप्रसाद रिसाल गृहको बरण्डामा रहेका छन्। सुरेन्द्र पौड्याल, वासुदेव दाहाल गृहको जगेडामा थन्किएका हुन्। सहसचिवहरू अरुण पोखरेल, बुद्धबहादुर गुरुङ, शंकरहरि आचार्य, नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा पनि गृहको जगेडामा पुगेका छन्। तर, सहसचिवको दरबन्दीमा जुम्ला, सल्यान, डोटी, डडेलधुरा र बैतडीमा उपसचिव सिडिओ रहेका छन्। जुम्लामा रामबहादुर शाही, सल्यानमा सावित्रा पुन, डोटीमा मोहनराज जोशी, डडेलधुरामा चोमेन्द्र न्यौपाने र बैतडीमा दीर्घराज उपाध्याय रूपमा कार्यरत छन्। यी पाँचै जना सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओहरू हुन्।

उपसचिव न्यौपाने भदौं २४ गते डडेलधुराको सिडिओमा हाजिर भएका थिए। उपसचिव शाही असोज ९ गते जुम्लाको सिडिओमा हाजिर भएका हुन्। जोशी कार्तिक १२ गते डोटी र न्यौपाने पनि सोही दिन बैतडीको सिडिओमा हाजिर भएका थिए। त्यस्तै पुन २८ पुसमा सल्यान सिडिओ भएकी थिइन्। उनीहरूलाई फिर्ता बोलाएर सहसचिवलाई सिडिओ बनाएर पठाउन गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी अक्षम देखिएका छन्।

गृह मन्त्रालयका अधिकारीहरू भने लाजै नमानी दुर्गम नम्बर पुऱ्याउनका लागि सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओहरूलाई फिर्ता नबोलाइएको बताउँछन्। सहसचिवलाई मन्त्रालयको बरण्डामा राखेर उपसचिवलाई फिल्डमा खटाउने गृह मन्त्रालयको नीति हास्यास्पद र लज्जास्पद देखिन्छ। गृह मन्त्रालयले सुशासनको खिल्ली उडाउँदै सहसचिवको दरबन्दीमा उपसचिव सिडिओलाई फिर्ता नबोलाएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव सिडिओ, #चोमेन्द्र न्यौपाने, #दिर्घराज उपाध्याय, #मोहनराज जोशी, #रामबहादुर शाही, #सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ, #सावित्रा पुन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ