ज्योतिषी कानुन सचिवले ‘साइत’ हेरेपछि सिन्हाले शर्मालाई गरेका थिए पशुपतिको सदस्य-सचिवमा मनोनित


काठमाडौं। ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारले ६७ वर्षीय बृद्धलाई पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव बनाएपछि ‘जेन-जी’हरू तरंगित भएका छन्। कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सहपाठी प्रकाशमणि शर्मालाई सदस्य-सचिवमा मनोनित गरेका हुन्।

आईतबार पर्यटन मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री सिन्हाले कोष कै ‘झगडिया वकिल’ शर्मालाई त्यसको भोलिपल्टै सदस्य-सचिव बनाएका हुन्। पर्यटन मन्त्रालयले बनाएको नियुक्तिसम्बन्धी मापदण्डमा ६५ वर्ष ननाघेको व्यक्ति कोषको सदस्यसचिव बन्न सक्ने व्यवस्था छ। तर, ‘जेन-जी’ शहीदहरूको रगतमा लत्पतिएर बनेको सरकारका पर्यटनमन्त्री सिन्हाले पशुपतिमा ६७ वर्षीय बृद्धलाई सदस्य-सचिव बनाएर पठाएका छन्।

पर्यटनमन्त्री सिन्हाले शुक्र अस्त भएका बेला शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा मनोनित गरेका हुन्। धर्ममा खासै विश्वास नगर्ने एनजीओ सञ्चालक शर्मालाई ज्योतिषी समेत रहेका कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई ‘साइत’ हेराएर मन्त्री सिन्हाले सदस्य-सचिवमा मनोनित गरेका हुन्। सचिव ढुंगानाले मापदण्डविपरीत ६७ वर्ष पुगेका शर्मालाई मनोनित गर्न मिल्छ भनेपछि कोषका अध्यक्ष सिन्हाले तत्काल मनोनित गरे। कृष्णनगर कपिलबस्तुका शर्मालाई सिन्हाले कोषको सदस्य-सचिवमा नियुक्ति गर्नु अघि कानुन सचिव ढुंगानाले ‘साइत’ हेरेका थिए।

ज्योतिषशास्त्रमा शुक्र अस्त भएका बेला गरिएको कामलाई खासै राम्रो मानिँदैन। कानुन व्यवसायीको आचारसंहिता समेत आकर्षित हुने र मापदण्डले समेत ठक्कर दिने भएपछि ज्योतिषी ढुंगानाले ‘साइत’ निकालेर सदस्य-सचिवमा मनोनित गरेका शर्मालाई समस्या पर्ने देखिन्छ। अदालतमा कसैले रिट लिएर गए शर्मा सदस्य-सचिवको भूमिकामा काम गर्न रोकिने सम्भावना उच्च छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ