यी हुन् सरूवा गर्दा फरक नपर्ने सिडिओहरू

काठमाडौं। आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को एक वर्ष अवधि पुग्न लागेको छ। पाँचथर, ईलाम, भोजपुर, कास्की, वर्दियालगायतका जिल्लाका सिडिओको एक वर्ष अवधि पुग्न लागेको हो। महिनाका हिसाबले ती जिल्लाका सिडिओहरू एक वर्षमा प्रवेश गरेका छन्। धनुषा र रोल्पाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को एक वर्ष अवधि नाघिसकेको छ।
२०८० चैत ६ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट राजुराज कडरिया धनुषा र खिमबहादुर रायामाझी रोल्पाको सिडिओ बनेका थिए। उनीहरूसँगै सिडिओ भएका ध्रुवबहादुर खड्का, बुद्धबहादुर गुरूङ, सूर्यबहादुर खत्री, नारायण ढकाल, ऋषिराज आचार्य, शिवकुमार कार्की तितरबितर भइसकेका छन्। धनुषाको सिडिओ भएर गएका कडरिया र रोल्पाको सिडिओ रहेका रायामाझी भने अझै टिकिरहेका छन्। अहिले एक वर्ष अवधि नाघेका सडिओमा कडरिया र रायामाझी पर्छन्
२०८१ जेठ १६ गते गृहमन्त्रीस्तरीय निर्णयानुसार पाँचथरको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, ईलामको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, भोजपुरको प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, कास्कीको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र वर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा भएका थिए। उनीहरूसँगै सिडिओ भएका रामचन्द्र तिवारी, तीर्थराज चिलुवाल, अरूण पोखरेल, राजेन्द्रदेव पाण्डे, सूर्यप्रसाद सेढाई, ईन्द्रदेव यादव, भूपेन्द्र थापा, नारायणप्रसाद सापकोटा, गोपालकुमार अधिकारी, कोमलप्रसाद धमला र मेखबहादुर मंग्रान्ती लाखापाखा लागिसकेका छन्। रामचन्द्र र अरुण गृह मन्त्रालयमा छन्। तीर्थराज र भूपेन्द्र गृहबाट आउट भइसके। सूर्यप्रसाद, नारायणप्रसाद र कोमलप्रसाद सेवानिवृत्त भइसकेका हुन्।
इन्द्रदेव चितवनबाट गृह मन्त्रालय हुँदै मोरङको सिडिओ भएका छन्। गोपाल अधिकारी सिडिओ बनेर झापा पुगेका छन् भने मेखबहादुर सप्तरीबाट जाजरकोटको सिडिओ बनेर गएका हुन्। उनीहरूसँगै सरूवा भएर गएका पाँचथरका सिडिओ कोइराला, ईलामको सिडिओ श्रेष्ठ, भोजपुरको सिडिओ थापा, कास्कीको सिडिओ पाण्डे र वर्दियाको सिडिओ एक वर्षसम्म टिकिरहेका छन्।
सामान्यतयाः एक वर्षसम्म सिडिओ चलाउन दिने चलन छ। विशेष परिस्थितिबाहेक ९ महिनामा पनि कतिपय सिडिओ तानिएका छन्। गृह मन्त्रालयले १ वर्षसम्म सिडिओ चलाउन दिएर राम्रो काम गरेको हो। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले एउटा मात्र राम्रो काम गरेको भनेको यहीँ हो। कुनै विवादमा नपरे १ वर्षभन्दा बढी सिडिओ चलाउन दिन उति उत्तम हो। एक वर्ष नाघेपछि भने सिडिओ चलाउँदा फरक पर्दैन। पाँचथर, ईलाम, भोजपुर, धनुषा, कास्की, रोल्पा, वर्दियाका सिडिओ चलाउँदा न्यायपूर्ण नै हुने देखिन्छ।
उनीहरूसँगै नवलपरासी पश्चिमको सिडिओ बनेर गएकी स्किम श्रेष्ठले मकवानपुरको सिडिओमा फड्को मारिसकेकी छिन्। गृह मन्त्रालयको कार्यविधिविपरीत स्किमलाई गृह जिल्लाको सिडिओ बनाइएकाले उनलाई तत्काल अन्यत्र सरूवा गर्नुपर्छ। गृह जिल्लाको सिडिओ बनाउन नमिल्ने कानुन भएकाले भोजपुरका कोइराला पाँचथर र पाँचथरका थापालाई भोजपुरको सिडिओ बनाएर पठाइएको छ। तर, स्किमको हकमा भने गृह मन्त्रालयले बदमासी गरेको हो। कानुनविपरीत ४ महिनादेखि गृहको बरण्डामा सहसचिव थन्क्याएका गृहमन्त्री र सचिवलाई कार्यविधि मिच्नु सामान्य कुरा जस्तो लाग्न सक्छ। सुशासनको धज्जी उडाउने गृह प्रशासनले सिडिओ सरूवामा मनपरी गर्दै आएको छ। अख्तियारको दुुरूपयोग गरेर गृहमन्त्री र सचिवले जथाभावी गृह मन्त्रालय चलाइरहेका छन्।
गृह जिल्लाको सिडिओ बनेका लालबाबु कवारी, नवराज जैसी, रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय फिर्ता बोलाएको नजिर ताजै भएकाले स्किमको हकमा पनि त्यस्तै निर्णय हुन जरूरी देखिन्छ। कार्यविधिविपरीत सिडिओ पठाउने जिम्मेवार अधिकारीहरूमाथि आवश्यक कारबाही गर्ने परिपाटीको विकास गर्नुपर्छ। यो विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि ‘एक्सन’ लिने ठाउँ छ।
क्याटेगोरी : समाचारट्याग : #कल्पना श्रेष्ठ, #खिमबहादुर रायामाझी, #नरबहादुर थापा, #भरतमणि पाण्डे, #राजुराज कडरिया, #रुद्रादेवी शर्मा, #विष्णुप्रसाद कोइराला, #सहसचिव स्किम श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस