सिडिओ सरूवाको कार्यविधिविपरीत नमराज घिमिरेलाई भक्तपुरको सिडिओ बनाइयो


काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिविपरीत नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएको पाइएको छ। गृहले बनाएको कार्यविधिमा एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने उल्लेख छ। त्यसविपरीत घिमिरेलाई गृह मन्त्रालय छिर्नेबित्तिकै ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बनाएर पठाइएको हो।

यातायात व्यवस्था विभाग, सहकारी विभाग जस्ता चर्चित निकायमा बसेर आएका घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै हालै गृह मन्त्रालय छिरेका थिए। गृह छिर्नेबित्तिकै उनी ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बन्न सफल भएका छन्। यसले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले कानुन र सुशासनको धज्जी उडाएको टिप्पणी हुन थालेको छ।

घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा सहकारी ठगीका आरोपी जीवी राई देश छाडेर भागेका थिए। सहकारी विभागका तत्कालीन रजिष्ट्रार घिमिरेले आफ्नो एकल निर्णयले रोक्का राखेको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्न अध्यागमन विभागमा लेखी पठाएका थिए। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले त्यो विषयमा उनीसँग बयान दिएका थिए। त्यसलगत्तै जीवी राई देश छाडेर फरार भएका थिए। उनै छिमिरेलाई गृहमन्त्री लेखक र सचिव दुवाडीले सीधै ‘क’ वर्गका राखिएको भक्तपुरको सिडिओ बनाएर पठाएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #नमराज घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ