ऊर्जा आयोगका सचिव भेटुवाल सेवानिवृत्त, मिश्र तेस्रोपटकमा सचिव होलान्?

काठमाडौं। जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सचिव मधुप्रसाद भेटुवालले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्षे उमेर हदका कारण सचिव भेटुवालले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा करिब ५ महिना काम गरेर अनिवार्य अवकाश पाएका हुन्।

२०८१ पुस ९ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएका भेटुवाल दोस्रो नम्बरमा सिफारिस भएका थिए। पहिलो नम्बरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्रलाई पछि पार्दै उनी छोटो समयका लागि सचिव भएका हुन्। सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका मिश्र २०७० बैशाखमा सहसचिव भएका थिए भने भेटुवाल ११ महिनापछि फागुनमा सहसचिव भएका थिए। तर, मुख्यसचिव बनाउँदा बरियता मिचेर धेरै वरिष्ठ सचिवहरूलाई ‘शहीद’ बनाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिव मिश्रलाई त्यहिँ हालमा पुऱ्यायो।
ओली सरकारले मिश्रलाई पहिलो चोटी मात्र अन्याय गरेको होइन भेटुवालभन्दा अघि पनि दोस्रो नम्बरमा सिफारिस भएका रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको थियो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले मिश्रलाई सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस गरेको थियो। त्यो बेला ओली सरकारले दोस्रो नम्बरमा रहेका भ्रष्टाचारमा डामिएका घिमिरेलाई १५ दिने सचिव बनायो। मिश्र हेरेको हेरै भए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख रहेका मिश्र तेस्रोपटक सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस हुँदैछन्। अवकाशको उमेर हद ५८ आधार मान्दा वर्षलाई उनी २ वर्ष सचिव हुने लाइनमा छन्।
प्राविधिक सहसचिवमा मिश्र पहिलो नम्बरमा, ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत दोस्रो नम्बरमा र जगदिश्वर कर्माचार्य तेस्रो नम्बरमा रहेका छन्। चटौत र कर्मचार्य एकैदिनका सहसचिव हुन्। अहिले मिश्रको बढुवा भए चटौत ऊर्जा मन्त्रालय कै सचिव सुरेश आचार्यले भदौ १४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि सचिव बन्नेछन्। ‘अन्यायी’ ओली सरकारले मिश्रलाई बढुवा नगरेर दोस्रो नम्बरमा रहेका चटौतलाई सचिव बनाउन पनि सक्छ। त्यस्तो भयो भने मिश्र तेस्रोपटक पनि सचिवमा बढुवा नभएर अन्यायमा पर्न सक्छन्।
क्याटेगोरी : समाचारट्याग : #डा. रामप्रसाद घिमिरे प्राविधिक सचिव, #दिनानाथ मिश्र, #मधुप्रसाद भेटुवाल
तपाईको प्रतिक्रिया दिनुहोस