कांग्रेसी सत्ताका ‘आर-थ्री’ कर्मचारी ‘जेन-जी’ सरकारमा झन् शक्तिशाली भूमिकामा


काठमाडौं। निजामती कर्मचारी वृत्तमा ‘आर-थ्री’ निकै चर्चित छन्। ‘ नेपाल निजामती कर्मचारी युनियनमा त ‘आर-थ्री’ भनेपछि संगठन नै हल्लिने गरेको छ। उक्त युनियनभन्दा शक्तिशाली ‘थ्री-आर’ कर्मचारी हुन् रामचन्द्र तिवारी, राजेश पन्थी र रविन्द्र आचार्य। कांग्रेसी कर्मचारी वृत्तमा शक्तिशाली मानिने उनीहरू युनियनभन्दा माथि रहेको चर्चा हुने गरेको छ। त्यसैले ‘आर-थ्री’ कर्मचारी कांग्रेसी मन्त्री कै वरिपरी रहने र आकर्षक कार्यालय जाने गरेको देखिन्छ। कांग्रेसी सत्तामा शक्तिशाली मानिने ‘थ्रि-आर’ कर्मचारीको ‘जेन-जी’ सरकारमा झनै शक्तिशाली भूमिकामा छन्।

‘आर-थ्री’मध्येमा पनि रामचन्द्र तिवारी शक्तिशाली मानिन्छन्। हाल अध्यागमन विभागको महानिर्देशक रहेका पर्वतका तिवारी २०५५ सालमा गाविस सचिव भएर सरकारी सेवामा छिरेका थिए। २०६१ सालमा शाखा अधिकृत भएपछि तनहुँको व्यास नगरपालिकालगायत विभिन्न स्थानीय तहमा बसेका थिए। रामचन्द्र स्थानीयका रैथाने र शक्तिशाली कर्मचारीमा परिचित छन्।

उपसचिव भएपछि रामचन्द्रले काठमाडौं र कास्की जस्ता आकर्षक जिल्लाको (एलडिओ) भएर चलाए। तिवारी तत्कालीन स्थानीय विकास मन्त्रीहरू विद्याधर मल्लिक र प्रकाशमान सिंहको निजी सचिव भएर पनि मन्त्रालयमा हालिमुहाली गर्ने कर्मचारीमा पर्छन्। उनी मल्लिक र सिंह मन्त्री हुँदा निकै शक्तिशाली भए। उपसचिवमा केही समय विज्ञान तथा प्रविधि मन्त्रालय, अख्तियार, दुरुपयोग अनुसन्धान आयोग बसेका तिवारी प्रायजसो स्थानीय विकास मन्त्रालयमा जमेर बसे। स्थानीयबाट गृह छिरेपछि मुस्ताङको सिडिओ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, अध्यागमन विभाग, कारागार व्यवस्था विभाग जस्तो निकायमा बसेर काम गरे।

सहसचिव भएपछि सीधै उद्योग विभागको महानिर्देशक भएका तिवारी सुनसरीको सिडिओ, गृह मन्त्रालयको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख हुँदै अध्यागमन विभागको महानिर्देशकमा पुगेका छन्। उपसचिव हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र विभाग बसेर ‘माखो’ नमारेका तिवारी अध्यागमनको ‘इस्यू’मा अख्तियार छिरेपछि रातारात तरक्की गरेजस्तो प्रचारमा अग्रसर देखिन्छन्। काठमाडौंको एलडिओ हुँदा त्रिपाल काण्डमा डामिएका तीर्थराज भट्टराई प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा जलायो। उक्त प्रकरणमा काठमाडौं कै एलडिओ भइसकेका तिवारीमाथि पनि अख्तियारले विस्तृत छानबिन थालेको छ। मणिपाल शिक्षण अस्पताल बिक्री प्रकरणमा समेत जोडिएका कांग्रेसी सत्ताका ‘आर-थ्री’मध्येका तिवारी ‘जेन-जी’ सरकारमा शक्तिशाली र संवेदनशील विभागको कमाण्ड सम्हालेर गुड्डी हाँकिरहेका छन्। अख्तियारको छानबिनमा रहेका तिवारीलाई संवेदनशील विभागको नेतृत्वमा राखेर ‘जेन-जी’ सरकारले सुशासनको हुर्मत लिएको चर्चा चल्न थालेको हो। तिवारीको हालत पनि भट्टराईको जस्तै बन्ने सम्भावना रहेको टिप्पणी हुन थालेको छ।

पाल्पाका राजेश पन्थी पनि कांग्रेसी सत्तामा ‘थ्री-आर’ कर्मचारीमा पर्छन्। हाल उपसचिवका लागि नम्बर मानिएको रसुवाको सिडिओ बनेका पन्थी गृहमन्त्री हुँदा बिमलेन्द्र निधि र सहरी विकास मन्त्री हुँदा प्रकाशमान सिंहको निजी सचिव भएर काम गरिसकेका कर्मचारी हुन्।

२०५५ सालमा एकै वर्ष मुखिया, खरिदार र नायब सुब्बा बनेका ‘ट्यालेन्ट’ पन्थी मुखिया हुँदा जिल्ला सहकारी कार्यालय, पाल्पा, खरिदारमा जिल्ला प्रशासन कार्यालय, पाल्पा र नायब सुब्बामा जिल्ला विकास समितिको कार्यालय, पाल्पामा बसेर काम गरे। एकै वर्ष जागिरमा ‘ह्याट्रिक’ हानेर नासु बनेका पन्थी जिविसपछि स्वास्थ्यमा छिरे। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, पाल्पा र स्वास्थ्य मन्त्रालयमा पुगेका पन्थी २०६३ मा शाखा अधिकृत बनेका थिए।

शाखा अधिकृत भएपछि जिल्ला प्रशासन कार्यालय भोजपुर, स्थानीय विकास मन्त्रालय, पनौती नगरपालिका, श्रम तथा यातायात मन्त्रालय, साना ठूला सवारी, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिविस काठमाडौं, जिविस पाल्पा, सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय जस्ता शक्तिशाली निकायमा बसेर काम गरे।

२०७३ सालमा उपसचिवमा बढुवा भएपछि पन्थी पर्वतको पर्वत सिडिओ, कास्की सहायक सिडिओ, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको सहायक सिडिओ भए। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतिर छिरेका पन्थी सर्लाही हरिपूर्वा नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बनेर गए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै राजस्व अनुसन्धान कार्यालय बुटवल पुगेका पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको निजी सचिव बन्न पुगे। त्यसपछि गृह मन्त्रालयमै फिर्ता भएका पन्थी गृह मन्त्रालयमा केही समय बसेर रसुवाको सिडिओ बनेर गए। कांग्रेसी सत्ताका ‘आर-थ्री’भित्र पर्ने पन्थी ‘जेन-जी’ सरकारमा रसुवाको सिडिओमा रमेर बसेका छन्।

कांग्रेसी सत्तामा ‘आर-थ्री’मा पर्ने स्याङ्जाली रविन्द्र आचार्य अहिले म्याग्दीको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्। २०५५ सालमा अदालतको डिठ्ठाबाट सरकारी सेवामा प्रवेश गरेका आचार्य २०६३ सालमा प्रशासन सेवाको शाखा अधिकृत भएपछि मालपोत मनाङको मालपोत पुगे।  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा बसेका आचार्य टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री बनेपछि निजी सचिव बसेका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा समेत उनी बसे।

२०७४ मा उपसचिव भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरमा पुगे। त्यसपछि उद्योग मन्त्रालय छिरेका उनी त्यहाँका रैथाने कर्मचारी बने। उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, वाणिज्य विभाग बसेर उनी अख्तियार पुगे। गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बने। टेकबहादुरसँगको सम्बन्धका कारण मनाङको सिडिओ बनेका आचार्य काठमाडौं र मोरङको सहायक सिडिओ भए। ताप्लेजुङको सिडिओ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृहको शान्ति सुरक्षा हेर्ने शाखा हुँदै म्याग्दीको सिडिओ बनेर गएका छन्।

कांग्रेसी सत्ताका ‘आर-थ्री’ रामचन्द्र, राजेश र रविन्द्र ‘जेन-जी’ सरकारमा पनि उत्तिकै शक्तिशाली देखिन्छन्। उनीहरूको शक्तिमा कुनै गिरावट आएको देखिँदैन।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसी सत्ताका 'थ्री-आर' कर्मचारी, #रविन्द्र आचार्य, #राजेश पन्थी, #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ