महालेखा नियन्त्रक कार्यालयबाटै रमाना गरी पठाउन नसकेका शोभाकान्तले कोलेनिकालाई फरमान जारी गरे


काठमाडौं। महालेखा नियन्त्रक कार्यालयबाटै सरूवा भएका उपसचिवलाई रमाना दिन नसकेका शोभाकान्त पौडेलले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)लाई रमाना दिन फरमान जारी गरेका छन्। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले मलेनिकाबाट सरूवा भएका कर्मचारीलाई दुई महिनासम्म रमाना दिन सकेका छैनन्। तर, उनकै निर्देशनमा मलेनिकाले सबै कोलेनिकालाई ७ दिनभित्र रमाना दिन फरमान जारी गरेको छ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोलेनिकिलाई नेपाल प्रशासन सेवा, लेखा समूहमा कार्यरत कर्मचारीहरूको सरूवा भएको दिन ७ (सात) दिनभित्र अनिवार्य रूपमा रमाना गरी पठाउन निर्देशन दिएको हो। महालेखा नियन्त्रक पौडेलको निर्देशनमा भक्तिप्रसाद भट्टराईले सबै कोलेनिकाको नाममा उक्त फर्मान जारी गरेका हुन्।

महालेखा नियन्त्रक कार्यालयबाट सिन्धुली कोलेनिकामा सरूवा गरिएका लेखा उपसचिव रविन कोइराला र इलाम कोलेनिकामा सरूवा भएका यदुनाथ भट्टराईलाई रमाना गरी पठाउन नसकेका शोभाकान्तले कोलेनिकाको नाममा फरमान जारी गरेका हुन्। उनको फरमान देखेर लाज पनि लजाउन थालेको छ। लोक सेवा आयोगबाट भोजपुर कोलेनिका सरूवा भएका विष्णुहरि बराल पनि अहिलेसम्म लोक सेवातिरै बरालिरहेका छन्। उनलाई पनि लोक सेवाले रमाना गरी पठाउन सकेको छैन। तर, मलेनिकाले सबै कोलेनिकालाई रमाना गरी पठाउन फरमान जारी गरेर नौटंकी देखाएको छ। उक्त कदमले शोभाकान्तलाई आफूलाई नाटककारको रूपमा प्रस्तुत गर्नु शिवाय अरू केही हुन सकेको छैन।

‘रमाना दिने वा नदिने सम्बन्धित कार्यालयको क्षेत्राधिकार र निजामती कानुन अनुसार हुन्छ। कोलेनिकाले कसैलाई रमाना दिनु वा‌ नदिनु भन्नु कानूनविपरीतको कार्य हो।’, एक प्रमुख कोष नियन्त्रकले भने, ‘जबकी सम्बन्धित कार्यालयले तोकिएको समयमा कर्मचारीलाई रमाना दिने कुरा कानून मै स्पष्ट छ। यसमा  रमाना दिनु भनेर कोलेनिकालाई लेख्नु भनेको आफू हिरो हुन खोज्नु मात्र हो।’,
कोष प्रमुखले त उही माथि बस्नेहरूले यस्तो परिपत्र गरेका छन्  भनेर लेखाका सरहरूलाई अनुरोध वा जानकारी दिने मात्र भएको उनको टिप्पणी छ। ति कोष प्रमुखले अघि थपे, ‘अरू निकायलाई केही गर्न नसकेपछि आफू अन्तर्गतका निकायलाई त तर्साउन वा फूर्ति देखाउन सकियो नि त! सस्तो लोकप्रियताका लागि यस्ता नाटक अहिले निकै बढ्न‌ थालेका‌ छन्।’,

क्याटेगोरी : समाचार
ट्याग : #यदुनाथ भट्टराई, #रविन कोइराला, #विष्णुहरि बराल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ