प्रदेश नै नगइकन घर जाने भए सचिव कर्ण
काठमाडौं। चाकडीमा खप्पिस चतुर प्रशासन कृष्णहरि पुष्कर कर्ण अन्ततः उपराष्ट्रपति कार्यालय पुगेका छन्। करिब १ वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरेर उनी उपराष्ट्रपति कार्यालय सरूवा भएका हुन्।
श्रम मन्त्रालयमा हुँदा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धिदेखि सामाजिक सुरक्षा कोषको पैसामा मस्ती मारिरहेका सचिव कर्णलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ। आगामी असारको चौथो साता ५ वर्ष सचिव चलाएर घर जान लागेका कर्ण सचिव हुनेबित्तिकै राजस्व सचिवमा पदस्थापन भएका थिए। सचिवमा बढुवा भएपछि प्रदेशको प्रमुख सचिव नबनेका कर्ण प्रदेश नै नगइकन घर जाने भएका छन्। राजस्व सचिव मात्र होइन दोहोऱ्याएर अर्थ सचिव बन्न सफल कर्ण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै श्रम मन्त्रालयको सचिव बनेका थिए। प्रधानमन्त्री सुशीला कार्कीलाई गुमराहमा राखेर स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरेर श्रमिकमारा निर्णय गराएपछि कर्णलाई उपराष्ट्रपति कार्यालय पठाइएको हो।
सरकारले गृह सचिव रामेश्वर दंगाल, श्रम सचिव कर्णसहित ७ सचिवको सरूवा गरेको हो। दंगाललाई लोक सेवा आयोग र कर्णलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ। गृहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ आएका छन् भने श्रममा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्ले सरूवा भएका हुन्। अपांग कोटाबाट सहसचिव हुँदै सचिव भएका काफ्ले वैदेशिक रोजगार विभागका महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्।
राष्ट्रपति कार्यालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल पुगेका छन्। फागुन अन्तिमतिर ५८ वर्ष लागेर घर जान लागेका लम्साल दुई महिनाका लागि राष्ट्रपति कार्यालय जाने भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयमा भने उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौड्याल सरूवा भएका छन्। लोक सेवा आयोगका सचिव किरणराज शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउँदा उक्त कार्यालयमा जगेडामा रहेका सचिव महादेव पन्थको व्यवस्थापन हुन सकेको छैन।
मधेशी कोटाबाट उपसचिव र सहसचिव भएका कर्ण सचिव भएपछि मधेश प्रदेश नै नटेकी अवकाशमा जाने भएका हुन्। श्रमबाट दक्षिण कोरियाको श्रम सहचारी भएर गएका कर्ण श्रमबाटै उपराष्ट्रपति कार्यालय पुगेका हुन्। सहसचिव भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर चिकित्सकलाई मानसिक स्वास्थ्यको विषयमा प्रश्न उठाउने कर्ण कलकत्तामा महावाणिज्यदूत नियुक्त गर्दाको मापदण्ड खोजेर दिल्लीको ‘इकोनोमिक मिनिस्टर’ खान सफल भएका थिए। शक्तिका पुजारी कर्ण प्रधानमन्त्री कार्कीको फेला परेपछि उपराष्ट्रपति कार्यालयमा उछिट्टिएका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस