निमित्त सदस्यसचिव जोशीले पशुपति क्षेत्रको अस्तित्वमाथि नै गरे खेलबाड
समाचार टिप्पणी
काठमाडौं। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको अस्तित्वमाथि नै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले खेलबाड गरेको पाइएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशीले निमित्त सदस्यसचिवको जिम्मेवारी सम्हाल्दा पशुपति क्षेत्रलाई खतराको सूचीमा पार्ने गरी गतिविधि गरेको पाइएको हो।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलनकुमार थापालाई विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्ररष्टाचार मुद्दा दायर भएपछि कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको थियो। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जोशीलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिएका थिए। उनै जोशी पशुपतिको निमित्त नायक भएर चलाउँदा पशुपतिको अस्तित्व सिनित्त पार्ने गतिविधिमा संलग्न रहेको देखिन्छ।

जोशी कोषको निमित्त सदस्यसचिव भएका बेला सर्वोच्च अदालत र युनेस्कोले बन्द गराएको तिलगंगा-गुहेश्वरी सडक सञ्चालनमा आएको खुलेको छ। २०७३ पुसमा सर्वोच्चका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त सडक बन्द गर्न आदेश निर्देशनात्मक दिएको थियो। २०७६ सालदेखि बन्द रहेको उक्त सडक जोशी निमित्त भएको बेला सञ्चालनमा आएको पाइएको हो।
२०६४ सालमा सडक पशुपति क्षेत्रको मुख्य वन क्षेत्र मृगस्थली र ध्रुवस्थलीको बीचबाट सडक खोलिएपछि युनेस्कोको मिसनले अनुगमन गर्दै सडक बन्द गर्न निर्देशन दिएको थियो। उक्त सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो। त्यसपछि २०७१ सालमा सर्वोच्च अदालतमा अधिवक्ता तुलसी सिम्खडाले उक्त विषयलाई लिएर सार्वजनिक सरोकारको रिट दायर गरे। त्यसको दुई वर्षपछि हालका पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा सम्मिलित इजलासले उक्त सडक बन्द गर्न निर्देशनात्मक आदेश दिएको थियो। त्यसको दुई वर्षपछि २०७६ सालमा उक्त सडक बन्द भयो। कार्यकारी निर्देशक जोशी निमित्त सदस्यसचिव भएको बेला उक्त सडक सञ्चालनमा आएको हो। जोशीको बदमासीका कारण विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र युनेस्कोको खतराको सूचीमा पर्ने सम्भावना बढेर गएको छ।
पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्यसचिव प्रकाशमणि शर्मा भुसालले आफू आउनुभन्दा अगाडि नै उक्त सडक सञ्चालनमा आएको दाबी गरे। पुरातत्त्व विभागको टोलीले पनि जोशीको पालामा खुलाइएको उक्त सडकको स्थलगत अनुगमन गरिसकेको छ। उक्त विषयमा कोषका सदस्यसचिव भुसालले पनि चासो देखाएका छन्। पशुपति क्षेत्रलाई नै खतरामा पार्ने गरी गतिविधि गरिएको उक्त प्रकरणमा संलग्न जोशी उम्कन्छन् कि कारबाहीको दायरामा आउँछन् हेर्न बाँकी छ।
जोशीले निमित्त कमाण्ड सम्हालेका बेला भण्डारखाल क्षेत्रमा पनि डोजर लगाएर बाटो बनाउन सहजिकरण गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले भण्डारखाल क्षेत्रमा डोजर लगाएर सेकुवा कर्नर जाने बाटो खुलाएको छ। पुरातात्त्विक सम्पदामा डोजर लागेपछि फिल्डमा पुरातत्त्वको टोली नै पुगेर निरीक्षण गरिसकेको छ। यो विषयमा पनि छानबिन भइरहेको छ।
आफूलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिने तत्कालीन पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको परिवारलाई खुसी पार्न जोशीले आफू चढ्ने गाडी दिएको आरोप लाग्दै आएको छ। उक्त गाडी मन्त्री निवासमै जलेर नष्ट भएकाले उक्त विषयमा समेत छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ।
जोशीले भण्डारखालको पार्किङ समेत सेटिङमा कमिसनको चक्करमा सञ्चालनका लागि दिएको विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। आफू सदस्यसचिव बन्नका लागि जोशीले उक्त पार्किङ गरी खानका लागि दिएको चर्चा सुनिन्छ। उक्त विषयमा छानबिन गर्न नयाँ नेतृत्वले ढिलाई गर्नु हुँदैन।
पशुपतिको मुख्य ठेकदार धर्मलाल तामाङलाई मोटो रकम भुक्तानी गरेपछि जोशीले महालेखा नियन्त्रक कार्यालयबाट खटाइएका लेप खा अधिकृत रविन्द्रबहादुर धामीलाई काज फिर्ता गरेको प्रकरणले पनि उनको बदमासी छताछुल्ल भएको छ। आवश्यक भुक्तानी गरेर सदस्यसचिव बन्नका लागि आर्थिक जोहो गरेर दौडधुपमा लागेका जोशीले धामीलाई काज फिर्ता गर्न महालेखा नियन्त्रक कार्यालय पत्राचार गरेका थिए। उक्त विषयमा जोशीसँग महालेखाले स्पष्टीकरण समेत सोधेको छ। जोशी पशुपतिको निमित्त सदस्यसचिव हुँदा कोषमा असुरक्षा र अव्यवस्था बढेको पाइन्छ। उनकै पालामा कोष जल्यो। हुँदाहुँदा पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने खेलमा उनी रहेको गतिविधिले देखाउँछ। पशुपति क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीको शव गाड्ने विषय समेत अहिले बहसमा आएको छ। आफू बन्नलाई पशुपति नै जिम्मा लगाउन जोशी तयार रहेको यी घटनाले देखाउँछ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र माओवादी कै हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा जोशी कार्यकारी निर्देशक भएका थिए। दाहाल सरकार ढल्दै गर्दा ‘बाँकटे’ हानेर उनी पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनेका हुन्। ऐनले समेत नचिन्ने कार्यकारी निर्देशक राखेर कोषमा बेथिति निम्ताइएको छ। उनको कार्यकारी निर्देशक हुन आवश्यक योग्यतामाथि समेत प्रश्न उठ्दै आएको छ। पशुपति क्षेत्रको अस्तित्वमाथि नै खेलबाड जोशीमाथि तत्काल छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ।
ट्याग : #सुभाषचन्द्र जोशी



तपाईको प्रतिक्रिया दिनुहोस