मोरङका इन्द्रदेव सातौं जिल्लाको सिडिओ बन्दा उनलाई पछ्याइरहेका सुनसरीका धर्मेन्द्र
काठमाडौं। गृह मन्त्रालयले हालै सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवाको सूचीमा मोरङका इन्द्रदेव यादव र सुनसरीका धर्मेन्द्रकुमार मिश्रको पनि नाम छ। मोरङका सिडिओ इन्द्रदेव महोत्तरीको सिडिओमा सरूवा भएका छन् भने सुनसरीका सिडिओ धर्मेन्द्र बारा पुगेका हुन्। दुबै सिडिओ कोशी प्रदेशबाट मधेश प्रदेश पुगेका छन्। मोरङ र सुनसरी जोडिएका जिल्ला हुन् भने महोत्तरी र बारालाई सर्लाही र रौतहटले छुट्याएको छ।
‘क’ वर्गको जिल्लाको सिडिओमा ‘ह्याट्रिक’ हानेर मोरङ पुगेका इन्द्रदेव महोत्तरी पुगेका हुन्। त्यसअघि उनी ‘क’ वर्ग कै जिल्ला चितवन र सुनसरीको सिडिओ भइसकेका सहसचिव हुन्। रौतहट, सर्लाही, इलामको समेत सिडिओ भइसकेका इन्द्रदेव अहिले सातौं जिल्लाको कमाण्ड सम्हाल्न मोरङबाट महोत्तरी पुगेका हुन्। उनले १३ वटा जिल्लाको सिडिओ चलाइसकेमा वीरेन्द्रकुमार यादवलाई उछिन्ने सम्भावना बढेको छ।
२०६५ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टबाट सरकारी सेवामा प्रवेश गरेका यादव ८ वर्षमै शाखा अधिकृत, उपसचिव र सहसचिव बन्न सफल भए। सिरहा जिल्ला बरियारपट्टीका इन्द्रदेव यादव मधेशी कोटाबाट २०६९ सालमा शाखा अधिकृत बनेका हुन्। त्यस्तै २०७५ सालमा मधेशी कोटाबाटै उहसचिव बनेका यादव २०७७ सालमा मधेशी कोटाबाटै सहसचिव बनेको पाइन्छ।
राजस्वमा रजाइँ गरेर आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव बनेका धर्मेन्द्रकुमार मिश्र पनि लगातर प्रमुख जिल्ला अधिकारी (सिडिओ) खानेमा दर्ज भएका छन्।
मधेशी कोटाबाट राजस्वको उपसचिव बनेका मिश्र आन्तरिक प्रतिस्पर्धामार्फत २०७७ असारमा सहसचिवमा फड्को मारेका थिए। सहसचिव भएपछि लगातर सिडिओ बन्नेमा मिश्र देखा परेका हुन्। मिश्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलाली, सुनसरी हुँदै हाल बाराको सिडिओ बन्न सफल भएका छन्। ‘क’ वर्ग जिल्लाको चितवनको सिडिओबाट ‘क’ वर्ग कै मोरङ पुगेका इन्द्रदेव जस्तै धर्मेन्द्र पनि ‘क’ वर्गको जिल्ला कैलालीबाट ‘क’ वर्गको जिल्ला सुनसरीको सिडिओमा फड्को मारेका थिए। अहिले इन्द्रदेव र धर्मेन्द्र ‘ख’ वर्गको जिल्लामा खटाइएका छन्।
उपसचिव हुँदा ९ वर्ष राजस्व प्रशासनमा रजगज गरेका सप्तरीका मिश्र सहसचिव भएपछि लगातार सिडिओ बनेर ‘रेकर्ड’ कायम गर्न अग्रसर छन्। २०७८ वैशाख ३ गतेदेखि फागुन ३ गतेसम्म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ चलाएका मिश्र त्यसपछि कपिलवस्तु पुगेका थिए। २०७८ चैत १८ मा कपिलवस्तुमा हाजिर भएका उनी करिब १० महिना सिडिओ चलाएपछि रौतहट पुगे। २०७९ माघ १० गते रौतहटमा हाजिर भएका सिडिओ मिश्र २०८० पुस ३ सम्म बसे। रौतहटबाट पुस ४ कैलाली पुगेका मिश्र १ वर्ष बढी कैलालीको सिडिओ चलाएर सुनसरी पुगेका थिए। २०८१ पुस २६ गते सुनसरीको सिडिओमा हाजिर भएका उनी १० महिना बसेर बारा पुगेका छन्।
क्याटेगोरी : समाचारट्याग : #इन्द्रदेव यादव सिडिओ, #धर्मेन्द्रकुमार मिश्र


तपाईको प्रतिक्रिया दिनुहोस