कानुनविपरीत गृहजिल्ला मकवानपुरको सिडिओ बनेकी स्किम सञ्चारकर्मीप्रति कठोर


काठमाडौं। कानुनविपरीत गृहजिल्ला मकवानपुर प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी स्किम सञ्चारकर्मीप्रति कठोर बन्न थालेकी छिन्। नेपाल पत्रकार महासंघ, मकवानपुरका अनुसार सिडिओ स्किमले सञ्चारकर्मीलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएकी हुन्।

सिडिओलाई राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाउने निर्धारित कार्यक्रमको समाचार संकलन गर्नका लागि पुगेका सञ्चारकर्मीहरूलाई स्किमले फोटो खिच्न र भिडियो छायांकनमा रोक लगाएको नेपाल पत्रकार महासंघ, मकवानपुरले जनाएको छ। सिडिओ स्किमले कार्यकक्षमा प्रवेश नदिइ फोटो खिच्न र भिडिओ छायांकन गर्न रोक लगाएको नेपाल पत्रकार महासंघ, जिल्ला शाखा मकवानपुरको भनाइ छ। सिडिओ स्किमले प्रेस जगतलाई संकुचन हुने व्यवहार गरेको भन्दै उक्त घटनाको आत्मालोचना गरी आगामी दिनमा यस्ता प्रेस विरोधी गतिविधि नगर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ विपरीत आफ्नै गृह जिल्लाको सिडिओ बनेकी स्किमको सञ्चारकर्मीसँग समेत टसल सुरू भएको छ। कार्यविधिविपरीत गृहजिल्लाको सिडिओ बनाएर पठाइएकी स्किमको सरूवा ‘करेक्सन’ गर्ने गृह मन्त्रालयलाई यो उपयुक्त मौका हुन सक्छ।

सरकारी, ऐलानी तथा पर्ती जग्गा संरक्षण गर्न खोज्दा आफूहरु असुरक्षित भएको मकवानपुरका जनप्रतिनिधिहरूले गुनासो गर्न थालेका छन्। उक्त अभियानमा लागेका हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण गर्नेलाई अहिलेसम्म कारबाही भएको छैन। यसमा सिडिओ स्किम असफल देखिएको भन्दै आलोचन सुरू भएको छ। जिल्ला प्रशासनबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधिहरूको गुनासो सुनिन्छ। सिडिओले उचित कदम चाल्न नसकेको उनीहरूको भनाइ छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #सहसचिव स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ