गृहमन्त्री लेखक र सचिव दुवाडीको अकर्मण्यता

सिडिओ भएका सहसचिवलाई जगेडामा राखेर गृह नबुझेकालाई महाशाखा प्रमुखको जिम्मेवारी


काठमाडौं। गृह मन्त्रालयले गत पुस २२ गते मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरूवा गऱ्यो। चितवनबाट फिर्ता गरिएका सिडिओ इन्द्रदेव यादवलाई मोरङ पठाएर भट्टराईलाई गृह मन्त्रालय तानेको थियो। भट्टराई झन्डै साढे ४ महिनादेखि गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका छन्।

उपसचिव हुँदै भोजपुरलगायतका जिल्लाका सिडिओ र सहसचिव भएपछि भक्तपुर र मोरङको सिडिओ बनेका भट्टराईलाई कानुनविपरीत गृहको जगेडामा राखिएको हो। अन्य अनुभवी सहसचिवको हालत पनि उस्तै छ।

जागिरे जीवनमा पहिलोपटक गृह मन्त्रालय टेकेका सहसचिव टोकराज पाण्डेलाई महाशाखा प्रमुख बनाउँदा अनुभवी सिडिओ भट्टराईलाई जगेडामा राखिएको छ। गृह मन्त्रालय छिर्नेबित्तिकै नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख बनाइएका पाण्डे अहिले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख छन्। पाण्डे महाशाखा प्रमुख हुँदा सिडिओ भएर मन्त्रालय आएका भट्टराईसहित करिब १ दर्जन सहसचिव हेरेको हेरै भएका हुन्।

भट्टराईसँगै झापाको सिडिओबाट फिर्ता बोलाइएका बन्धुप्रसाद बास्तोलालाई भने हालै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा ‘व्यवस्थापन’ गरिएको छ। बागमती प्रदेशको यातायात सचिवबाट फागुन दोस्रो साता गृह मन्त्रालय भित्रिएका सुरेन्द्र पौडेल पनि साढे २ महिनादेखि गृहको जगेडामा छन्। यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा चर्चामा रहेका पाण्डे गृहको महाशाखा प्रमुख हुँदा सुरेन्द्र पनि बरण्डामा हल्लिरहेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स प्रकरणको छानबिन गरिहेको अवस्थामा गृह मन्त्रालयका विवादित सहसचिव अख्तियारका एक आयुक्तसँगै कालीबाबा भेट्न भारत गएको चर्चा अझै सेलाएको छैन। अन्य सहसचिव पनि बाबा भेट्न लाइन लागेर जाने गरेको पाइन्छ।

चैत पहिलो साता चितवनको प्रमुख जिल्ला अधिकारीबाट तनिएका सहसचिव बासुदेव दाहाल पनि गृह मन्त्रालयको जगेडामा छन्। कैफियत देखाएर मन्त्रालय तानिएका दाहाल कतिखेर इन्द्रदेव यादव जस्तै पुरस्कृत हुन्छन् भन्न सकिन्न। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको शासनकालमा यस्तो हुनुलाई अचम्म मानिन्न। उनीहरूले गृहमा सुशासनको अनुपम उदाहरण प्रस्तुत गरिरहेका छन्।

लेखक-दुवाडी समूहले विवादित पृष्ठभूमिका लालबाबु कवारीलाई गृह जिल्ला महोत्तरीको सिडिओ बनाएर पठाए। त्यहाँ पनि विवादमा तानिएपछि कवारीलाई मन्त्रालय तानेर लामो समयदेखि गृहको जगेडामा रहेका नारायणप्रसाद रिसाललाई महोत्तरीको सिडिओ बनाएर पठाइएको छ। कवारी पनि गृह मन्त्रालयमै रहेकाले उनले पनि ठूलो कुनैबेला जिम्मेवारी पाउन बेर छैन।

चैत ६ गते सिडिओबाट फिर्ता बोलाइएका शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा पनि गृहको जगेडामा हल्लिरहेका छन्। आचार्य सुर्खेत, पोखरेल पूर्वी नवलपरासी, सुवेदी बाग्लुङ र शर्मा पर्वतको सिडिओबाट फिर्ता बोलाइएका थिए। दुई महिनादेखि उनीहरू पनि गृहको बरण्डामा ‘घाम तापिरहेका’ छन्। न उनी हरू गृह मन्त्रालयबाट बाहिरिएका छन् न त सिडिओमै पठाइएको छ। यसले सुशासनको हुर्मत लिने काम भइरहेको देखिन्छ।

चैतको तेस्रो साता स्याङ्जाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाइएकी सुनिता नेपाल र लम्जुङका सिडिओ बुद्धबहादुर गुरुङ पनि गृह मन्त्रालयमा ‘बेरोजगार’ देखिन्छन्। गृह मन्त्रालयमा सिडिओको अनुभव नलिएकाहरूको हालिमुहाली हुँदा अनुभवी सिडिओहरू ‘किनारा’ लागेका छन्। गृहमन्त्री लेखक र सचिव दुवाडीको अकर्मण्यताका कारण गृहमा यस्तो अवस्था आएको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अरूण पोखरेल, #इन्द्रदेव यादव सिडिओ, #केदारनाथ शर्मा, #डा. टोकराज पाण्डे, #नारायणप्रसाद रिसाल, #नेत्रप्रसाद सुवेदी, #प्रेमप्रसाद भट्टराई, #बासुदेव दाहाल, #बुद्धबहादुर गुरुङ, #लालबाबु कवारी, #शंकरहरि आचार्य, #सुनिता नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ