महालेखा नियन्त्रक शोभाकान्तले किस्ताबन्दीमा सरूवा गर्दै, लोक सेवा आयोगमा हिराले मारे बाजी
 
	
                                            काठमाडौं। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले लेखाका कर्मचारीको किस्ताबन्दीमा सरूवा जारी राखेका छन्। जेन-जी सरकार आएपछि केही समय रोकिएका पौडेलले पुरानै शैलीको सरूवालाई निरन्तरता दिएका छन्।
मुख्यसचिव एकनारायण अर्याललाई नियमित परिक्रमा गरेर डेढ महिनामै गण्डकी प्रदेशको प्रमुख सचिवबाट महालेखा नियन्त्रक कार्यालय आएका पौडेलले आफ्नो परिक्रमा गर्नेलाई पनि राम्रै व्यवस्थापन गरेका छन्। भन्सार विभागका मानबहादुर बमलाई सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सरूवा गर्नु त्यसैको ज्वलन्त उदाहरण हो। भन्सार विभागका आफूसँगै काम गरेका बमलाई शोभाकान्तले कोष तथा लेखा नियन्त्रक कार्यालय, त्रिपुरेश्वर पठाउन खोजेका थिए। तर, रूक्मांगत अर्यालले ‘चक्मा’ दिएपछि बमको त्रिपुरेश्वर कोलेनिकाको सपना तुहियो। अहिले फेरि ‘जेन-जी’ सरकार अल्मलिएको मौका छोपेर शोभाकान्तको परिक्रिमा गरी बम सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आर्थिक व्यवस्थापन गर्न पुगेका छन्। कर्णाली प्रदेशमा समायोजन भएका बम अदालतको अन्तरिम आदेशबाट थमौती भएर संघका आकर्षक अड्डामा तरमारिरहेका छन्। शोभाकान्तका पालामा पनि उनले रोज्जा अड्डा पाएका हुन्।
लेखा उपसचिवहरूको लोक सेवा आयोग जान निकै रस्साकस्सी चल्दै आएको थियो। लेखा सेवा आयोगमा जानका लागि कुमारीचोकका प्रमुख लावण्यराज दाहाल तीव्र दौडधुपमा थिए। एकै वर्ष धेरै कार्यालयमा सरूवा भएको भन्दै दाहाललाई लोक सेवा आयोग पठाउन शोभाकान्तले इन्कार गरिदिए। शोभाकान्तले लोक सेवा आयोगमा महालेखा नियन्त्रक कार्यालय(मलेनिका)मै कार्यरत रेजिना कोइरालालाई पठाउन खोजेका थिए। तर, आयोगले ‘ग्रीन सिग्नल’ नदिएपछि शोभाकान्त ‘ब्याक’ भए। त्यसपछि सहरी विकास मन्त्रालयका लेखा उपसचिव हिरा न्यौपानेले लोक सेवा आयोगमा बाजी मारेका हुन्।
 लोक सेवा आयोगमा जान लेखाका उपसचिवबीच रस्साकस्सी चलेपछि आयोगमा कार्यरत विष्णुहरि बराललाई हाइसञ्चो भएको थियो। उनी संक्रमणकालीन समयको फाइदा उठाउँदै म्याद थप्न गराउन सक्रिय भए। तर, शोभाकान्त ‘बौरिए’पछि उनी लोक सेवा आयोगबाट अरूण तरेर भोजपुरतिर बरालिन पुगेका छन्।
लोक सेवा आयोगमा जान लेखाका उपसचिवबीच रस्साकस्सी चलेपछि आयोगमा कार्यरत विष्णुहरि बराललाई हाइसञ्चो भएको थियो। उनी संक्रमणकालीन समयको फाइदा उठाउँदै म्याद थप्न गराउन सक्रिय भए। तर, शोभाकान्त ‘बौरिए’पछि उनी लोक सेवा आयोगबाट अरूण तरेर भोजपुरतिर बरालिन पुगेका छन्।
पहिलो पदस्थापना नै मलेनिका गराएका बराल कहिले एमाले सम्बद्ध ट्रेड युनियनको अध्यक्ष केदार न्यौपाने त कहिले जिल्लावासी रामहरी खतिवडालाई प्रयोग गरेर लेखामा लाभ लिने कर्मचारीमा पर्छन्।
मलेनिकाको आन्तरिक लेखा परीक्षण (आलेप) शाखामा बसेर नतिजा देखाउन नसकेपनि बरालले विदेशस्थित नियोगको आलेप गर्न मस्ते घुमे। शाखा अधिकृत हुँदा सामान्य प्रशासन मन्त्रालयमा बसेर एमालेको संगठनलाई गुन लगाएको भनेर त्यही शुत्र प्रयोग गरी मलेनिकाको भित्रिया भएर लोक सेवा आयोगमा जम्प हानेको बरालमाथि आरोप छ। उनी लोक सेवा आयोगमै साढे दुई वर्ष बढी बिताउनुले पनि त्यो आरोपमा दम देखिन्छ। जेन-जी सरकार आएपछि भने बराल लोक सेवा आयोग छाड्न बाध्य भएका हुन्।
राजस्व न्यायाधिकरणका लेखा सदस्य (लेखा उपसचिव) बासुदेव खनाल सहरी विकास मन्त्रालय पुगेका छन्। कुनै बेला त्रिपाल काण्डले भागाभाग हुने सहरी विकास मन्त्रालयमा हिराले सहजिकरण गर्दिएपछि अहिले लेखा उपसचिवहरू पहिला जस्तो भाग्नु पर्ने अवस्था छैन। मध्यपहाडी लोक मार्ग आयोजनाको वेला तीनै आयोजनास्थित कोलेनिका छानीछानी हिँड्ने भनेर मलेनिकाभित्र चर्चामा रहेका पाँचथरे बासुदेव जेन-जी आन्दोलनका क्रममा आगजनीबाट सिंहदरबारका भवनहरू ध्वस्त भएका बेला सहरी विकास मन्त्रालय पुगेका हुन्।
सडक विभागमा लामो समय तरमारेर मलेनिका फर्किएका रविन कोइराला सिन्धुली कोलेनिका पुगेका छन्। साठ्ठीसाले लेखा अधिकृतका चर्चित खेलाडी कोइराला काठमाडौं नजिकको जिल्ला सिन्धुली खुर्कोटको सडक निर्माणको ठेक्कालाई मध्यनजर गर्दै सिन्धुली कोलेनिका पुगेको चर्चा छ। पशु सेवा विभाग, रानीजमरा सिँचाई आयोजना, काठमाडौं खानेपानी निर्देशनालय, मलेनिकाको कर्मचारी प्रशासन शाखामा जमेर सडक विभाग पड्काएका कोइराला मलेनिका फर्किएको दुई महिनामै सिन्धुली कोलेनिका जान सफल भएका हुन्।
दिल्ली दूतावासबाट केही समय अघि फर्किएर मलेनिकाको जगेडामा बसेका यदुनाथ भट्टराई इलाम कोलेनिका पुगेका छन्। गुल्मीको कफीले वाक्क भएका भट्टराई चिया बगान घुम्ने अवसर प्राप्त गर्दै इलाम पुगेका हुन्।
पछिल्लो समय लेखा उपचिवका लागि आकर्षक मानिने बबई सिंचाई आयोजनाबाट मलेनिका फर्किएका बसन्तराज सिग्देल जल तथा ऊर्जा आयोगको सचिवालय पुगेका छन्। सिग्देलको ठाउँमा मलेनिकाको कर्मचारी प्रशासन शाखाबाट निरज केसी बबई सिंचाई आयोजना पुगेपछि उनी मलेनिका आएका थिए। जेन-जी सरकार आएपछि उनी ऊर्जा आयोगतिर हानिएका हुन्।
पछिल्लो समय ‘कमिसनमा बग्ने’ भनेर परिचित बबई सिंचाई आयोजनामा साठ्ठीसाले लेखा अधिकृत निरज केसी जमेर बसेका छन्। साठ्ठीसाले लेखा अधिकृत भुवन काफ्ले अकुत सम्पत्ति जोगाउन अख्तियारले मुद्दा हाल्न अघि नै सबै पाउने रकम कलम लिएर राजीनामा दिएर ‘चम्पट’ ठोकेपछि बाँकी साठ्ठीसालेहरू रक्षात्मक अवस्थामा रहेको मलेनिकाभित्र चर्चा चल्न थालेको छ।
त्यस्तै कोलेनिका म्याग्दीका किरणचन्द्र सुवेदी भन्सार विभाग सरूवा भएका छन्। कोलेनिका सल्यानका प्रमुख कोष नियन्त्रक रामनाथ शर्मा कोलेनिका म्याग्दी पुगेका हुन्।
कोलेनिका डडेल्धुरा प्रमुख कोष नियन्त्रक तिलकप्रसाद चापागाईं कृषि तथा पशुपन्छी विकास मन्त्रालय आएका छन्। भ्रष्टाचारमा डामिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लेखा उपसचिव भुवन काफ्लेले राजीनामा दिएर हिँडेपछि चापागाईं उक्त ठाउँमा सरूवा भएर आएका हुन्। जल तथा ऊर्जा आयोगका लेखा उपसचिव मनोजकुमार सुनुवार कोलेनिका सप्तरी पुगेका छन्।
बाँके कोलेनिकाबाट मलेनिकाको पुलमा आएका मोहनरमण भण्डारी राजस्व न्यायाधिकरणको लेखा सदस्य भएर गएका हुन्। उनी पनि छोटो समयमै फड्को मार्न सफल भएका छन्। कतिपय लेखा उपसचिवको अवधि नै नपुगी शोभाकान्तले सरूवा क्रान्ति गरेको पाइन्छ।
लेखा अधिकृतको पनि खुसखुस सरूवा
लेखा उपचिव मात्र होइन महालेखा नियन्त्रक शोभाकान्तले लेखा अधिकृतको पनि खुसखुस सरूवा गरेका छन्। ‘जेन-जी’ आन्दोलनले ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका लेखा अधिकृत श्यामसुन्दर साह अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पुगेका छन्।
सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहटका लेखा अधिकृत टेकनाथ रेग्मी कोलेनिका, त्रिपुरेश्वर सरूवा भएका हुन्। कोलेनिका पर्साका लेखा अधिकृत सन्तोषप्रसाद कुशवाहा सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट पुगेका छन्। कोलेनिका बाराका लेखा अधिकृत रामबिनय मुखिया कोलेनिका पर्सा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लेखा अधिकृत पूरणप्रसाद पोखरेल सडक डिभिजन, सिराहा र सडक डिभिजन सिराहाकी लेखा अधिकृत पार्वती थापा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सरूवा भएकी छिन्।
 त्यस्तै उच्च अदालत तुलसीपुरका लेखा अधिकृत निखिल श्रेष्ठ जिल्ला प्रशासन कार्यालय, काठमाडौं र कोलेनिका, त्रिपुरेश्वरका लेखा अधिकृत भानुभक्त उपाध्याय चुरे उत्थानशील आयोजना व्यवस्थापन इकाई, काठमाडौंमा सरूवा भएका हुन्। त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका लेखा अधिकृत विनोद दाहाल उच्च अदालत तुलसीपुर पुगेका छन्।
त्यस्तै उच्च अदालत तुलसीपुरका लेखा अधिकृत निखिल श्रेष्ठ जिल्ला प्रशासन कार्यालय, काठमाडौं र कोलेनिका, त्रिपुरेश्वरका लेखा अधिकृत भानुभक्त उपाध्याय चुरे उत्थानशील आयोजना व्यवस्थापन इकाई, काठमाडौंमा सरूवा भएका हुन्। त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका लेखा अधिकृत विनोद दाहाल उच्च अदालत तुलसीपुर पुगेका छन्।
देशमा जेन-जी आन्दोलन ठूलो परिवर्तन ल्याइसक्दा पनि मलेनिका र शोभाकान्तले लेखाको सरूवालाई मासु व्यापारीले जस्तो भाग लगाइरहेको आरोप लाग्न थालेको छ। उनले आकर्षक कार्यालयहरू आफ्ना मान्छेहरुलाई भाग लगाएर दिने गरेको आरोप लाग्न थालेको हो। मलेनिकाले सुध्रिने छाँट नदेखाएको भन्दै आलोचना हुन सुरू भएको छ।
३ वर्ष पुग्न लाग्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लेखा उपचिव गोपीचन्द्र भण्डारीको सरूवा भएको छैन। स्वास्थ्य मन्त्रालयका लेखा उपसचिव मात्र होइन कास्की, चितवन, सुनसरी कोलेनिका प्रमुख कोष नियन्त्रक साढे दुई नाघिसक्दा पनि शोभाकान्तले चलाउन सकेका छैनन्। कोलेनिका कास्कीमा प्रमुख कोष नियन्त्रक रमेश अर्याल अवधि पुग्दा पनि त्यतै जमिरहेका छन्। कोलेनिका चितवनमा यामनारायण शर्मा र कोलेनिका सुनसरीमा निर्मल न्यौपाने छन्। उनीहरूको बसाई दुई आर्थिक बर्षभन्दा बढी भएपनि सरूवा रोकेर शोभाकान्त अनदेखा गरी कुम्भकर्णको निद्रामा मस्त रहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #किरणचन्द्र सुवेदी, #तिलकप्रसाद चापागाई, #बसन्तराज सिग्देल, #बासुदेव खनाल, #मनोजकुमार सुनुवार, #मानबहादुर बम, #मोहनशरण भण्डारी, #यदुनाथ भट्टराई, #रविन कोइराला, #रामनाथ शर्मा, #विष्णुहरि बराल, #हिरा न्यौपाने

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस