कमजोर कमाण्ड भएका कैलालीका सिडिओ हमाल गृह मन्त्रालय तानिए 


काठमाडौं। कमजोर कमाण्ड भएका कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनकुमार हमाल गृह मन्त्रालय तानिएका छन्। दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई कैलाली पठाउँदै हमाललाई गृह मन्त्रालय तानिएको हो। जहाँ गयो त्यहीँ लफडामा पर्दै आएका सिडिओ हमाल मन्त्रालय तानिएका हुन्।

हमालले कैलालीको सिडिओ सम्हाले कै बेला कैलाली कारागारभित्र कैदीबन्दीबिच झडप भएको छ। सिडिओ हमालले ‘मिलाए अब समस्या आउँदैन’ भनेकै मध्यराति कारागारमा हिंसात्मक झडप हुँदा एकजना कैदीबन्दी भरत चौधरीको मृत्यु भयो। यसले उनको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठेको थियो। सुरक्षा व्यवस्था फितलो हुँदा कैलाली कारागारमा अप्रिय घटना घटेको पाइन्छ। कैदीबन्दीले कारागार नियन्त्रण लिँदा सिडिओ हमालको टोली भित्र समेत पस्न नपाउने लाजमर्दो अवस्थामा कैलालीमा देखियो। त्यसपछि गृह मन्त्रालयले हमाललाई सिडिओको जिम्मेवारीबाट हटाएको हो।

यीनै हमाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत हुँदा प्रहरी र कर्मचारीबीच हात हालाहाल भएको थियो। प्रहरीले हमाललाई ‘कुटेको’ विषयले त्यो बेला निकै चर्चा पाएको थियो। तर, छानबिन समितिसँग बयान दिँदा भने हमालले ‘छोएछोए जस्तो लाग्छ’ भनेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको कमाण्ड सम्हाल्न नसकेका हमाललाई कैलाली सिडिओ बनाएर पठाउँदा त्यहाँ पनि त्यस्तै अवस्था आएको गृहका अधिकारीहरू बताउँछन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि ट हमाल एम्बुलेन्स खरिद विवादमा मुछिए। कमिसनको चक्करमा ठूलो संख्यामा एम्बुलेन्स खरिद गरेपछि उनी त्यहाँ पनि विवादित बनेका थिए।

हमाल यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा पनि नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको विवादमा मुछिएका थिए। यद्यपि इम्बोस्डको उजुरी अख्तियारले तामेलीमा राखेको छ। उनी जहाँ गयो त्यहाँ विवादमा पर्छन्। त्यहिँ पनि राज्यले उनै हमाललाई खोजीखोजी महत्त्वपूर्ण जिम्मेवारी दिँदै आएको देखिन्छ।

मेकानिकल इन्जिनियर हमाल पिछडिएको क्षेत्रबाट उपसचिव भएका थिए। उपसचिव भएको एक वर्षमै उनी खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव बन्न सफल भएका थिए। तर, प्रशासन चलाउन भने उनी असफल देखिएका छन्।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ