कालीबाबाको महायज्ञमा सहभागी हुन भारतीय मन्त्री सोनोवाल पशुपतिमा

काठमाडौं। कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारत सरकार, केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवाल काठमाडौं उत्रिएका छन्। व्यस्त समयका बाबजुद कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएका हुन्।
मन्त्री सोनोवाल शुक्रबार साढे ९ काठमाडौं उत्रिएर पशुपति क्षेत्र आइपुगेको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए। नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल शुक्रबार एकाबिहानै काठमाडौं उत्रिएका हुन्। उनी आजै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको गौतमले बताए। मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्।
श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा)को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ। दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ। उक्त महायज्ञमा सहभागी हुन भारतीय प्रभावशाली मन्त्री सोनोवल काठमाडौं उत्रिएका हुन्।
भारतीय मन्त्री सोनोवालले पशुपतिनाथ मन्दिरको दर्शन गरेर भुवनेश्वरीमा वृक्षारोपण समेत गरेका छन्।
के हो दशमहाविद्या रुद्रहवन महायज्ञ?
श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ। खुर्सानी हवनका नामले समेत चर्तित रहको उक्त महायज्ञ सुरू भएको बुधबार ८ दिन भएको छ। हंसमण्डपको मुख्य पण्डालमा भइरहेको उक्त महायज्ञमा सृष्टिको आदिशक्ति स्वरूप १० महाशक्तिहरू काली, तारा, त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमलाको आह्वानसहित वैदिक-तान्त्रिक विधिद्वारा पूजा-साधना भइरहेको छ। रूद्रहवन:- रूद्ररूप शिवको श्रीरूद्रम्, चामकम् र महामृत्युन्जय मन्त्रको अग्निमार्फत् सहश्र आहुतिसहित आह्वान हो। उक्त महायज्ञलाई नेपालमै दुर्लभ मानिएको छ। सोही महायज्ञमा सरिक हुन भारतीय प्रभावशाली मन्त्री नेपाल आएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस