गृहमा रजगज गरिरहेका तिवारी बन्धु अख्तियारको ‘राडार’मा 


समाचार टिप्पणी

काठमाडौं। गृहमन्त्री रमेश लेखक भएका बेला उपसचिव बद्रीप्रसाद तिवारी निकै हर्ताकर्ता थिए। सहकारी बेथितिमा समेत जिम्मेवार रहेका उनै बद्री अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘राडार’मा परेका छन्।

सहकारी विभाग, सहकारी डिभिजन ललितपुर जस्ता निकायमा एकछत्र राज गरेका बद्री रमेश लेखक श्रममन्त्री हुँदा पनि निजी सचिव थिए। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निजी सचिव बनेका बद्री त्यहाँबाट दरबन्दी नै नभएको दिल्ली दूतावासमा बसेर फर्किएका थिए। रमेश लेखक गृहमन्त्री भएपछि गृह छिरेर रजगज गरेका बद्रीले गृह मन्त्रालयलाई पनि श्रम मन्त्रालय कै स्तरमा झार्न लगातार प्रयास गरिरहे। वैदेशिक रोजगारीका नाममा गरिबका छोरोछोरी (मान्छे) बेच्ने आरोप खेपिरहेको श्रम कै हैसियतमा गृह मन्त्रालयलाई पनि भिजिट भिसा सेटिङ मार्फत पुऱ्याउन उनको ठूलो हात रहेको छ।

गृह छिर्नेबित्तिकै सुनसरीको सिडिओ बनेका रामचन्द्र तिवारीलाई छोटो समयमै सरूवा गरेर गृह मन्त्रालयको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख उनै बद्रीले बनाएका थिए। कतिसम्म भने लेखकको रामचन्द्रसँग राम्रोसित परिचय भएकै सुनसरीबाट गृह मन्त्रालयमा आएपछि हो। गृह स्रोतका अनुसार उनले आफू सहसचिव रामचन्द्र तिवारी भनेर तत्कालीन मन्त्री लेखकलाई आफ्नो परिचय दिएका थिए।

२/३ वटा जिल्लाको कमाण्ड सम्हालिसकेका सहसचिवलाई उक्त महाशाखाको जिम्मेवारी दिएर गृह मन्त्रालयलाई कमजोर पार्न बद्रीहरूले भूमिका खेलेका थिए। त्यो बेला ‘डिफ्याक्टो’ गृहमन्त्री भनेर परिचित बद्री अहिले म्याग्दीको सिडिओ रहेका छन्।

अख्तियारले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसमेत ७ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हाल्दा प्रतिवादी भट्टराईसँग बद्रीको अस्वभाविक सम्पर्क रहेको अख्तियारको दाबी छ। भिजिट भिसा प्रकरणमा बद्री र रामचन्द्रविरूद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। अख्तियारले ‘राडार’मा रहेका बद्री सिडिओ र रामचन्द्र अध्यागमन विभागको महानिर्देशक रहेका छन्। कञ्चनपुरको एलडीओ बद्री र तनहुँको एलडीओ बनेका रामचन्द्र एउटै ‘केस’मा अख्तियारको ‘राडार’मा परेका हुन्।

सहकारी विभाग हुँदादेखि नै विभिन्न सहकारीहरूको दर्ता, नियमनका वहानामा खुबै आर्थिक चलखेल गरेको आरोप बद्रीमाथि लाग्दै आएको छ। कञ्चनपुरमा एलडीओ, सहायक सिडिओ हुँदै रमेश लेखकको आशीर्वादले तत्कालीन प्रधानमन्त्री शेर‌बहादुर देउवाको सचिवालयमा बस्ता विभिन्न विभागका डिजी बनाउने, सरूवा र प्रहरीका बढुवादेखि व्यापारीसँग ‘डिल’ गरी भानु देउवाको विश्वास जितेर कमाउ धन्दामा निकै सक्रिय रहेको बद्रीमाथि आरोप छ। जिल्लावासी शंकरदास बैरागी मुख्यसचिव भ‌एको फाईदा उठाउनुसम्म उठाएर शक्तिको सधै नजिक बसेर कमाएको अकुत सम्पतिलाई चोख्याउन उनै बैरागीको सल्लाहमा हुँदै नभ‌एको दरबन्दीमा दिल्ली दूतावास ग‌ए। खासमा विशाखापटनमको दरबन्दीलाई दिल्लीमा देखाएर बसी खाएको भत्ता बेरूजु आउनु पर्नेमा उनका‌ नजिकका नातेदार महालेखापरीक्षकको कार्यालयमा भ‌एको कारण यस्तो अनियमितताको बारेमा महालेखाले केही नबोलेको परराष्ट्र स्रोत बताउँछ। करिब एक डेढ करोड वैदेशिक भत्ता बुझी कालो धनलाई सेतो बनाउन सफल भ‌एर दिल्लीबाट फर्केपछि उनी रमेश लेखकको सचिवालयमा बसेर भिजिट भिसामा पर्दा पछाडि रहेर सेटिङ मिलाएको अख्तियारको छानबिनले देखाउँछ। राजनीतिज्ञ मात्र हैन, सधै शक्तिको नजिक बसेर राजनीतिज्ञ र उनका‌ आसेपासेलाई भिजिट भिसामा जस्तै भ्रष्टाचार गर्न सिकाउने, सेटिङ मिलाउने बद्री बल्ल अख्तियारको ‘राडार’मा परेका हुन्।

कुनै बेला पर्वतका विकल पौडेल र तनहुँका सुनिल पौडेलको जोडी जम्दा आईटी क्षेत्र तहसनहस भएको थियो। पौडेल बन्धुको गठबन्धनले आईटी क्षेत्रमा गरेको कर्तुत जगजाहेर छ। पछिल्लो समय गृह मन्त्रालय पर्वत कै तिवारी बन्धुको गठजोर त्यही किसिमको देखिन्छ। उक्त कुरा भिजिट भिसा सेटिङ प्रकरणमा पनि उजागर भएको छ। तिवारी बन्धुको गठबन्धनमा पौडेल बन्धुको जस्तै अख्तियार लागेको पाइन्छ। अख्तियारले यो विषयमा पौडेल बन्धुको जस्तै पटाक्षेप गर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बद्री तिवारी, #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ