जीवी राईलाई ‘भगाएबापत’ भक्तपुरको सिडिओ बनाइएका नमराज घिमिरेले सम्हाले कमाण्ड

काठमाडौं। सहकारी ठगीका मुख्य योजनाकार गितेन्द्रबाबु (जीवी)राईलाई देश छाडेर भाग्न सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरेको ठूलो भूमिका रहेको पाइन्छ। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले नै उक्त कुरा प्रतिवेदन समेटेको छ। जीवी राईको रोक्का राखेको राहादानी ‘पासपोर्ट’ फुकुवा नगरेर विदेश भाग्न सहजिकरण नगर्दिएको भए उनी अहिले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँगै ‘जेल’मा हुने थिए। उक्त जेलमा बस्नु पर्ने राईलाई नेपाल छाड्न सहज बनाइदिने सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरेले भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कमाण्ड सम्हालेका छन्। गृह मन्त्रालयका उच्च अधिकारीहरू नै जीवी राईलाई ‘भगाएबापत’ भक्तपुरको सिडिओ उपहार पाएको टिप्पणी गर्छन्।
सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरे र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी मिलेर गीतेन्द्रबाबु (जीवी) राईलाई विदेश ‘भगाएको’ सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उजागर गरेको छ।
सहकारी विभाग कै सिफारिसमा रोक्का राखिएको जीवी राईको पासफोर्ट र यात्रा अनुमति फुकुवा गरेर उनलाई विदेश भाग्न सहयोग गरेको समितिको प्रतिवेदनले औंल्याएको छ। सहकारी विभागका तत्कालीन रजिष्ट्रार घिमिरेले आफ्नो एकल निर्णयले रोक्का राखेको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्न अध्यागमन विभागमा लेखी पठाएको बयान दिएका छन्। हाम्रो नयाँ कृषि बहुउद्देश्यीय सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता गरेकाले पासपोर्ट रोक्का फुकुवा गरिदिएको उनको दाबी छ। रोक्का राखेको ८ दिनभित्रै जीवी राईको पासपोर्ट फुक्का गर्न घिमिरेले अध्यागमन विभागमा लेखी पठाएका थिए।
अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले पनि सहकारी विभागको पत्रका आधारमा जीवी राईको पासपोर्ट र यात्रा अनुमति फुकुवा गरिदिएको बयान दिएका छन्। अधिकारीले कुनै छानबिन नगरी सहजै राईको पासपोर्ट फुकुवा गरिदिएकाले उनी विदेश भाग्न सफल भएको पाइन्छ। अधिकारी सहकारी विभागको रजिष्ट्रार समेत भएकाले अध्यागमन विभागले रोक्का राखिएको राईको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्नुलाई सामान्य रूपमा लिन सकिन्न।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार जीवी राईलाई भगाउनुमा मुख्य जिम्मेवारी रहेका घिमिरेलाई गृह मन्त्रालयले ‘क’ वर्गको जिल्ला भक्तपुरमा सिडिओ बनाएर पठाएको हो। काठमाडौंस्थित हाम्रो नयाँ कृषि सहकारीका समेत अध्यक्ष रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी २०८० असार २० मा रोक्का गरिएकामा असार २८ मा फुकुवा गरिएको थियो। त्यसलगत्तै जीवी राई नेपाल छाडेर भाग्न सफल भएका थिए।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिविपरीत घिमिरेलाई भक्तपुरको सिडिओ बनाएको पाइएको छ। गृहले बनाएको कार्यविधिमा एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने उल्लेख छ। त्यसविपरीत घिमिरेलाई गृह मन्त्रालय छिर्नेबित्तिकै ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बनाएर पठाइएको हो। सिडिओको अनुभव नै नभएका उनलाई उपत्यकामै व्यवस्थापन गर्दा गृह प्रशासनमाथि गम्भीर प्रश्न खडा भएको छ।
यातायात व्यवस्था विभाग, सहकारी विभाग जस्ता चर्चित निकायमा बसेर आएका घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै हालै गृह मन्त्रालय छिरेका थिए। गृह छिर्नेबित्तिकै उनी ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बन्न सफल भएका छन्। यसले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले कानुन र सुशासनको धज्जी उडाएको टिप्पणी हुन थालेको छ। गृह प्रवेश गर्नेबित्तिकै घिमिरेलाई भक्तपुरको सिडिओ बनाएर पठाएपछि जीवी राईको राहदानी फुकुवा गरेको प्रसंग फेरि सतहमा आएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस