सत्ता गठबन्धन गभर्नरको लफडामा फस्दा स्वास्थ्यले अतिरिक्त सचिव पाउन सकेन्


काठमाडौं। कांग्रेस-एमाले सम्मिलित सत्ता गठबन्धन नेपाल राष्ट्र बैंकको गभर्नरको लफडामा फस्दा स्वास्थ्यले अतिरिक्त सचिव (बाह्रौं तह) पाउन सकेको छैन। स्वास्थ्य सेवाको अतिरिक्त सचिवका लागि डा. केशरबहादुर ढकाल, डा. श्रीकृष्ण नेपाल र डा. सुधा देवकोटाको नाम सिफारिस भइसकेको छ। तर, मन्त्रिपरिषद्को बैठक नबस्दा स्वास्थ्य अतिरिक्त सचिव नपाएको हो। राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने विषयमा कांग्रेस-एमालेबीच कुरा नमिल्दा मन्त्रिपरिषद्को नियमित बैठक समेत बस्न नसकेको हो। मन्त्रिपरिषद्को बैठक बस्दा स्वास्थ्यमा अतिरिक्त सचिव बढुवाका सिफारिस समेत अलपत्र परेको छ।

हुन त स्वास्थ्यमा अतिरिक्त सचिव नभएपनि केही फरक पर्दैन। स्वास्थ्य मन्त्रालयमा अहिले डा. संगिता कौशल मिश्रा अतिरिक्त सचिव छिन्। डा. रोशन पोखरेलको ठाउँमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि र पोखरेलसँगै दिपेन्द्ररमण सिंह अतिरिक्त सचिवबाट बिदा भएपछि २ पद रिक्त छ। फागुन ११ गतेदेखि रिक्त रहेको अतिरिक्त सचिव ३ महिनासम्म नहुँदा पनि स्वास्थ्य मन्त्रालय चलेकै छ।

वीर अस्पतालमा दरबन्दी देखाएर स्वास्थ्यमा अतिरिक्त सचिव बनाउँदै आइएको छ। तर, अतिरिक्त सचिवलाई वीर अस्पतालमा पठाउने कार्य भएको छैन। वीरलाई देखाएर एक थान अतिरिक्त सचिव बनाउँदा राज्यलाई अनावश्यक भार मात्र थपिएको छ। स्वास्थ्यमा अतिरिक्त सचिव व्यवस्थापन गर्न समस्या पर्दै आएको छ।

वीर अस्पताललाई समेत देखाएर कर्णाली प्रादेशिक अस्पताल कार्यरत डा. ढकाल, पोखराका डा. श्रेष्ठ र स्वास्थ्य सेवा विभागका कार्यरत डा. सुधा देवकोटा अतिरिक्त सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। गभर्नरका कारण सत्ता गठबन्धनमा हलचल भएर मन्त्रिपरिषद्को बैठक रोकिदा अतिरिक्त सचिव बढुवामा अवरोध खडा भएको हो। मन्त्रिपरिषद्को बैठक बसे स्वास्थ्यले दुई थान अतिरिक्त सचिव पाउने सम्भावना छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. केशरबहादुर ढकाल, #डा. श्रीकृष्ण श्रेष्ठ, #डा. सुधा देवकोटा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ