कोटाबाट ‘ह्याट्रिक’ हानेर सहसचिव बनेका सिडिओहरू


काठमाडौं। ‘क’ वर्गको जिल्ला मोरङ र कास्कीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका इन्द्रदेव यादव र रूद्रादेवी शर्मा आरक्षण कोटामा ह्याट्रिक हानेर सहसचिव बनेका हुन्। यादव र शर्मा दुबै सिडिओले कोटा प्रयोग गरेर शाखा अधिकृत, उपसचिव र सहसचिव बन्न सफल भएका थिए। उनीहरूले ‘क’ वर्गको जिल्लाको सिडिओमा समेत ‘ह्याट्रिक’ हानेर रेकर्ड राख्न सफल भएका छन्।

मोरङका सिडिओ इन्द्रदेव यादव शाखा अधिकृत, उपसचिव र सहसचिव नै मधेशी कोटाबाट ‘ह्याट्रिक’ हानेर बनेका हुन्। उनले सिडिओमा पनि उहीँ किसिमको छलाङ हानेका छन्।

२०६५ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टबाट सरकारी सेवामा प्रवेश गरेका यादव ८ वर्षमै शाखा अधिकृत, उपसचिव र सहसचिव बन्न सफल भए। सिरहा जिल्ला बरियारपट्टीका इन्द्रदेव यादव मधेशी कोटाबाट २०६९ सालमा शाखा अधिकृत बनेका हुन्। त्यस्तै २०७५ सालमा मधेशी कोटाबाटै उहसचिव बनेका यादव २०७७ सालमा मधेशी कोटाबाटै सहसचिव बनेको पाइन्छ। आरक्षणलाई भऱ्याङ बनाएर उनले ८ वर्षमै शाखा अधिकृतदेखि सहसचिवसम्म ‘ह्याट्रिक’ हानेका छन्।

सिडिओमा पनि यादवले उहीँ किसिमको छलाङ मारेको देखिन्छ।सुनसरी, चितवन र मोरङमा सिडिओ बनेर यादवले ‘क’ वर्गको जिल्लामा ह्याट्रिक हान्न सफल भएका छन्। रौतहट, सर्लाही, इलामको समेत हिसाब गर्दा उनी सिडिओमै ‘डब्बल ह्याट्रिक’ हान्नेमा पर्छन्।

कास्कीको सिडिओ रुद्रादेवी शर्मा पनि आरक्षणलाई लगातार तीनपटक भऱ्याङ बनाउनेमा पर्छिन्। उनी नेपाल प्रशासन सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिव महिला कोटाबाट बनेकी हुन्। २०६६ सालमा राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत महिला कोटाबाट निजामती सेवामा प्रवेश गरेकी शर्माले लगातार तीनपटक कोटा प्रयोग गरेको पाइएको हो। आरक्षण प्रयोग गरेरै बाग्लुङ पैयुपाटाकी शर्माले १० वर्ष नपुग्दै शाखा अधिकृतबाट सहसचिवसम्मको यात्रा तय गर्न सफल भएकी छिन्।

शर्मा २०७२ सालमा महिला कोटाबाट उपसचिव र २०७५ सालमा उनी महिला कोटाबाटै सहसचिव बनेकी हुन्। रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया, कास्की जस्ता जिल्लाको सिडिओ बन्न सफल शर्मा निजामती सेवाको उपल्लो तहमा लाभ लिने महिलामा पर्छिन्।

आरक्षण (कोटा)मा ह्याट्रिक हानेकी शर्माले ‘क’ वर्गको सिडिओमा समेत ‘ह्याट्रिक’ हानेकी छिन्। शर्मा सिडिओ बनेका जिल्लाहरू भक्तपुर, काभ्रेपलाञ्चोक र कास्की ‘क’ वर्गमा पर्छन्। रामेछाप, गुल्मी र बर्दिया ‘ख’ वर्गका जिल्लामा पर्छन्। आरक्षणमा ‘ह्याट्रिक’ हानेर सहसचिव बनेकी शर्मा सिडिओमा ‘डब्बल ह्याट्रिक’ हान्न सफल भएकी हुन्।

छोटो समयमै शर्माले ६ जिल्लाको सिडिओ चलाइसकेकी छिन्। उनीभन्दा २ वर्षपछि सहसचिव भएका यादवले शर्मालाई समेत उछिनेका छन्। उनीहरू दुबैजना सिडिओ वीरेन्द्रकुमार यादवलाई पछ्याउने क्रममा देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रदेव यादव सहसचिव, #इन्द्रदेव यादव सिडिओ, #कोटा ह्याट्रिक, #रुद्रादेवी शर्मा, #रुद्रादेवी शर्मा सिडिओ, #विरेन्द्रकुमार यादव, #सिडिओ डब्बल ह्याट्रिक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ