शक्तिशाली सहसचिव बासुदेव घिमिरे: ‘क’ वर्गको जिल्लामा ‘ह्याट्रिक’ हानेर बने सुनसरीको सिडिओ
समाचार टिप्पणी
काठमाडौं। गृह मन्त्रालयले पूर्वी तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीको सिडिओ चलाएको छ। झापाका सिडिओ गोपालकुमार अधिकारी काभ्रेपलाञ्चोक, मोरङका सिडिओ इन्द्रदेव यादव महोत्तरी र सुनसरीका सिडिओ धर्मेन्द्रकुमार मिश्र बारा पुगेका छन्। सिडिओ सरूवाको हिसाबले ‘क’ वर्गको जिल्लामा पर्ने पूर्वी तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी सहसचिवका लागि आकर्षक मानिन्छन्।
त्यस्तै झापामा धनकुटाका सिडिओ शिवलाल गेलाल, मोरङमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल र सुनसरीमा गृह मन्त्रालयको जगेडामा रहेका बासुदेव घिमिरे सिडिओ बनाइएका छन्। गृह मन्त्रालयले गेलाललाई झापा र कट्टेललाई मोरङको सिडिओ बनाउँदा सिडिओ सरूवासम्बन्धी कार्यविधि पालना गरेको छ। तर, सुनसरीको सिडिओमा संखुवासभाली बासुदेव घिमिरेलाई पठाउँदा कार्यविधिलाई ‘डस्बिन’मा मिल्काइदिएको हो। यसले विधिको शासन र सुशासनलाई ठाडो चुनौती दिएको छ। ओमप्रकाश अर्याल गृहमन्त्री हुँदा यतिसम्म नहुने पर्ने हो भन्ने धेरैको अपेक्षा थियो। तर उनको पालामै बासुदेव घिमिरेले ‘क’ वर्गको जिल्लाको सिडिओमा ‘ह्याट्रिक’ हान्न सफल भएका छन्।
अहिले लेखा समूहमा ६० साले लेखा अधिकृतहरूको जगजगी छ। ६० साले लेखा अधिकृत घिमिरेले प्रशासनमा छिरेर सहसचिव भएको छोटो समयमै ‘क’ वर्गका जिल्लाको सिडिओमा ह्याट्रिक हान्न सफल भएका छन्। त्यो पनि सुशासनको हिमायती ठानिएका ओमप्रकाश अर्यालले गृह मन्त्रालयको कमाण्ड सम्हाल्दा। लेखा अधिकृत भएपछि पहिलो पोष्टिङ नै कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीमा हुन सफल घिमिरे सिडिओको ‘पोष्टिङ’मा फेरि सुनसरी पुगेका हुन्।
बालकृष्ण खाँणका विश्वासपात्र भएकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत बनेका घिमिरे त्यसपछि कास्कीको सिडिओ बनेका थिए। कास्की जिल्ला ‘क’ वर्गको सिडिओका लागि पनि ‘टप-टेन’ जिल्लामा पर्छ। त्यसपछि गृहको जगेडामा सरूवा भएर अमेरिका घुम्न गएका घिमिरे फर्किएलगत्तै त्योभन्दा आकर्षक जिल्ला रूपन्देहीको सिडिओ बने। खाँणको नक्कली भुटानी शरणार्थीसम्बन्धी बेरितको आदेश बदर गर्न सर्वोच्च अदालतमा नजाने निर्णय गर्दा घिमिरेले रूपन्देहीको सिडिओ ‘उपहार’ मिलेको चर्चा सेलाउन पाएको छैन। प्रशासनिक हिसाबले काठमाडौं र मोरङपछि आकर्षक मानिने रुपन्देही आर्थिक गतिविधिका हिसाबले भने सिडिओका लागि १ नम्बर जिल्लामै पर्ने गर्छ। रुपन्देहीको सिडिओमा ९ महिना बसेर फेरि गृहको जगेडामा गौडा ढुकेर बसेका घिमिरेले फेरि ‘क’ वर्गको पनि ‘टप-टेन’ जिल्लाभित्रै पर्ने सुनसरीको सिडिओमा बाजी मार्न सफल भएका छन्। यसले देशको शासन व्यवस्था कसरी चल्छ भनेर बुझ्न सकिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भिजिट भिसाको निष्पक्ष र गम्भीर छानबिन हुने हो भने कार्यालय प्रमुखको हिसाबले घिमिरे पनि तानिने जोखिम देखिन्छ। उनै घिमिरेलाई सुशासनका नारा दिएर बनेको सरकारले सुनसरीको सिडिओ बनाएर ‘क’ वर्गका सिडिओमा ह्याट्रिक पूरा गर्न दिएको छ। जेन-जी आन्दोलनपछि पनि गृह मन्त्रालयले सुध्रिने छाँट देखाएको छैन। कि त कार्यविधि खारेज गर कि सरूवाको मनपरीतन्त्र बन्द गर। तर, लेखक कै पालामा जस्तो बेथिति ओमप्रकाशको पालामा पनि जारी रहने हो भने सुशासन कायम गर्छु भन्न छाड। जेन-जी आन्दोलनको मर्म र भावनामाथि प्रहार नगर।
क्याटेगोरी : समाचार
ट्याग : #बासुदेव घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस