भोजपुरका सिडिओ पन्थी डेढ महिनामै गृह मन्त्रालय तानिए, रिजाल बने काठमाडौंको सिडिओ

काठमाडौं। भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेश पन्थी डेढ महिनामै गृह मन्त्रालय तानिएका छन्। २०८२ असार ११ गते भोजपुरको सिडिओमा हाजिर भए पन्थी डेढ महिनामै गृह मन्त्रालय ल्याइएका हुन्। उनलाई डेढ महिनामै गृह मन्त्रालय तानेर नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी दिने निर्णय भएको छ।भोजपुरको सिडिओमा भने हालै गृह प्रवेश गरेका बाबुराम गौतमलाई पठाइएको हो।
७ महिनामै काठमाडौंको सिडिओ पनि फेरिएको छ। २०८१ पुष २४ गते काठमाडौंको सिडिओ भएर गएका ऋषिराम तिवारी ७ महिनामै गृह मन्त्रालय फिर्ता भएका छन्। काठमाडौंको सिडिओमा भने गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छबिलाल रिजाल गएका हुन्। तिवारी गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बन्ने भएका छन्। काठमाडौंको सिडिओ हुँदै उक्त महाशाखा पुगेका जयनारायण आचार्य भने प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाउन सफल भएका हुन्।
२०८१ आश्विन १४ गते धादिङको सिडिओमा हाजिर भएका सुमन घिमिरे १० महिनापछि ललितपुरको सिडिओ भएर आएका छन्। भक्तपुरको सिडिओमा भने हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह प्रवेश गरेर नमराज घिमिरेले बाजी मारेका हुन्।
२०८१ कार्तिक १४ गते भोला दाहाल सप्तरीको सिडिओमा हाजिर भएका थिए। दाहालको ९ महिनामै दोलाखाको सिडिओमा सरूवा भएको छ। टुवराज पोखरेल पनि कार्तिक १४ गते नै धनकुटाको सिडिओमा हाजिर भएका थिए। उनी पनि ९ महिना सप्तरीको सिडिओ भएर गएका छन्। २०८१ कार्तिक २१ गते दोलाखाको सिडिओमा हाजिर भएका शिवराम गेलाल ९ महिनामै धनकुटाको सिडिओमा पुगेका छन्। यसअघिका सिडिओ टुवराज पोखरेलको पनि दोलखाबाट धनकुटा सरूवा भएको थियो।
२०८१ कार्तिक २२ गते जाजरकोटको सिडिओमा हाजिर भएका मेखबहादुर मंग्राती ओखलढुंगाको सिडिओ भएर गएका छन्। २०८१ फाल्गुन २५ हाजिर भएका ओखलढुंगाका सिडिओ विजयराज सुवेदी ५ महिनामै सरूवा भएर धादिङको सिडिओमा पुगेका हुन्। २०८१ कार्तिक ८ मा चितवनको सिडिओमा हाजिर भएका प्रकाश पौडेल ९ महिना पूरा भएपछि बाराको सिडिओमा सरूवा भएका छन्। बाराका सिडिओ बसन्त अधिकारी पनि ९ महिना पूरा भएपछि सिराहाको सिडिओमा सरूवा भएका हुन्।
२०८१ फाल्गुन २३ संखुवासभाको सिडिओमा हाजिर भएका सहसचिव दिव्यराज पोखरेल ५ महिनामै राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका तथा व्यवस्थापन प्राधिकरणमा आएका छन्। संखुवासभाको सिडिओमा भने हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट गृह मन्त्रालय पुगेकी सिर्जना थपलियाको सरूवा भएको छ।
२०८१ कार्तिक १२ गते पाल्पाको सिडिओमा हाजिर भएका तोयनारायण सुवेदी पर्साको सिडिओ भएर गएका छन्। कार्तिक १२ गते ( सोही दिन) पर्साको सिडिओमा हाजिर भएका गणेश अर्याल भने ९ महिनामै गृह मन्त्रालयको जगेडामा तानिएका छन्। २०८१ चैत्र १० गते सिराहाको सिडिओमा हाजिर भएका विश्व प्रकाश अर्याल ४ महिनामै दाङको सिडिओमा सरूवा भएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस