प्रहरीले ठगी मुद्दा चलाएका साह खानेपानी सचिवको भूमिकामा देखेपछि..


काठमाडौं। खानेपानी मन्त्रालयको जिम्मेवारी राजेन्द्रसिंह भण्डारीले पाएका छन्। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)बाट अवकाश पाएका भण्डारीलाई प्रधानमन्त्री सुशीला कार्कीले हेर्दै आएको खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो। तर, उक्त मन्त्रालय चलाउन मन्त्री भण्डारीलाई नैतिक संकट परेको छ। कारण हुन खानेपानी सचिव रामआधार साह।

भण्डारी प्रहरीको एआईजी हुँदा साहलाई प्रहरीले ठगी मुद्दा चलाएको थियो। सर्वेन्द्र खनाल नेतृत्वको अपराध महाशाखाले तत्कालीन सहसचिव रामआधार साहविरुद्ध ठगी मुद्दा चलाएको हो। पेट्रोल पम्पहरूमा रिमोट जडान गरेर ठगी गर्ने धन्दामा तत्कालीन गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय निर्देशक हुँदै महानिर्देशक बनेका साह पनि संलग्न रहेको आधारमा साहलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो। पेट्रोल पम्पहरुमा ‘चिप्स’ जडान उपभोक्ता ठगेबापत पम्पहरूले साहलाई कमिसन बुझाउने गरेको प्रहरीको दाबी रहेको थियो। प्रहरीका अनुसार काठमाडौं उपत्यका अधिकांश पेट्रोल पम्पहरूले साहसँगको मिलेमतोमा प्रविधिको प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेका थिए। उक्त विषयका जानकार भण्डारीलाई प्रधानमन्त्री कार्कीले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि उनी नैतिक संकटमा परेको चर्चा छ।

प्रधानमन्त्री कार्कीसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भण्डारीले खानेपानी मन्त्रालय हेर्दा सचिव फेरिदिन आग्रह गरेको स्रोतले बतायो। नेपाल ट्रष्टको कार्यालयबाट खानेपानी मन्त्रालयको सचिवमा दोहोऱ्याएर आएको महिना दिन नपुग्दै नयाँ मन्त्रीले साहको विकल्प खोजेका हुन्। कानुनमन्त्री अनिलकुमार सिन्हाको जोडबलमा खानेपानी सचिव बनेका साहका कारण भण्डारीलाई नैतिक संकट आइपरेको हो। मन्त्री भण्डारीले सचिव साहसँग सहकार्य गर्न नसकिने स्पष्ट सन्देश दिएको स्रोतको दाबी छ।

साह राष्ट्रिय सतर्कता केन्द्रको सचिव हुँदा ‘ट्रायल सेन्टर’ अनुगमनका नाममा त्यस्तै सेटिङ गरेका थिए। भक्तपुरको राधेराधेमा रहेको ‘ट्रायल सेन्टर’ले सरकारी जग्गा (राजकुलो) अतिक्रमण गरेको भन्दै साहले सञ्चालन गर्न रोक लगाइदिएका थिए। उक्त ट्रायल सेन्टरसहित आधा दर्जन बढीमा अनुगमन गरेका साहले सेटिङ मिलेपछि कारबाहीको फायल बन्द गरेर ‘सुशासन’ कायम गरेका थिए। ‘जेन-जी’ सरकार आएपछि ट्रष्टबाट खानेपानी मन्त्रालयमा जम्प हानेका साह मन्त्री भण्डारी आएपछि उछिट्टिने खतरा बढेको हो।

विभिन्न काण्डमा मुछिएका सचिव साहलाई मन्त्री सिन्हाले ‘राम्रा कर्मचारी’ भनेपछि प्रमिला बज्राचार्यलाई ट्रष्टमा सरूवा गरेर साहलाई प्रधानमन्त्री कार्कीले हेर्दै आएको खानेपानी मन्त्रालयमा सचिव बनाएर पठाइएको थियो। साहको ‘कुण्डली’ थाहा भएका भण्डारीलाई उक्त मन्त्रालय हेर्ने जिम्मेवारी दिएपछि सिन्हाले बोकेका साहसँग सहकार्य गर्न भण्डारीले सकस मानेका हुन्। पछिल्लो समय नियुक्ति र सरूवा/बढुवामा कानुनमन्त्री सिन्हा हाबी हुँदा सरकारको आलोचना हुन थालेको छ। कृष्णहरि पुष्कर कर्णलाई मुख्यसचिव बनाउन ‘लबिइङ’ गरेका सिन्हाले रामआधारलाई खानेपानी सचिव बनाएर तुष मेटेका थिए। गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवदेखि समाज कल्याण परिषद्सम्मको सदस्यसचिवसम्म नियुक्त गर्न भूमिका खेलेका सिन्हाले ति नियुक्तिमा सरकारलाई नै विवादमा ल्याइदिएका छन्। भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सिन्हालाई समेत साह बोक्न चुनौती थपिएको छ।

श्रम मन्त्रालयमा सचिव कृष्णाहरि पुष्कर कर्णको असहयोग खेपेका मन्त्री भण्डारी खानेपानीतिर हेर्दा रामआधार देखा परेका छन्। ‘ताबाबाट उम्किएर भुंग्रोमा’ परे जस्तो भएका मन्त्री भण्डारीले दुबै मन्त्रालयमा प्रशासनिक बेथितिको सामाना गर्नुपर्ने अवस्था आएको हो। यस्तो अवस्थामा मन्त्री भण्डारीले कसरी काम गर्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ