पर्यटनमन्त्री सिन्हाले पशुपतिको सदस्यसचिवमा मनोनित गरेका ६७ वर्षीय शर्माविरूद्ध उजुरीका चाङ


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त गरेका ६७ वर्षीय प्रकाशमणि शर्मा भुसालविरूद्ध उजुरीको चाङ लाग्न थालेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि नेपाल बार काउन्सिलसम्म ६७ वर्षीय वरिष्ठ अधिवक्ता शर्माले उजुरीको सामाना गर्नु परेको हो।

पर्यटन मन्त्रालयले बनाएको नियुक्तिसम्बन्धी मापदण्डमा ६५ वर्ष ननाघेको व्यक्ति कोषको सदस्यसचिव बन्न सक्ने व्यवस्था छ। तर, कानुन मन्त्रालय समेत हेरिरहेका पर्यटनमन्त्री सिन्हाले आफूसँगै पढेका (सहपाठी) ६७ वर्षीय शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनाएपछि अख्तियारमा उजुरी परेको हो।

ज्योतिषी समेत रहेका कानुन सचिव पाराश्वर ढुंगानालाई ‘साइत हेराएर’ मन्त्री सिन्हाले शर्मालाई पशुपतिको सदस्यसचिव बनाएको किस्सा अहिले सिंहदरबारमा निकै चर्चित बनेको छ। शुक्र अस्त भएका बेला ज्योतिषी ढुंगानाले मापदण्डविपरीत ६७ वर्षीय शर्मालाई पशुपतिको कार्यकारी पद मानिने सदस्यसचिवमा नियुक्त गर्न मिल्छ भनेपछि मन्त्री सिन्हाले सदस्यसचिवमा शर्मालाई मनोनित गरेका थिए। उक्त नियुक्ति गैरकानुनी रहेको भन्दै अख्तियारमा उजुरी परेको हो।

अख्तियारमा मात्र होइन उनको पेशागत आचरणको विषयलाई लिएर नेपाल बार काउन्सिलमा समेत उजुरी परेको पाइन्छ। वरिष्ठ अधिवक्ता समेत रहेका शर्माले पशुपति क्षेत्र विकास कोषलाई प्रत्यर्थी बनाएर सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला कोषको सदस्यसचिव बनेको भन्दै उनीविरूद्ध बार काउन्सिलमा उजुरी परेको देखिन्छ। उजुरीमा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा शर्माका नियुक्त मात्र गैरकानुनी मानिएको छैन कानुन व्यवसायीको पेशागत आचरणविपरीतको कार्य भएको दाबी गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनेका शर्माविरुद्ध अख्तियार र बार काउन्सिलमा मात्र होइन अदालतमा समेत मुद्दा पर्ने छनक देखिन्छ। सार्वजनिक सरोकारको रिट दायर गर्दै आएका शर्मालाई आफैलले पनि त्यस्तै प्रकृतिका उजुरी र मुद्दा खेप्नु पर्ने अवस्था आएको छ। ६५ वर्षमा न्यायाधीशको जागिर छाडेर अवकाशमा गएका सिन्हाले ६७ वर्षीय सहपाठीलाई पशुपतिमा पठाइदिदा उजुरीको चाङ लाग्न थालेको हो। सिन्हाले शर्मालाई मनोनित गरेर ‘शान्त बसेका पशुपतिनाथ’लाई विवादमा तानेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ