परिवार अमेरिकामा ‘सेटल’ गराएका ढुण्डीप्रसाद निरौला अन्ततः उतै उडे

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै अवकाशप्राप्त सहसचिव ढुण्डीप्रसाद निरौला अमेरिका उडेका छन्। सरकारी सेवामा हुँदै श्रीमती र छोरालाई अमेरिकामा सेटल गराएका निरौला अन्ततः उतै उडेका छन्।
गत साउन ६ गते ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा गएका निरौला अमेरिका पलायन भएका छन्। स्वास्थ्य लाइभले यसअघि नै निरौलाले परिवार अमेरिकामा ‘सेटल’ गराएको र जागिर छाडेपछि उतै पलायन हुने समाचार सार्वजनिक गरेको थियो। त्यो समाचारलाई पुष्टि गर्ने गरी उनी अमेरिका उडेका हुन्।
ढुण्डीका श्रीमती कविता दाहाल (निरौला) र छोरा अपिल निरौला अमेरिकामा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। नेपालमा आर्जन गरेको जुनसुकै प्रकृतिको सम्पत्ति अमेरिकामै व्यवस्थापन गर्न सक्ने हैसियत बनाएका ढुण्डीलाई सरकारले भन्सार विभाग जस्तो संवेदनशील निकायको महानिर्देशक बनाएको थियो। परिवार विदेशमा सेटल गराएका कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा राज्यलाई ठूलो क्षति पुग्ने अवस्था देखिन्छ ढुण्डीको ‘केस’बाट पनि त्यो कुरा प्रस्ट भएको छ।
२०२४ साल साउन ७ गते तेह्रथुम जिल्लामा जन्मिएका ढुण्डी काठमाडौंको गौरीघाटस्थित निजी निवासमा बस्दै आएका थिए। परिवारलाई अमेरिका राखेर भन्सार, राजस्वमा तर मार्दै आएका ढुण्डी अवकाशलगत्तै अमेरिका उडेका हुन्।
कर्मचारी वृत्तमा चतुर खेलाडी मानिने निरौला इलाका हुलाक कार्यालय, इनरुवामा सहायक लेखापालबाट जागिर सुरु गरेका हुन् । त्यसपछि उनले प्रशासनको नायब सुब्बामा नाम निकालेर अध्यागमनमा डेरा जमाए। प्रशासनकाे शाखा अधिकृतमा नाम निकालेपछि उनी मालपोते कर्मचारी बनेर आर्थिक समृद्धि हासिल गरेको चर्चा छ। लेखाको उपसचिव बनेपछि ढुण्डी कोलेनिका जनकपुर, आयोजना निर्देशनालय (एडीबी सडक) जस्ता निकायमा बसेर मस्ती मारे। २०७४ माघमा प्रशासनको सहसचिव बनेका उनी वीरगञ्ज भन्सार कार्यालयका हाकिम, ललितपुरको प्रमुख जिल्ला अधिकारी, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक हुँदै भन्सार विभागको महानिर्देशक बन्न सफल भए।
माओवादी सत्ताका तरमारा सहसचिव भएर निस्किएका सहसचिव ढुण्डी जागिरको उत्तरार्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या महाशाखा प्रमुख बनेर बसे। त्यहिँबाट अवकाशमा गएका उनी देश छाडेर अमेरिका उडेका हुन्।
ट्याग : #ढुण्डीप्रसाद निरौला, #ढुण्डीप्रसाद निरौला अमेरिका उडे
तपाईको प्रतिक्रिया दिनुहोस