बालाजुस्थित गुरु नानक मठको सरसफाई, जीवित भू-समाधि लिने को-को थिए?


काठमाडौं । काठमाडौँको बालाजुमा रहेको गुरु नानक मठको सरसफाई गरिएको छ। आज आइतबार उप्रेती समाजसेवा समितिको संयोजनमा ऐतिहासिक र धार्मिक महत्व बोकेको उक्त माताको सरसफाई गरिएको हो।

उक्त मठमा आज भन्दा ४१८ वर्ष अगाडि विक्रम सम्वत् १६६४ मा तीन जना महायोगीले जीवित भू-समाधि लिएको ईतिहास छ। एकै दिन तीनजना योगीले समाधि लिएको दुर्लभ संयोग सोही स्थानमा भएकोले पनि उक्त मठको महत्त्व बढेको छ।

तीन जना महायोगी मध्येका गोथलराम दास उदासीन महाराजले पनि समाधि लिएको अभिलेखमा उल्लेख छ। गोथलराम दासजी उदासीन महाराज उप्रेती वंशमा जन्मिएकाले पनि उप्रेती समाजसेवा समितिले सो स्थानको सरसफाई अभियान संचालन गरेको समितिका अध्यक्ष सोभित उप्रेतीले बताए। सरसफाई कार्यक्रममा कलाकार, पत्रकार, प्रहरी सहित स्थानीयको समेत सहभागिता थियो। गोथलराम दासजी उदासीन महाराज भारतको हिमाञ्चल प्रदेश चम्बामा रहेको चर्चित उदासीन मठका महन्थ तपस्वी धुनिदास उदासीनका चेला थिए।

जीवित भू-समाधि लिने को-को थिए?

महायोगी श्री ब्रम्हहरि दास उदासीन महाराजको जन्म वि.स. १४३२ बैशाख पूर्णिमाका दिन पूर्वी नेपालको सोलुखुम्बुमा भएको मानिएको छ। कतिपयले उनको जन्म भोजपुरमा भएको दाबी गरेका छन्। उनले वि.स.१६६४ मा २३२ वर्षको उमेरमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ। उनले आफूसहित आफ्ना अन्य दुई जना शिष्यलाई पनि सँगै जीवित समाधिमा सहभागी गराएका थिए। ब्रह्महरि दास उदासीन स्वयं गुरू नानक देवका जेष्ठ पुत्र श्री श्री १००८ उदासीन सम्प्रदायको पनर्जागरणका प्रथम आचार्य श्री चन्द्र भगवान कै शिष्य थिए।

उनी संगै जीवित समाधि लिनेमा महायोगी श्री यथिराम दास उदासीन महाराज र महायोगी श्री गोथलराम दास उदासीन महाराज पनि थिए। महायोगी श्री यथिराम दासजी महाराजको जन्म वि.स. १५११ को शिवरात्रीका दिन भएको थियो। उनलाई केहीले कुइँकेल वंशमा र केहीले निरौला वंशमा जन्म भएको दाबी गर्ने गरेका छन्। उनका बुबाको नाम चाँही मनोरथ उपाध्याय भएको अभिलेखमा उल्लेख छ। जीवित समाधि लिँदा उनी १५३ वर्षको भएको दाबी गरिएको छ। यथिराम दास उदासीन नेपालको पूर्वी क्षेत्र (हाल रामधुनीमा) तपस्या गरेको प्रमाण श्री पञ्चायती अखडा बडा उदासीनमा अभिलेख रहेको छ। उनले उदासीन साधु कै रूपमा तपस्या गरेका थिए।

जीवित समाधि लिने अर्का सिद्ध पुरूष महायोगी श्री गोथलराम दासजी महाराजको जन्म चाँही उप्रेती कुलमा भएको थियो। उनको जन्म वि.स. १५१७ को जनै पूर्णिमामा भएको थियो। उनले १४७ वर्षको उमेरमा जीवित समाधि लिएका थिए। तीनै जना महायोगीहरुले वि.स. १६६४ मा एकैदिन काठमाडौंको बालाजुमा हालको गुरू नानक मठमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ।

उक्त प्रख्यात गुरू नानक मठलाई केही व्यक्तिहरू गुरू नानक देवको पहिचान मेटेर सिद्धाश्रम उदासीन मठ नामकरण तल्लिन छन्। गुरू नानक देव मठमा उदासीन सम्प्रदायको व्यक्ति बस्नु पर्ने मठमा उदासीन परम्पराको पालना गरी बैष्णव सम्प्रदायमा रूपान्तरण गर्न गर्न सक्रिय देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गुरू नानक देव मठको पहिचान मेट्न बैष्णव सम्प्रदायका अनुयायी सक्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ