जोखिम समुदायका लागि कानुनी पहुँचमा पुल: ‘सामुदायिक वकिल’ तयार

काठमाडौं । जोखिममा रहेका समुदायको हकहित र कानुनी पहुँच सुनिश्चित गर्न ५ दिने पारालिगल (कानुनी सहायक) तालिम सम्पन्न भएको छ।
रिकभरिङ नेपालद्वारा आयोजित तालिममा सातवटै प्रदेशबाट आएका २६ जना युवाहरूले सहभागिता जनाए। सहभागीहरू जोखिम समुदायसँग प्रत्यक्ष काम गर्ने व्यक्ति थिए — जसमा लागूपदार्थ प्रयोगकर्ता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एचआइभी प्रभावित समुदायलगायतका व्यक्ति समावेश थिए।
तालिमको उद्देश्य उनीहरूलाई ‘सामुदायिक वकिल’ को रूपमा तयार पार्नु थियो, जसले आ–आफ्नो समुदायमा कानुनी समस्यामा परेकाहरूसँग सहजीकरण गर्ने, आवश्यक वकिल तथा सेवा प्रदायकसम्म जोड्ने, र सूचना प्रवाहमा सहयोग गर्ने भूमिका खेल्न सकून्।
कानुनी अज्ञानता र पहुँचको अभावले थप संकट
कार्यक्रममा सहभागीहरूले स-साना गल्तीमा पनि सम्झाउनेभन्दा दण्डित गर्ने, डर देखाउने र अपमान गर्ने प्रवृत्ति भएको गुनासो गरे।
कानुनी अधिकारबारे जानकारी नहुनु, नागरिकताको अभाव, कानुनी सल्लाह र संस्थागत सहयोग नपाइँदा आफूहरू अझ जोखिममा परेको उनीहरूको भनाइ थियो।
रोजगारी गुम्ने, स्वास्थ्य र शिक्षामा पहुँच नहुने
कतिपय सहभागीहरूले संवेदनशील जानकारी बाहिरिएपछि रोजगारी गुम्ने, नयाँ काम नपाउने, र स्वास्थ्य सेवा लिनसमेत अप्ठेरो पर्ने अनुभव सुनाए।
“सामाजिक डर र कानुनी जटिलताका कारण आफ्नो अवस्था लुकाउन बाध्य छौं”, एक सहभागीले भने।
कानुनी सहजता : समुदायमै सहजीकरणकर्ता
रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले भने, “यो तालिमको मूल उद्देश्य भनेको जोखिममा रहेका समुदायहरूका व्यक्तिहरूलाई आफैंले कानुनी सहयोग दिन होइन, तर कानुनी समस्यामा परेकालाई सम्बन्धित वकिल वा निकायसँग सहजीकरण गर्न सक्ने योग्य बनाउनु हो।”
उनका अनुसार तालिमबाट तयार भएका सामुदायिक वकिलहरूले आ–आफ्नो क्षेत्रमा कानुनी सहायता आवश्यक परेकाहरूलाई उपयुक्त वकिल, संस्था वा सेवा प्रदायकसम्म पहुँच पुर्याउने कार्यमा सहजीकरण गर्नेछन्।
‘युनिफाइड कमाण्ड’को रूपमा अगाडि बढ्न आग्रह
रिकभरिङ नेपालका महासचिव उज्ज्वल कर्मचार्यले तालिम उपलब्धिमूलक भएको भन्दै सहभागीहरूलाई अब सामुदायिक नेतृत्वकर्ताका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।
“हिजो हामी आ–आफ्नो टोकरीमा बसेर काम गर्थ्यौं, अब समुदायमै कमाण्डरका रूपमा उभिनुपर्ने बेला आएको छ,” उनले भने, “तपाईंहरू अब युनिफाइड कमाण्डको रूपमा खडा हुनु भएको छ, यसलाई सदुपयोग गरेर काम गर्नुहोस्।”
कानुनी सेवा र प्रोबोनो सेवा के हो?
कानुनी सेवा भन्नाले वकिल, अधिवक्ता वा कानुन व्यवसायीहरूले आर्थिक रूपमा कमजोर, उत्पीडित, वा पहुँचविहीन व्यक्तिहरूलाई निःशुल्क वा सस्तो शुल्कमा दिने कानुनी सेवा हो।
यसैको एक रूप प्रोबोनो सेवा हो, जसले कानुनी सहायता आवश्यक पर्ने तर खर्च गर्न नसक्ने व्यक्तिहरूलाई न्यायमा समान पहुँच सुनिश्चित गराउने काम गर्छ।
सामुदायिक वकिलहरूले स्वयं सेवा दिने होइन, तर यस्तो सेवा दिने वकिल, संस्था वा निकायहरूसँग प्रभावकारी सहजीकरण गर्ने पुलको भूमिका खेल्नेछन्।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस