‘जल्दाजल्दै बचेको पशुपतिको बेथितिको प्रमाण’
समाचार टिप्पणी
काठमाडौं। ‘जेन-जी’ आन्दोलनका क्रममा विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र हेर्ने विकास कोषको भवन पनि जल्यो, जलाइयो। पशुपति क्षेत्र विकास कोषको कागजात राखिएको भवनमा आगजानी हुँदा शिवस्वको हिसाब किताब रहेका कयौं फाइलहरू जले। बेथिति र अनियमिततासँग जोडिएका प्रमाणहरू खरानी भए। तर, कोषमा हुने केही बेथितिका प्रमाण भने जल्दाजल्दै बचेका छन्। त्यस्तै एउटा बेथिति र अनियमितताको प्रमाण जल्दाजल्दै बचेको पाइएको छ।
पशुपति क्षेत्र विकास कोषले कन्टिजेन्सी सेवामा राखेका अधिककृत द्वितीयस्तर (उपसचिव) सरहका दिपकराज पंगेनीले गरेका अनियमित गतिविधिका विषयको फाइल जल्दाजल्दै बचेको हो। दिपक भन्ने इन्जिनियरले दिउँसो अफिसको काम गर्ने बिहान बेलुका ठेकेदारको का गर्ने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको पाइन्छ। कोषमा जागिर खाएर ठेकेदारको ‘गुलामी’ गर्ने कर्मचारी अझै रहेका छन्। जल्दाजल्दै बचेको कागजातमा त यस्तो भेटिन्छ भने कोषमा भएका कति अनियमिता र बेथितिका फाइल जले होलान् भन्ने अनुमान लगाउन समेत मुस्किल छ।
कतिसम्म भने एउटै व्यक्तिले १५/२० वटा फर्म बोकेर कोषमा करोडौंको आपूर्तिका ठेक्का हत्याएका छन्। कोटेसन मार्फत काम गर्ने र एउटै व्यक्तिले विभिन्न फर्मको कागजात पेस गरेर पशुपतिको ठेक्कामा सिण्डिकेट खडा गर्दै आएका छन्।
झोलामा २० औं फर्मका ‘स्टाम्प’ र ‘लेटर प्याड’ बोकेर एउटै व्यक्तिले कुनै सामानमा त बजार मूल्यभन्दा तेब्बर बढी मूल्यमा कोष लाई लुटिरहेका छन्। जालझेल गरेर ‘शिवस्व खाने’को पशुपति क्षेत्र विकास कोषमा हालिमुहाली देखिन्छ। कोषबाट ठेकेदारलाई करोडौं भुक्तानी गरेबापतको कमिसन लिएर माथिल्लो पदमा ‘जम्प’ गर्न दौडधुपमा लागेकाहरू पनि कोषभित्रै जमिरहेका छन्।
दिनदहाडै कोषलाई लुटेर शिवस्व खानहरूको कब्जाबाट कोषलाई मुक्त गराउन नवनियुक्त सदस्यसचिव डा. प्रकाशमणि शर्मा भुसाल र कोषाध्यक्ष श्रीधर सापकोटामाथि ठूलो चुनौती देखिन्छ। विश्वस्व मानिने कोषको पैसामा मनपरी गरिरहेकामाथि एक्सन लिन उनीहरूले सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ।







तपाईको प्रतिक्रिया दिनुहोस