भूमि र उद्योग मन्त्रालयमा प्रशासन महाशाखा प्रमुख फेरिए, श्रममा अझै अलमल


काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रशासन महाशाखा प्रमुख फेरिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा भने नयाँ सहसचिव तोकिएको छैन।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रशासन महाशाखा प्रमुख मदन कोइराला कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेर गएका छन्। मदनको ठाउँमा उक्त प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका हुन्। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रिजाल सरूवा भएर भूमिमा पुगेका थिए। मदनले ठाउँ खाली गर्नेबित्तिकै गोविन्दले उक्त महाशाखाको कमाण्ड सम्हालेका छन्। गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन र कानुन महाशाखा भने प्रमुखबिहीन भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायणप्रसाद अर्यालले पाएका छन्। एकनारायण अर्याल मुख्यसचिवबाट घर जानेबित्तिकै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फड्किएर उद्योग मन्त्रालय पुगेका नारायणले प्रशासन तथा संस्थान महाशाखा प्रमुखको जिम्मेवारी पाएका हुन्। उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुख हुमकला पाण्डे बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा गएपछि नारायणलाई प्रशासन महाशाखाको जिम्मा लगाइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा भने नयाँ सहसचिव तोकिएको छैन। प्रशासन तथा योजना महाशाखा प्रमुख निश्चलराज पाण्डेको गृह मन्त्रालयमा सरूवा भएपनि उनले ठाउँ छाडेका छैनन्। एकैदिन सरूवा भएका सहसचिवहरू विभिन्न जिल्लाको सिडिओमा पदस्थापन भइसकेका छन्। पाण्डे भने श्रम कै गौडा ढुकेर बसिरहेका हुन्। श्रम मन्त्रालयमा पाण्डेको ठाउँमा हेर्ने गरी सहसचिव बाबुराम भण्डारी लुम्बिनी प्रदेशबाट आएर हाजिर भइसकेका छन्। तर, पाण्डेले ठाउँ नछाड्दा भण्डारीले जिम्मेवारी नपाएका हुन्।
श्रम मन्त्रालयबाट सरूवा भएका सचिव कृष्णहरि पुष्कर कर्णका हितैषी सहसचिव पाण्डे गृह नजाने मुडमा रहेको बताइन्छ। उनकै कारण सहसचिव भण्डारी जिम्मेवारीबिहीन भएका छन्। भूमि र उद्योगले प्रशासन महाशाखा प्रमुख नयाँ पाउँदा श्रम मन्त्रालय चाहिँ अल्मलमा परेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ