सहसचिवको दरबन्दी भएका जाजरकोट र डोटीमा उपसचिव सिडिओ


काठमाडौं। जेन-जी सरकार आएपछि पनि पुरानै विकृति र विसङ्गतिले निरन्तरता पाएको छ। गृह मन्त्रालयले अहिले पनि सहसचिवको दरबन्दी रहेको जाजरकोट र डोटीमा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई नै खटाएको छ।

रमेश लेखक गृहमन्त्रीले सहसचिवको दरबन्दी रहेको डोटीको सिडिओमा उपसचिव मोहनराज जोशीलाई खटाएका थिए। उनी डोटीको सिडिओ भएको ठ्याक्कै एक वर्षा पुगेको छ। जोशी डोटीको सिडिओमा २०८१ साल कार्तिक १२ गते हाजिर भएका थिए। उपसचिव भएर जोशीले १ वर्षसम्म सहसचिवको दरबन्दीमा सिडिओ चलाउन भ्याएका छन्।

गृह मन्त्रालयको गत साउनमा जगेडामा रहेका सहसचिव बुद्धबहादुर गुरुङलाई डोटीको सिडिओ बनाएर पठाउने निर्णय गरेको थियो। गुरूङ डोटी नगई आदिवासी जनजाति आयोगको सचिवमा हाजिर भए। त्यसपछि डोटीमा जोशीको एकछत्र राज चल्यो।

डोटीमा मात्र होइन जाजरकोटमा पनि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ कार्यरत रहेका छन्। जाजरकोटको सिडिओ बनेर भदौ २६ गते राजुप्रसाद पौडेल गएका थिए। उपसचिव पौडेल करिब ८ महिना सहसचिवको दरबन्दी रहेको रामेछापमा सिडिओ चलाएर गृह मन्त्रालय सरूवा भएका थिए। रामेछापबाट गृह मन्त्रालय आएको ४ महिनामै उनी जाजरकोटको सिडिओ भएर गएका हुन्। उनी जोशी जस्तै शक्तिशाली उपसचिवमा दर्ज भएका छन्।

गृह मन्त्रालयले भर्खरै डडेल्धुराका सिडिओ जनार्दन गौतमलाई कपिलवस्तु सरूवा गरिएको छ। डडेल्धुरामा सिडिओ खाली छ। डडेल्धुरामा गौतमलाई पनि गुल्मीबाट पेलेर पठाइएको हो। कपिलवस्तु पुगेर उनले राहतको साहस फेरेका छन्। पहिलोपटक सहसचिव सिडिओ पाएको डडेल्धुरामा ४ महिना पनि नटिकी गौतम सरूवा भएर हिँडेका हुन्।

डोटी, जाजरकोट, डडेलधुरा जस्ता जिल्लामा सहसचिवहरू सिडिओ भएर जानै मान्दैनन्। एउटा मात्र निर्वाचन क्षेत्र भएका त्यस्ता जिल्लामा सहसचिवको दरबन्दी कटौती गरेर उपसचिव कै दरबन्दी कायम गर्न उपयुक्त हुन्छ। कि त सहसचिवलाई सिडिओ खटाउन सक्नु पऱ्यो कि दरबन्दी कटौती गरेर उपसचिव नै राख्नु पऱ्यो। उक्त विषयमा गृहमन्त्री ओमप्रकश अर्याल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण हुन जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव सिडिओ, #जनार्दन गौतम, #मोहनराज जोशी, #राजुप्रसाद पौडेल, #सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ