सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओहरू तितरबितर

काठमाडौं। सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओहरू तितरबितर भएका छन्। गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओलाई हटाएर सहसचिव सिडिओ खटाइएको छ।
सहसचिवको दरबन्दी रहेको डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने, जुम्लामा उपसचिव रामबहादुर शाही, डोटीको उपसचिव मोहनराज जोशी र बैतडीको उपसचिव दिर्घराज उपाध्याय र सल्यानमा सावित्रा पुन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका थिए। उनीहरूलाई हराएर उक्त जिल्लाहरूमा सहसचिवलाई सिडिओ पठाइएको हो।
डडेल्धुराका सिडिओ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय तानेर गुल्मीका सिडिओ जनार्दन गौतमलाई सिडिओ बनाएर डडेल्धुरा पठाइएको छ। जुम्लाका सिडिओ रामबहादुर शाहीलाई सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाएर केदारनाथ शर्मालाई जुम्लाको सिडिओ बनाएर पठाइएको छ। डोटीका सिडिओ मोहनराज जोशीलाई गृह मन्त्रालय तानेर गृह मन्त्रालयको जगेडामा रहेका बुद्धबहादुर गुरूङलाई डोटीको सिडिओमा पठाएको हो।
बैतडीका सिडिओ दिर्घराज उपाध्यायलाई पनि गृह मन्त्रालय नै तानेर बैतडीमा गोरखाका सिडिओ पुण्यविक्रम पौडेललाई पठाइएको छ। सल्यानको सिडिओ सावित्रा पुनलाई डडेल्धुराको सहायक सिडिओमा पठाएर सल्यानमा नेत्रप्रसाद सुवेदीलाई सिडिओ बनाएर पठाइएको हो। जुम्लाको सिडिओ भएर गएका सहसचिव शर्मा पर्वत, डोटी गएका गुरूङ लम्जुङ्ग, र सल्यानको सिडिओ भएर गएका सुवेदी बाग्लुङ्गको सिडिओबाट फिर्ता भएर गृह मन्त्रालयको जगेडामा ‘घाम तापिरहे’का थिए। उनीहरूलाई सिडिओ खटाएर सहसचिवको कुर्सीमा रजाइँ गर्ने उपसचिव सिडिओहरूलाई तितरबितर पारिएको छ।
गृह मन्त्रालयले उपसचिव चोमेन्द्र न्यौपाने भदौ २४ गते सहसचिवको दरबन्दी भएको डडेल्धुरा सिडिओ खटाएको थियो। जुम्लाको सिडिओ उपसचिव रामबहादुर शाही असोज ९ हाजिर भएका थिए।सहसचिव कै दरबन्दी रहेको डोटीको सिडिओमा उपसचिव मोहनराज जोशी र बैतडीको सिडिओमा उपसचिव दिर्घराज उपाध्याय कार्तिक १२ गते हाजिर भएका थिए। पुस २८ गतेदेखि उपसचिव सावित्रा पुन सल्यानको सिडिओको भूमिकामा छिन्। यी सबै सहसचिवको दरबन्दी भएका जिल्ला हुन्। तर, गृहमन्त्री लेखेक र सचिव दुवाडीले उपसचिवलाई सिडिओ बनाएर सहसचिवलाई मन्त्रालयको जगेडामा राखेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ‘एक्सन’ लिएपछि सहसचिवको दरबन्दीमा मस्ती गर्ने उपसचिव सिडिओलाई हटाएर सहसचिव नै खटाइएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस