उपसचिवको सरूवा कार्यान्वयन गर्न महालेखा नियन्त्रक शोभाकान्त पौडल असफल


काठमाडौं। लेखा उपसचिवको सरूवा कार्यान्वयन गर्न महालेखा नियन्त्रक शोभाकान्त पौडेल असफल भएका छन्। आफैले सरूवा गरेका लेखा उपसचिव शोभाकान्तले खटाएको ठाउँमा पठाउन नसकेका हुन्। शोभाकान्तले दुई महिना अघि सरूवा गरेका लेखाका उपसचिवहरू अझै खटाएको ठाउँमा पुगेका छैनन्। लेखा दुई महिना अघि सरूवा भएका उपसचिव रविन कोइराला, विष्णुहरि बराल, यदुनाथ भट्टराईहरू अहिलेसम्म खटाएको ठाउँमा नगएका हुन्।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले कार्तिक १२ गते कोइराल, बराल भट्टराईलगायत १२ जना लेखाका उपसचिव सरूवा गरेका थिए। उक्त सरूवा महालेखा नियन्त्रक कार्यालयबाटै उपसचिव कोइराला र भट्टराईको नाम परेको थियो। कोइरालालाई कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुली र भट्टराईलाई कोलेनिका इलाम पठाइएको हो। त्यस्तै लोक सेवा आयोगका लेखा उपसचिव बराललाई कोलेनिका भोजपुर सरूवा गरिएको थियो। तर, उनीहरू सरूवा भएको दुई महिना पुग्न लाग्दा पनि खटाएको ठाउँमा नपुगेको पाइएको छ।

निजामती सेवा नियमावली, २०५० को नियम ३९ कुनै पनि निजामती कर्मचारी सरूवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुनु जानु पर्नेछ। कुनै पनि निजामती कर्मचारीको सरूवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरूवा गरिने छैन। यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ भन्ने उल्लेख छ। तर, उक्त व्यवस्थालाई चुनौती दिँदै कोइराला, भट्टराई, बरालहरू पुरानै ठाउँमा हल्लिरहेका छन्। शोभाकान्तले विभागीय कारबाही पनि गर्न सकेका छैनन्।

पशु सेवा विभाग, रानीजमरा सिँचाई आयोजना, काठमाडौं खानेपानी निर्देशनालय, मलेनिकाको कर्मचारी प्रशासन शाखा हुँदै सडक विभागमा तरमारेर मलेनिका फर्किएका रविन कोइराला सिन्धुली कोलेनिका सरूवा भएका थिए। सुरूमा सिन्धुली हाल्दिए हुन्छ भनेका कोइरालाले अहिले जान बेइमान गरिरहेको मलेनिकाका अधिकारीहरू सुनाउँछन्। भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावास ३ वर्ष बसेर आएका यदुनाथ भट्टराई इलाम कोलेनिकामा सरूवा भएका थिए। रविनको लहलैमा लागेर उनी पनि अझैसम्म इलाम पुगेका छैनन्। खटाएको ठाउँमा जान नमानेर बिदा लिन खोजेका उनीहरूको बिदा महालेखा नियन्त्रक पौडेलले अस्वीकृत गरिदिएको महालेखाका अधिकारीहरू बताउँछन्। बिदा अस्वीकृत गरेपनि उनीहरूलाई सरूवा गरेको ठाउँमा पठाउन महालेखा नियन्त्रक पौडेल असफल भएका छन्।

लोक सेवा आयोगमा साढे दुई वर्ष बसेर भोजपुर कोलेनिका सरूवा भएका लेखा उपसचिव विष्णुहरि बराल म्याद‌ थप गरेर त्यही बस्न निकै प्रयास गरे। बरालको त्यहाँबाट भोजपुर कोलेनिका सरूवा भएको दुई महिना हुन लागिसक्यो तर अझै उनी भोजपुर पुगेका छैनन्। उनी अहिले पनि लोक सेवाको भत्तामा ऱ्याल चुहाएर बसिरहेको चर्चा छ।

उपसचिव भ‌एको‌ दुई वर्षमै नेता समाएर बराल लोक‌ सेवा आयोग पुगेका थिए। उनी लेखाको उपसचिव हुनेबित्तिकै मलेनिकामै बस्न सफल भए। बरालले मलेनिका‌ रहँदा स्वदेशको आलेपको काम कोलेनिकाले र आलेपको नाममा विदेशको नियोगमा घुमघाम गर्नै र भत्ता बचाउने तथा पचाउने काम मलेनिकाको हो भन्ने भाष्य निर्माण गरेको र उपयोग गरेको चर्चा छ। ओखलढुंगाका कांग्रेस नेता रामहरि खतिवडाको फेरो समातेर लोक सेवा आयोग पुगेका बराल एमाले ‘कार्ड’ खेल्न पनि उत्तिकै माहिर रहेको आरोप लाग्ने गरेको छ। जेन-जी सरकार आएपछि भोजपुर कोलेनिका सरूवा भएका बराल अहिले पनि लोक सेवा आयोगतिरै बरालिरहेका छन्।

शक्तिशाली लेखा उपसचिवका अगाडि निरीह बनेका महालेखा नियन्त्रक शोभाकान्त पौडेल कमजोरलाई पेल्दै आएका छन्। सरूवा भएका लेखा उपसचिवलाई रमाना दिन नसक्ने शोभाकान्तलाई पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य-सचिव सुभाषचन्द्र जोशीले समेत हेप्न थालेका छन्। शोभाकान्तले पठाएका लेखा अधिकृत रवीन्द्रबहादुर धामीलाई जोशीले डेढ महिनामै काज फिर्ता गरिदिएका हुन्। जोशीले पौडेललाई चुनौती दिँदै धामीलाई काज फिर्ता गरिदिएको पाइन्छ। जोशीको कदमका अगाडि पौडेल हेरेको हेऱ्यै भएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #यदुनाथ भट्टराई, #रविन कोइराला, #रवीन्द्रबहादुर धामी, #विष्णुहरि बराल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ