रञ्जिताले गुठी संस्थानको अध्यक्ष बनाउन खोजेका पाठकलाई बलरामले सदस्य बनाएका थिए

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ विवादमा बलराम अधिकारी र रञ्जिता श्रेष्ठ मुछिएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम र उक्त मन्त्रालयको कमाण्ड सम्हालिसकेकी रञ्जिता राजकुमार गुप्ताको अडिओ प्रकरणमा मुछिएका हुन्।
मन्त्री गुप्ताको दाबी गरिएको अडिओ प्रकरणमा बलरामको नाम लिइएको छ। प्रमुख मालपोत अधिकृतको सरूवा र भूमि आयोगको अध्यक्ष नियुक्तिको विषयमा भइरहेको ‘घूस बार्गेनिङ’मा बिचौलियासँगै मुख मिलाउने महिला रञ्जिता रहेको पाइएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिताले भूमिको काममा बिचौलियासँग मिलेर संघीय मामिलामन्त्री राजकुमार गुप्तासँग भेट्न जानु आफैमा शंकास्पद छ। राजकुमार गुप्तासँग भूमि मन्त्रालयको काममा ‘घूस बार्गेनिङ’ गर्दा रञ्जिता उपस्थित हुनुले उनी भूमिमन्त्री हुँदा नियुक्ति र सरूवामा के सम्म गरिनन् होला यो खोजेको विषय बनेको छ।
भूमिमन्त्री बलराम अधिकारीले गुठी संस्थानको सञ्चालक समिति सदस्य बनाएका दिपकराज पाठकलाई रञ्जिताले गुठी संस्थानको अध्यक्ष बनाउन ठिक्क पारेकी थिइन्। डिल्लीबजार कारागारबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हस्तक्षेप गरेपछि पाठक गुठी संस्थानको अध्यक्ष हुन पाएनन्। तर, रञ्जिता हटेर बलराम आएपछि उनै पाठक गुठी संस्थानको सञ्चालक समिति सदस्य बन्न सफल भएका छन्। गुठीसँग स्वार्थ बाझिने व्यक्ति पाठकलाई गुठी संस्थानको सदस्य बनाएको कुरा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। पाठकलगायतलाई गुठी संस्थानको सदस्यको हैसियतमा काम गर्न सर्वोच्च अदालतले रोक समेत लगाएको छ। रञ्जिता निकट पाठकलाई बलरामले कसरी गुठी संस्थानको सदस्य बनाए रहस्यको विषय बनेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस