डुबानको डर, चिसोको पीडा : सिंहदरबारभित्र स्वास्थ्य मन्त्रालय
काठमाडौं । यो राज्यको शक्ति केन्द्र हो—सिंहदरबार। यहीँ बसेर जनताको जीवन र स्वास्थ्यसम्बन्धी नीति बनाइन्छ, महामारी र विपद्को बेला देशभरका अस्पताल र स्वास्थ्य प्रणाली चलाइन्छ। तर यही सिंहदरबारभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज खुला चौरमा, आकाशमुनि टाँगिएको पालभित्र अस्थायी र असुरक्षित अवस्थामा सीमित छ। यो दृश्य केवल प्रशासनिक कमजोरी होइन, राज्यको संवेदनशीलता कति खोक्रो छ भन्ने खुला प्रमाण हो।
पानी पर्नासाथ मन्त्रालय डुबानको डरमा पर्छ। सामान्य वर्षामै पालभित्र पानी पस्छ, फाइल भिज्छन्, कर्मचारीको सुरक्षा प्रश्नमा पर्छ। बाहिर खोला किनार र सुकुम्बासी बस्तीमा डुबान हुँदा उद्धारका निर्देशन दिने यही मन्त्रालय आफैँ सिंहदरबारभित्र उद्धारको प्रतीक्षामा बस्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बना होइन भने के हो?

जाडो महिनामा यहाँ काम गर्ने कर्मचारीहरू ओठ कुटुटु पार्दै राज्यको काम सम्हालिरहेका छन्। न चिसो रोक्ने संरचना छ, न न्यूनतम कार्य वातावरण। चिसो जमिनमाथि बसेर नीति बनाउने, निर्णय गर्ने र कागज थमाउने अवस्थालाई सामान्य ठानिनु आफैँमा अमानवीय हो।
जनजी आन्दोलनपछि खरानी भएको मन्त्रालयलाई सिंहदरबारभित्र सारिएको भनियो। तर व्यवहारमा त्यो स्थानान्तरण होइन, खुला चौरमा गरिएको विस्थापन मात्र हो। पाल टाँगेर मन्त्रालय चलाउनु कुनै अस्थायी समाधान पनि होइन, यो त राज्यले आफ्नै प्राथमिकता स्वीकार गर्न नसकेको स्वीकारोक्ति हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री अस्पताल अनुगमनमा व्यस्त देखिन्छिन्, फोटो खिचिन्छन्, निर्देशन दिइन्छन्। तर आफ्नै मन्त्रालयको अवस्था हेर्दा राज्यको व्यवहार ठीक त्यही उखानजस्तै भएको छ— “आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने।”
बाहिरका अस्पतालको चिसो, अव्यवस्था र कमजोरी सजिलै देखिन्छ, तर सिंहदरबारभित्रै पालमुनि बसेको स्वास्थ्य मन्त्रालयको डुबान र चिसो देखिँदैन।
सिंहदरबारजस्तो राज्यको शक्ति केन्द्रभित्रै डुबानको डर र चिसोको पीडाबीच स्वास्थ्य मन्त्रालय चल्नु भनेको जनस्वास्थ्यप्रति राज्यको प्रतिबद्धता भाषणमा मात्र सीमित भएको संकेत हो। यदि स्वास्थ्य मन्त्रालयलाई नै सुरक्षित, स्थायी र मर्यादित कार्य वातावरण दिन सकिँदैन भने, देशभरका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा अपेक्षा गर्नु आफैँमा ढोंग हुनेछ।
राज्यका लागि प्राथमिकता फोटो र अनुगमन हो कि नीति बनाउने आफ्नै मन्त्रालयको सम्मानजनक अस्तित्व? यदि अहिले पनि सिंहदरबारभित्र पालमुनि बसेको स्वास्थ्य मन्त्रालय देखिँदैन भने, त्यो देख्न नचाहने अन्धोपन मात्र हुनेछ, सुधार होइन।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस