रवि लामिछानेलाई सुनाएको रामशरण, शेरबहादुर र गोकुलको नैतिकता रमेशले देखाउलान्?


काठमाडौं। तात्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको थियो। गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै नेपाली कांग्रेसले सदन नै अवरोध गऱ्यो। सहकारी ठगीको आरोप लागेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने कांग्रेसको अडान थियो।

सदनमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्ने आवाज उठाए। उनले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै सदनमा भनेका थिए, ‘एकपटक माननीय रामशरण महतजी अर्थमन्त्री भएका बेला उहाँका माथि प्रश्न उठेको छ। विदेशी बैंकमा खाता छ उहाँले चाहिँ त राजीनामा दिनुपर्छ भन्ने प्रश्न उठ्दा माननीय रामशरण महतले राजीनामा दिनुभएको छ यसै संसद्को इतिहासमा माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा उहाँले बोल्दा खेरी केही कुरा बिग्रियो बेठिक बोल्नु भयो भनेर प्रश्न उठ्दा उहाँले राजीनामा दिनु भएको छ। त्यो पनि संसद्को इतिहासमा छ। माननीय गोकुल बाँस्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ उहाँका माथि प्रश्न उठेको छ। छानबिन गर्नका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको छ। राजीनामा दिनुभएको छ।’, रवि अहिले सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पुगेका छन्।

रविलाई रामशरण, शेरबहादुर र गोकुलको नजिर देखाउँदै राजीनामा माग्ने रमेश अहिले आफै नैतिक संकटमा परेका छन्। नक्कली भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकका विश्वासपात्र सहसचिव तीर्थराज भट्टराई अख्तियारको अनुसन्धान दायरमा छन्। नक्कली भिजिट भिसा काण्डको ‘कनेक्सन’ गृह मन्त्रालयसम्म पुगेको छ। गृहमन्त्री लेखक पनि नैतिक प्रश्नको घेरामा छन्। रविलाई रामशरण, शेरबहादुर र गोकुलले नैतिकताका आधारमा दिएको राजीनामाको नजिर देखाउने गृहमन्त्री लेखकले आफू भने के गर्छन् हेर्न बाँकी छ।

नक्कली भिजिट भिसाको यत्रो काण्ड मच्चिँदा राजीनामा दिएर रामशरण, शेरबहादुर र गोकुल जस्तै नैतिकवान् बन्छन् कि रवि जस्तै पदमै टाँसिएर नैतिक हराम बन्छन् त्यो थाहा पाउन केही दिन कुर्नुपर्ने छ। गृहमन्त्री लेखेकले सुनाएको नैतिकताको नजिर सदनको रेकर्डमा भएकाले उनले त्यो एकपटक सुनेर निर्णय लिनुपर्ने अवस्था आएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ