विद्यालय निरीक्षक हुँदै प्रशासन सेवामा आएर सहसचिव र सचिव हुनेहरू


काठमाडौं। विद्यालय निरीक्षकबाट प्रशासन सेवामा गई सहसचिव र सचिव हुनेहरू आधा दर्जन रहेका छन्। स्वास्थ्य लाइभको खोजीमा ४ जना सहसचिव र २ जना सचिव विद्यालय निरीक्षकबाट आएको फेला परेको छ। विद्यालय निरीक्षक हुँदै २ जना उपसचिवबाटै प्रशासन सेवातिर लागेकाे पाइन्छ भने ४ जना शिक्षातिर कै अधिकृत र उपसचिव हुँदै प्रशासन सेवातिरको सहसचिव बनेको देखिन्छ।

राजकुमार श्रेष्ठ, दिपक काफ्ले, नारायणप्रसाद भट्ट, नारायणप्रसाद भट्टराई, रामबन्धु सुवेदी र कृष्णप्रसाद पौडेल विद्यालय निरीक्षकबाट प्रशासन सेवातिर छिरेर सहसचिव र सचिव भएका हुन्।

विद्यालय निरीक्षक (विनि)बाट प्रशासन सेवाको उपसचिव र सहसचिव हुँदै सचिव हुने राजकुमार श्रेष्ठ हुन्। २०५३ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गरेका राजकुमार श्रेष्ठ प्रशासन सेवा सामान्य प्रशासन समूहको खुला प्रतिस्पर्धाबाट उपसचिव हुँदै सहसचिव भएका थिए। २०६९ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका राजकुमार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव हुन्।

कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै राजकुमार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव बन्न आइपुगेका छन्। २०७८ भदौमा सचिवमा बढुवा भएका गोरखाली राजकुमार २०८३ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्।

राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्ले पनि विद्यालय निरीक्षक हुँदै प्रशासनतर्फ आएर सचिव बन्न सफल भएका छन्।२०५५ सालका विद्यालय निरीक्षक धनकुटा मुर्तीढुंगाका काफ्ले शिक्षा कै उपसचिव हुँदै अपाङ्ग कोटाबाट २०६९ सालमा प्रशासन सेवाको सहसचिव भएका हुन्। राजकुमार श्रेष्ठ आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव हुँदा दिपकले अपाङ्ग कोटाबाट शिक्षाबाट प्रशासन तर्फ फड्को मारेका थिए। घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे र नारायणप्रसाद शर्मा दुवाडी खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदा दिपक काफ्ले अपाङ्ग र राधिका अर्याल महिला कोटाबाट सहसचिव भएकी थिइन्। उनीहरू सबै अहिले नेपाल सरकारको सचिव छन्।

विद्यालय निरीक्षकबाट उपसचिव हुँदै प्रशासन सेवामा छिरेर सहसचिव हुँदै सचिव भएका काफ्ले हालै शिक्षा मन्त्रालयबाट राष्ट्रपति कार्यालय पुगेका हुन्। लुम्बिनी प्रदेश र कोशी प्रदेशको प्रमुख सचिव भएका उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव पनि भए।

विद्यालय निरीक्षक र शिक्षा कै उपसचिव हुँदै प्रशासनतिरको सहसचिव बन्ने नारायण भट्ट पनि हुन्। २०५५ सालमा सरकारी सेवामा प्रवेश गरेका धादिङका भट्ट शिक्षक, विद्यालय निरीक्षक, शिक्षा कै उपसचिव हुँदै २०७१ सालमा खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन्। भट्ट उत्तरकुमार खत्री, जयनारायण आचार्यसँगै खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका थिए।

ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा जस्ता जिल्लाको सिडिओ भएका भट्ट सचिव हुने लाइनमा छन्। माओवादी सत्तामा सहसचिव भट्टले निकै लाभ लिएका थिए। माओवादी सत्ताबाट बाहिरिनेवित्तिकै मुखमा आएको महावाणिज्यदूत पद फुत्काएर राष्ट्रिय सर्तकता केन्द्र पुगेका हुन्।

नारायणप्रसाद भट्टराई पनि विद्यालय निरीक्षक उपसचिव हुँदै प्रशासन तर्फको सहसचिव बन्न आइपुगेका हुन्। २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका कपिलवस्तुतिरका भट्टराई २०७४ सालमा खुला प्रतिस्पर्धाबाट प्रशासन तर्फको सहसचिव भएका हुन्। नारायणप्रसाद रेग्मी, प्रकाश दाहाल, ध्रुव घिमिरेसँगै भट्टराई खुला प्रतिस्पर्धाबाट प्रशासन सेवामा आएका हुन्। २०७३ साल चैतमा शिक्षाको वैकल्पिकमा परेका भट्टराई २०७४ असारमा खुला प्रतिस्पर्धाबाट प्रशासन तर्फको सहसचिव बनेका थिए। शिक्षाबाट दिपक शर्माले विस्थापित गरेका भट्टराई प्रशासन तर्फ स्थापित भएका हुन्।

गोरखा, चितवन जस्ता जिल्लाको सिडिओ भएका विद्यालय निरीक्षक भट्टराई अहिले कारागार व्यवस्थापन विभागको महानिर्देशक छन्। उनी सचिव हुन आवश्यक पर्ने एसईडिपी तामिल लिइरहेका छन्।

भट्ट र भट्टराई २०६५ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट एकै दिन शिक्षाको उपसचिव भएका थिए। सहसचिवमा भने भट्टले भट्टराईलाई उछिने।

विद्यालय निरीक्षकबाट शिक्षा कै उपसचिव हुँदै प्रशासन तर्फको सहसचिव हुने रामवन्धु सुवेदी पनि हुन्। खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका पर्वते सुवेदी हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन्। सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्यसँगै २०७७ असारमा खुला प्रतिस्पर्धाबाट सहसचिव बनेर प्रशासन सेवातिर लागेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, काठमाडौंको प्रमुख अध्यागमन अधिकृत, दाङको प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहसचिव हुँदै सुवेदी गृहबाट बाहिरिएर (पिपिएमओ) पुगेका छन्।

खुला प्रतिस्पर्धाबाटै प्रशासन सेवाको सहसचिव बनेका कृष्ण पौडेल पनि विद्यालय निरीक्षक हुन्। धनकुटाका पौडेलले उपसचिव र सहसचिव भने प्रशासन सेवामा खुला प्रतिस्पर्धाबाट भए। २०८१ जेठमा कृष्णकुमारी श्रेष्ठसँगै खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव बनेका कृष्ण पौडल अहिले थारू आयोगको सचिव छन्।

पर्वतका मोतिराम सापकोटा पनि विद्यालय निरीक्षकबाट प्रशासनको उपसचिव हुँदै अहिले सहसचिव भएका हुन्। आन्तरिक  प्रतिस्पर्धाबाट हालै सहसचिव भएका सापकोटा प्रदेश सचिव बनेर लुम्बिनी प्रदेश गएका छन्।

शिक्षाबाटै प्रशासन सेवातिर फड्किएका रामकृष्ण सुवेदी सचिव भएर अनिवार्य अवकाशमा गइसकेका छन्। विद्यालय निरीक्षक र शिक्षाको उपसचिव हुँदै खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएका सुवेदी ५ वर्ष सचिव चलाएर घर गएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण पौडेल, #दिपक काफ्ले, #नारायणप्रसाद भट्ट, #नारायणप्रसाद भट्टराई, #राजकुमार श्रेष्ठ सचिव, #रामकृष्ण सुवेदी, #रामबन्धु सुवेदी, #विद्यालय निरीक्षक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ