साठ्ठीसाले लेखा अधिकृत कट्टेल-घिमिरेलाई मोरङ र सुनसरीको जिम्मा


काठमाडौं। २०६० सालका लेखा अधिकृत भनेपछि कर्मचारी वृत्तमा निकै चर्चित छन्। साठ्ठीसाले लेखा अधिकृतहरूको ‘सिण्डिकेट’ले लेखा समूह नै बदनाम भएको छ। सडक, स्वास्थ्य, सिंचाई, भवन जस्ता आकर्षक कार्यालय उनीहरूले नै ‘रोटेसन’मा हत्याउँदै आएका छन्। हालै स्वास्थ्य उपकरण खरिद घोटालामा भ्रष्टाचारमा डामिएका भुवन काफ्ले पनि साठ्ठीसाले लेखा अधिकृत हुन्।

लेखामा मात्र होइन प्रशासनतिर पनि साठ्ठीसाले लेखा अधिकृतहरू ‘जम्न’ थालेका छन्। गृह मन्त्रालयले मोरङ र सुनसरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा साठ्ठीसाले लेखा अधिकृतलाई खटाएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकबाट मोरङको सिडिओमा पठाइएका युवराज कट्टेल साठ्ठीसाले लेखा अधिकृत हुन्। त्यस्तै गृह मन्त्रालयको जगेडाबाट सुनसरीको सिडिओ भएर जाने बासुदेव घिमिरे पनि साठ्ठीसाले लेखा अधिकृत नै हुन्।

कट्टेल र घिमिरेले २०६७ जेठमा एकैपटक सामान्य प्रशासन समूहको उपचिवमा नाम निकालेका थिए। उनीहरू २०७८ सालमा एकैपटक सहसचिवमा बढुवा भएका हुन्।

२०३२ सालमा सोलुखुम्बुका जन्मिएका कट्टेल सात वर्ष लेखामा रजगज गरेर प्रशासनतिर उडान भरेका हुन्। कट्टेल उपसचिव हुँदा १ वर्ष दैलेखको सिडिओ चलाएका थिए। सहसचिव भएपछि कट्टेलले २०७९ माघ १६ गतेदेखि २०८० पुस ४ गतेसम्म करिब १ वर्ष कैलालीको सिडिओ भएर काम गरे। झन्डै २ वर्ष राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक भएर साठ्ठीसाले लेखा अधिकृत कट्टेल मोरङको कमाण्ड सम्हाल्न पुगेका छन्। उनी काममा भने लगनशील कर्मचारी हुन्।

लेखा अधिकृत, उपसचिव र सहसचिवमा कट्टेलसँगै एकैपटक अघि बढेका संखुवासभाली बासुदेव घिमिरे सुनसरीको सिडिओ बन्न सफल भएका छन्। ‘क’ वर्गका जिल्ला कास्की र रूपन्देही चलाएर आएका घिमिरेले सुनसरीमा ‘ह्याट्रिक’ हानेका हुन्। २०३५ सालमा संखुवासभाको खाँदबारीमा जन्मिएका घिमिरे साठ्ठीसाले लेखा अधिकृतहरूको समन्वयकर्ता हुन्।

उपसचिवमा धादिङ, रौतहट, दोलखा जस्ता जिल्ला चलाएर आएका साठ्ठीसाले लेखा अधिकृत घिमिरेले सहसचिवमा पनि आकर्षक जिल्लाको कमाण्ड सम्हालिरहेका छन्। उनले उपसचिव हुँदा सिडिओ चलाएका जिल्लाहरू धादिङ, रौतहट र दोलखामा अहिले सहसचिव सिडिओहरू छन्। सहसचिवहरू समेत रमाउने जिल्लामा घिमिरेले उपसचिव हुँदै बाजी मारेका थिए। सहसचिव भएपछि त घिमिरेको शक्ति त्यसै बढेको छ। उनी ‘क’बाट ‘क’ वर्गको जिल्लामै सिडिओ बनिरहेका छन्।

कट्टेल र घिमिरेका ‘ब्याची’ साठ्ठीसाले लेखा अधिकृतहरू रविन कोईराला, ज्ञानेन्द्रराज ओझा, निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी, प्रकाश पुडासैनीहरूले लेखामा एकछत्र राज गरिरहेका छन्। प्रशासनमा पुगेका घिमिरे, कट्टेल पनि कम देखिँदैनन्। घिमिरेले त सिडिओ सरूवासम्बन्धी कार्यविधिलाई चुनौती दिएर ‘क’ वर्गका जिल्लामा ह्याट्रिक नै हानेर शक्ति प्रदर्शन गरेका छन्।

कट्टेल, घिमिरेहरू २०६७ मा लेखाबाट प्रशासनतिर फड्को मार्दा पनि तरंग आएको थियो। जसले लोक सेवा आयोगको परीक्षा प्रणाली नै परिवर्तन गर्न आयोग बाध्य भयो। त्यतिबेला लोक सेवा आयोगले उपसचिवको आन्तरिक र खुलामा एउटै परीक्षा लिने गर्थ्यो। आन्तरिक र खुला दुबैतिर लिखितमा नाम निकालेका जितेन्द्र बस्नेत (हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव) र कविन्द्र नेपाल (लुम्बिनी प्रदेशका सचिव)लाई अन्तर्वार्तामा पछाडि खुलातिर मात्र लिखितमा सफल भएका कट्टेल, घिमिरे र हालै ‘क’ वर्गको जिल्ला झापाबाट कार्यविधि उल्लंघन गर्दै काभ्रेपलाञ्चोकको सिडिओ बन्न सफल गोपालकुमार अधिकारी उपसचिवमा सिफारिस भए। उक्त सिफारिसविरूद्ध बस्नेत र नेपालले लोक सेवा आयोगमा उजुरी नै हालेका थिए। उजुरी परेपछि लोक सेवा आयोगको नजिता नउल्टिएपनि परीक्षा प्रणाली भने परिवर्तन भयो। आन्तरिक र खुलाको बेग्लाबेग्लै परीक्षा हुन सुरू भयो। त्योबेला लिखितमा प्रतिस्पर्धीहरूभन्दा कम नम्बर हुँदाहुँदै कट्टेलहरूले रामदेवको ‘कपालभाती’ गरेर लोक सेवा आयोगको अन्तर्वार्ता प्रभावित पारेको चर्चा कर्मचारी वृत्तमा अझै चल्ने गरेकाे छ। साठ्ठीसाले लेखा अधिकृतहरूका लागि यस्ता कुरा मामुली हुन्।

२०६७ सालमा सामान्य प्रशासन समूहको उपसचिवमा आन्तरिक प्रतिस्पर्धाबाट पहिलो नम्बरमा गोकर्णमणि दुवाडी (हाल राष्ट्रिय योजना आयोगका सचिव) सिफारिस भएका थिए। त्यसपछि खोमराज कोइराला, दिनेशकुमार घिमिरे(हाल वित्त आयोगका सचिव), सुमन दाहाल, रूद्रप्रसाद पण्डित, नारायणप्रसाद शर्मा दुवाडी (हाल अख्तियारका सचिव), ज्ञानराज सुवेदी, झलकराम अधिकारी, चक्रपाणी पाण्डे, कोमलप्रसाद धमला, दिवस आचार्य, मदन कोइराला, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, बन्धुप्रसाद बाँस्तोला, रामप्रसाद आचार्य र बेणीमाधव भट्टराई आप्रबाट उपसचिवमा सिफारिस भएका थिए।

खुला तर्फको उपसचिवमा भने टुवराज पोखरेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, गोपालकुमार अधिकारी र युवराज कट्टेल सिफारिस भएका थिए। अधिकारी र कट्टेलको सिफारिसलाई लिएर लोक सेवा आयोग नै विवादमा परेको थियो। २०६७ सालमा समावेशी उपसचिव महिला कोटाबाट गीताकुमारी हुमागाईं र आभा श्रेष्ठ कर्ण, आदीवासी/जनजाति कोटाबाट रामबहादुर कुरुम्बाङ र मधेशी कोटाबाट गजेन्द्रकुमार ठाकुर उपसचिव बनेका थिए।

रोचक प्रसङ्ग त के छ भने २०६७ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बनेका अधिकांश लेखेर सहसचिव बन्दा खुला प्रतिस्पर्धाबाट उपसचिव भएका पोखरेल, घिमिरे, रिजाल, अधिकारी र कट्टेल बढुवाद्वारा सहसचिव भएका हुन्। उनीहरू २०७८ माघमा एकैपटक सहसचिवमा बढुवा भएका हुन्। उनीहरूमध्ये पोखरेल सप्तरीको सिडिओ, अधिकारी काभ्रेपलाञ्चोक, कट्टेल मोरङ र घिमिरे सुनसरीको सिडिओ बन्न सफल भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #बासुदेव घिमिरे, #युवराज कट्टेल, #युवराज कट्टेल महानिर्देशक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ