राष्ट्रिय सभा खुल्ला तर्फ उम्मेदवार बन्न उत्तम कुमार चापागाईंको नाम सिफारिस, जेन्जीमा खुसियाली
भाेजपुर । नेविसंघको विद्यार्थी राजनीतिबाट संगठन यात्रा सुरु गरेका उत्तम कुमार चापागाईं दशकौँदेखि नेपाली कांग्रेसको आन्दोलन, संगठन र संघर्षमा निरन्तर सक्रिय रहँदै आएका कुशल राजनितीकर्मी हुन् । भोजपुर जिल्लामा पार्टी संगठन मजबुत बनाउन उनले खेलेको भूमिका पार्टीभित्र सर्वत्र परिचित छ।
नेविसंघ हुँदै तरुण दल भोजपुरको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका चापागाईं तरुणदलकाे केन्द्रीय सचिव हुँदै उपाध्यक्षसम्म पुगेका नेता हुन्। आन्दोलन, निर्वाचन, संगठन विस्तार र आन्तरिक चुनौतीका बेला उनी सधैँ अग्रमोर्चामा देखिए। तर, निरन्तर योगदानका बाबजुद उनी पटक–पटक अन्यायमा परेका नेताको रूपमा चिनिँदै आएका छन्।
लगातार पार्टीको महासमिति सदस्यका रूपमा सक्रिय रहेका चापागाईंले जिम्मेवारीभन्दा बढी संगठनलाई प्राथमिकतामा राखे। अवसर नपाएको गुनासोभन्दा पनि पार्टीलाई कसरी बलियो बनाउने भन्ने सोचमा उनी केन्द्रित रहँदै आएका छन्। यही कारण भोजपुरमा उनी पार्टीभित्र विश्वासिलो र स्वीकार्य नेता मानिन्छन्।
यसैबीच, राष्ट्रिय सभा सदस्य काेशी प्रदेश पदका लागि माघ ११ गते हुने खुल्ला तर्फको निर्वाचनमा उम्मेदवार हुन भोजपुर नेपाली कांग्रेसले उत्तम कुमार चापागाईंको नाम सिफारिस गरेको छ। कोशी प्रदेशअन्तर्गत भोजपुर जिल्लाबाट भएको यो सिफारिससँगै पार्टीभित्र र जिल्ला र नयाँ पुस्तामा खुसियाली देखिएको छ।
भोजपुर कांग्रेसको सिफारिसलाई चापागाईंको लामो योगदान र निरन्तर संघर्षप्रतिको सम्मानका रूपमा हेरिएको छ। कोशी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर पाएमा उनले जिल्लाको आवाज सदनसम्म पुर्याउने विश्वास पार्टी कार्यकर्ता र युवा पुस्ताले व्यक्त गरेका छन् ।
यसपटक पार्टीले न्याय गर्ने अपेक्षा बलियो देखिन्छ। कुशल, अनुभवी र संगठनप्रति निष्ठावान् नेताका रूपमा परिचित चापागाईंलाई राष्ट्रिय सभामा पठाउनुपर्ने धारणा बढ्दै जाँदा भोजपुरे जनता र कांग्रेस कार्यकर्ता आशावादी बनेका छन् ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस