निमित्तको भरमा चलेको समाज कल्याण परिषद्लाई मन्त्री श्रद्धाले सिनित्त बनाउलिन्?
राजनीतिक भर्ति केन्द्रबाट परिषद्ले कहिले मुक्ति पाउला?
काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाको नियम गर्ने महत्त्वपूर्ण निकाय समाज कल्याण परिषद् १० वर्षदेखि निमित्त विभागीय प्रमुखको भरमा चलिरहेको छ। २०७२ सालदेखि पदपूर्ति रोकिँदा परिषद् निमित्तको भरमा चलिरहेको हो। समाज कल्याण परिषद्लाई राजनीतिक भर्ति केन्द्रबाट बाहिर ल्याउन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई निकै चुनौती देखिन्छ।
यसअघिका सदस्य-सचिवहरुले पदपूर्ति ठप्प पारेर समाज कल्याण परिषद्लाई राजनीतिक भर्ति केन्द्र बनाएका थिए। परिषद्लाई राजनीतिक भर्ति केन्द्र बनाउन पदपूर्ति रोक्दा विभाग नै निमित्तको भरमा चलिरहेको देखिन्छ। लोक सेवा आयोगलाई पदपूर्ति गर्न नदिएर परिषद्लाई राजनीति भर्ति केन्द्र बनाइ सहसचिव सरह मानिने विभागहरू कामुको भरमा चलिरहेको पाइन्छ।
समाज कल्याण परिषद्को ४ वटा विभागमा ३ वटा विभाग कामुले चलाइरहेका छन्। भृकुटी मण्डपमा रहेको महाशाखालाई उपनिर्देशकलाई कामुमा भाग पुऱ्याउनका लागि ४ वटा विभाग बनाइएको हो। उक्त बेथितिका कमाण्डर मनोज भट्ट हुन्। परिषद्को कामु विभागीय प्रमुखमा भगवती संग्रौला, सञ्जय मल्लिक र दिपेन्द्र पन्त रहेका छन्। अर्का कामु विभागीय प्रमुख दुर्गा भट्टराई भने उमेर हदका कारण घर गइसकेका छन्। उपनिर्देशक पन्तलाई कामुमा भाग पुऱ्याउनका लागि भृकुटी मण्डपको महाशाखालाई पनि विभाग बनाइएकाे थियाे। भट्टराई घर गएसँगै एउटा विभागको कमाण्ड समेत खाली छ।
लेखाको २ सहित ११ जना उपनिर्देशक(उपसचिव सरह)को दरबन्दी रहेको परिषद्मा ३ जना मात्र कार्यरत छन्। उनीहरू पनि कामु निर्देशक भएर काम गरिरहेको पाइन्छ। लेखाको निर्देशक २ वटै पद रिक्त छ।
शाखा अधिकृत सरह मानिने सहायक निर्देशकको दरबन्दी २० वटा रहेको छ। उक्त पदमा स्थायी ६ जना मात्र रहेका छन्। राजनीतिक भर्ति केन्द्र बनेको परिषद्मा १३ जना त करार कै अधिकृत रहेका छन्। तिनै करारका सदस्यसचिवको सचिवालय, अधिकृतहरूले योजना, प्रशासन, अनुगमन जस्ता आकर्षक शाखाको नेतृत्व सम्हालिरहेका छन्। १/१ वटा दरबन्दी रहेको कम्प्युटर अधिकृत र कानुन अधिकृत भने स्थायी कर्मचारी नै रहेका छन्। ४ जना लेखाको सहायक निर्देशकको दरबन्दी रहेकोमा २ जना स्थायी छन्। लोक सेवा आयोगबाट पदपूर्ति हुन नदिएर लेखातिर २ जना करारमा हालिएको छ।
१/१ वटा दरबन्दी रहेको इन्जिनियर र कम्प्युटर सहायक पनि करारमै राखिएका हुन्। सहाय प्रथम (नासु)को स्वीकृत दरबन्दी १८ रहेकोमा स्थायी ९ जना र करारका ९ जना रहेका छन्। ११ वटा दरबन्दी रहेको लेखापालमा २ जना स्थायी र २ करारका रहेका छन्। प्लम्बर र टेलिफोन टेक्निसियन पद रिक्त रहेको छ। इलेक्ट्रिसियन र टेलिफोन अपरेटर र सहायक अपरेटर भने स्थायी कर्मचारी नै रहेको पाइन्छ। टाइपिष्ट नासु स्थायी कर्मचारी छन्। सुरक्षा गार्ड प्रमख नासु सरह २ पद पनि रिक्त छ। १६ दरबन्दी रहेको खरिदार सरहको सहायक द्वितीयमा ११ जना स्थायी र ५ जना करारका रहेका छन्। खरिदार सरह रहेको कम्प्युटर सहायक पद पनि रिक्त छ।
३ वटा दरबन्दी रहेको सहलेखापाल पनि पुरै रिक्त देखिन्छ। खरिदार सरहको बगैचा नाइके २ पद पनि लोक सेवा नखुल्दा पदपूर्ति हुन सकेकाे छैन। खरिदार सरहको १ जना प्लम्बर करारमा राखिएको छ। खरिदार सरहको सुरक्षा गार्डको स्वीकृत दरबन्दी २० भएपनि १ जना मात्र त्यो पनि करारमा राखिएको पाइन्छ। १९ जना सुरक्षा गार्ड पदपूर्ति हुन सकेको छैन।
कार्यालय सहयोगी २१ जनामा ५ जना स्थायी र १३ जना करारको रहेका छन्। सवारी चालक ९ दरबन्दी रहेकोमा १ स्थायी र ७ करारका रहेका छन्। कुचिकार ५ स्वीकृत दरबन्दीमा १ जना मात्र करारका छन्। ११ दरबन्दी रहेको माली ५ स्थायी र ३ करारका रहेका छन्। स्वीकृत दरबन्दी नै नभइ १ प्लम्बर सहयोगी र १ सहायक बेरूजु फछ्र्यौटकर्ता परिषद्को निर्णयबाट राखिएको छ।
समाज कल्याण परिषद्मा १७० स्वीकृत दरबन्दी रहेकोमा ४९ जना स्थायी र ५५ जना करारका रहेका छन्। १२१ जना लोक सेवा आयोगबाट पदपूर्ति गराउनु पर्नेमा पदपूर्ति ठप्प पारेर परिषद्लाई राजनीतिक कार्यकर्ता भर्ति केन्द्र बनाएको पाइन्छ।
समाज कल्याण परिषद्लाई राजनीतिक भर्ति केन्द्र मुक्त बनाउन र पदपूर्ति अघि बढाउन जेन-जी सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले तत्काल कदम चाल्नु पर्ने देखिन्छ। सुधारको सुरूवात उनले समाज कल्याण परिषद्को पदपूर्तिबाटै गर्न आवश्यक छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस