विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा डोजर चलेपछि पुरातत्त्वको टोली पुग्यो फिल्डमा
काठमाडौं। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा जथाभावी डोजर चलेपछि पुरातत्त्वको टोली फिल्डमा पुगेको छ। पुरातत्त्व विभागको पुरातत्त्व अधिकृत मञ्जरी प्रधानको नेतृत्वमा गएको इन्जिनियर र अभियान्ताहरूको टोलीले स्थलगत अनुगमन गरेर त्यहाँ प्राचिन स्मारक संरक्षण ऐनविपरीत भएको कार्यको विवरण संकलन गरेको हो।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रकाशमणि भुसालले समेत उक्त क्षेत्रमा डोजर चलेको विषयमा चासो देखाएका छन्। उनकै समन्वयमा पुरातत्त्वको टोली फिल्डमा पुगेको बुझिन्छ। उक्त क्षेत्रमा सम्पदा मास्ने गरी चलाइएको डोजरको विषयमा विभागको टोलीले अनुगमन तथा अवलोकन गरेको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले पशुपति क्षेत्रमा डोजर चलाएर बाटो खेलेको देखिन्छ। विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र विकास कोषको भण्डारखाल एरियामा वडाले डोजर लगाएको बुझ्नमा आएको छ। उक्त विषयमा विभागले स्थलगत अनुगमन गरेको हो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी निमित्त सदस्यसचिवको जिम्मेवारी लिदा सम्पदा मास्ने गरी काम भएको पाइन्छ। युनेस्को र सर्वोच्चको आदेशविपरीत तिलगंगा- गुहेश्वरी सडक खुलाउनेदेखि भण्डारखालमा डोजर लगाउने विषयमा समेत जोशीको शंकास्पद भूमिका देखिन्छ। वडाध्यक्ष मिलाउने नाममा भण्डारखालको पार्किङ सुम्पिएका जोशीले प्राचिन स्मारक ऐनलाई समेत चुनौती दिएर पशुपति क्षेत्रमा काम गर्न दिएको आरोप लाग्न थालेको छ। उक्त विषयमा गम्भीरतापूर्वक छानबिन हुन जरूरी छ।
पुरातत्त्व र सांस्कृतिक महत्त्वको क्षेत्रमा सेकुवा कर्नरको प्रचार गरेर सेकुवा खान जाने बाटो बनाइएको छ। उक्त सेकुवा कर्नरको बोर्ड पशुपति क्षेत्र विकास कोषका सुरक्षा प्रमुख भीम बुढाथोकीको सेटिङमा राखिएको आरोप लाग्दै आएको छ। उनले सेकुवा कर्नरको बोर्ड देखेर पनि संरक्षण गरिरहेका कोष कै कर्मचारीहरू बताउँछन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस